वीर अस्पतालको प्याथोलोजी विभागबाट देशको रक्त सञ्चार सेवा सुरु भएको इतिहास हामीमाझ छ । आज १२ साउनका दिन हामी ५६औँ राष्ट्रिय रक्त सञ्चार सेवा दिवस मनाउँदै छौँ ।हुन त २००० सालदेखि सुरु भएको रक्त सञ्चार सेवाले ७८औँ वसन्त पार गरिसकेको छ र हामी आज ७८औँ वार्षिकोत्सव मनाउँदै ७९औँ वर्षमा पदार्पण गरिरहेका छौँ । तर, विडम्बना, यहाँ चर्चा पाइरहेको छ ५६औँ राष्ट्रिय रक्त सञ्चार दिवसले मात्र । नेपालमा रेडक्रस सोसाइटी स्थापना भएको तीन वर्षपछि नै यसैको मातहतमा ‘लक्ष्मी ब्लड बैंक’का नामबाट रक्त सञ्चार सेवा थालनी गरियो ।
वि.सं. २००० देखि ०२३ साउन ११ सम्म के–कति रगत संकलन भयो या गरियो, यसको कुनै अभिलेख हालसम्म सार्वजनिक हुन सकेको छैन । सोही सालदेखि नै सरकारीस्तरबाट सञ्चालित वीर अस्पतालको प्याथोलोजी विभागमा सञ्चालित रक्त सञ्चार सेवालाई नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालनमा आएको रक्त सञ्चार सेवासँग समाहित गरी एकद्वार प्रणालीको सिद्धान्तअनुसार सेवा दिन थालियो । अहिले नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित ‘लक्ष्मी ब्लड बैंक’को सुरुको वर्षमा १५७ जनाबाट रक्तदान गराएको इतिहासदेखि वर्तमानसम्म आइपुग्दा झन्डै तीन लाखभन्दा माथिको संख्यामा रक्तदान गराई सेवा प्रदान गरिएको तथ्यांक छ । यसरी सुरुका वर्षमा स्वयंसेवी रक्तदाता, पेसेवर र बिरामीका आफन्तबाट रगत लिने र बिरामीलाई चढाउने गरिन्थ्यो ।
यस्तो शैली ०३८/३९ सम्म कायम रह्यो । आव ०३८/३९ देखि नै पेसेवर रगत दिने व्यक्तिलाई पूर्ण रूपमा विस्थापित गरी शतप्रतिशत स्वयंसेवी रक्तदाताबाट मात्रै रक्तदान गराएर बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको छ । सुरुका समयमा एकजना रक्तदाता उपलब्ध गराउनसमेत हम्मेहम्मे पथ्र्यो । स्वयंसेवी रक्तदाता पाउन त झनै परको कुरा थियो । तत्कालीन समयमा परोपकार संस्थाका स्वयंसेवकबाट मुस्किलले रक्तदान गराइन्थ्यो भने लक्ष्मी ब्लड बैंकवरिपरि आर्थिक विपन्नताका कारण मजदुरहरूले रगत आवश्यक पर्ने बिरामीका आफन्तमार्फत आफ्नो रगत बिक्री गर्ने गर्थे । यसरी पेसेवरबाट प्राप्त गरिएको रगतको बिगबिगी नै थियो त्यतिखेर । जे–जस्तो भए पनि तत्कालीन अवस्थामा विपन्न मजदुरको यो कदमलाई वास्तवमै साहसिक पाइलाका रूपमा लिन सकिन्छ ।
राष्ट्रिय रक्त सञ्चार नीतिले निजी क्षेत्रलाई समेत रक्त सञ्चार सेवामा सहभागी गराउन थालेपछि रक्त व्यापार मनग्य फस्टाएको छ । यस्तो अमानवीय नीतिले स्वयंसेवी रक्तदातामा नैराश्य छाउन थालेको छ ।
यस्तो अवस्थाबाट हाम्रो देशमा रक्त सञ्चार सेवा सुरु हुँदै आजको अवस्थासम्म आइपुगेको देखिन्छ ।वि.सं. ०४८ देखि देशभित्र रक्त सञ्चार सेवासम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालनमा ल्याउन तत्कालीन मन्त्रिपरिषद्ले निर्णय गरेर नेपाल रेडक्रस सोसाइटीलाई अधिकार प्रदान गरिएको थियो । अहिले देशका ७२ जिल्लाका ११७ स्थानबाट यो सेवा–सुविधा उपलब्ध छ । हिजोसम्म नेपाल रेडक्रस सोसाइटीको काँधमा रहेको थियो, रक्त सञ्चार सेवाको जिम्मेवारी । तर, ०७१ मा तर्जुमा गरिएको राष्ट्रिय रक्त सञ्चार नीतिले निजी क्षेत्रलाई समेत रक्त सञ्चार सेवामा सहभागी गराउन थालेको छ । जसका कारण रक्त व्यापार मनग्य फस्टाएको छ । यो अमानवीय र अशोभनीय नीतिले स्वयंसेवी रक्तदातामा नैराश्य छाउन थालेको छ । यसरी रगत र रक्ततत्वको मूल्य तोकेर नाफाको व्यापार गरिन्छ भने अब स्वयंसेवी रक्तदाताले केका लागि रक्तदान गर्ने ? यो प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ । स्वयंसेवी रक्तदाताको मानसपटलमा यस्तो प्रश्नले जरा गाड्नु के राम्रो काम हो ? हामी शतप्रतिशत स्वयंसेवी रक्तदाताबाट मात्रै रक्तदान गर्नु र गराउनुपर्छ भन्नेहरूले के अब पेशेवर रगत दिने व्यक्तिले प्रश्रय नपाउलान् भनेर ढुक्क हुने अवस्था छ त ?
सरकारी उदासीनताले हरेक क्षेत्रमा जस्तै रक्त व्यवस्थापनमा पनि नकारात्मक प्रभाव पर्न सुरु भएको देखिन थालेको छ । जुन हामी स्वयंसेवी रक्तदाता र पीडित पक्ष (बिरामी) ले सहजै अनुमान गर्न थालेका छौँ । यसको निराकरणको उपाय के ? सरकार स्वयंले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।एउटा नेपाल रेडक्रस सोसाइटीले गरेको मनोगत कार्यलाई नियमन र दण्डित नगरी अर्काे दशवटा निकायलाई अनुमति–पत्र दिई थप व्यापार गर्ने छुट दिएर कमिसन तन्त्रलाई प्रोत्साहित गर्न खोजेको छ । हालै मात्र नेपाल सरकारको सचिवस्तरीय निर्णय भनेर स्वयंसेवी रक्तदाताले दानमा प्रदान गरेको रगत र त्यसबाट तयार पारिएको रक्ततत्वहरूको खुलेआम शुल्क निर्धारण गरेर कमिसनका आधारमा सबैलाई व्यापार गर्न दिइएको छ । किन र कसरी निःशुल्क शब्दकै उपहास हुने गरी यस्तो निर्णय गरियो भनेर जानकारी लिने र खबरदारी गर्ने क्रममा जिम्मेवार व्यक्तिहरूले ‘मलाई त थाहै छैन । यो मैले गरेकै होइन ।’ जस्ता तयारी जवाफ दिने र साक्षात्कार गर्नबाट पन्छिने गरेका छन् । यसरी कुनै तथ्यगत आधारविनै निर्णय गरेर वर्षाैंदेखि त्याग तपस्या गरी उत्प्रेरित बनाई रक्तदानमा आबद्ध हुनुहुने स्वयंसेवी रक्तदातालाई बिच्क्याउने काम हुन थालेको छ । यसबाट भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनाको जिम्मेवारी कसले लिने ?
यहाँनेर सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूणा झाको अभिव्यक्ति उल्लेख गर्न सान्दर्भिक ठानेँ– १४औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आयोजित विशेष कार्यक्रमको प्रमुख अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियोे– ‘आगामी १५औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवससम्ममा तपाईंहरूले उठाउँदै आएको निःशुल्क रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू उपलब्ध हुनुपर्ने मागलाई केही हदसम्म भए पनि सम्बोधन हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।’ तर, उहाँको बोली र काम गराइमा कति एकरूपता देखियो, त्यसको मूल्यांकन सबैले गरिरहेकै अवस्था छ । गत ०७९ जेठ १९ गते डा. झाद्वारा हस्ताक्षरित एक परिपत्रअनुसार अब उप्रान्त जहाँ–जहाँबाट रगत र रक्ततत्ववहरूको बिक्री–वितरण हुन्छ, त्यहाँ–त्यहाँबाट एक युनिट रगत र रक्ततत्वको न्यूनतम मूल्य ८४० देखि १६१० रुपैयाँसम्म निर्धारण गरी सशुल्क बेच्न निर्देशन दिइएको छ ।
तसर्थ, आम स्वयंसेवी रक्तदाताले आ–आफ्नो क्षेत्रबाट संगठित भई सही र सरल रक्त व्यवस्थापन गर्न–गराउन आवाज बुलन्द गर्न विलम्ब गर्न नहुने परिस्थिति सिर्जना भएको छ । स्वयंसेवी रक्तदाताको मर्म, अवस्था र पीडित (बिरामी) को पीडालाई सम्बोधन गर्दै यथोचित व्यवस्थापन गर्न सकेमा रगत लिनेको भन्दा दिनेको घुइँचो बढ्नेमा दुई मत छैन । त्यसैले, आजको दिनले ‘रक्त व्यवस्थापनमा सबैको सहभागिता’ जनाउन–गराउन आवश्यक रहेको बोध गराओस् । तब मात्र यस दिनले सार्थकता पाउनेछ ।