बुधबार नेप्से परिसूचक २३.८३ अंकले बढेर दुई हजार एक सय ११ दशमलव ९९ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ ४ दशमलव ५३ अंकले बढेर चार सय दुई दशमलव ९२ बिन्दुमा पुगेको छ । बुधबार नेप्सेले उतारचढाबबीच पुनः दुई हजार एक सय अंक टेवा परीक्षण गरेको हो ।
सुरुवातमा बजारमा उतारचढाव आइरहे पनि अन्तिम समयमा दुई हजार एक सयको परीक्षण गर्दै बजार बन्द भएको छ ।
लगानीकर्ता सुरुवातदेखि नै ‘प्रोफिट बुकिङ’मा हाबी भइरहँदा बजारमा उतारचढाव आइरहेको हो । लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘थोरै नाफा आर्जन हुँदा प्रोफिट बुक गर्ने नीति लिइरहँदा बजारमा उतारचढाव आएको हो ।’ अघिल्लो दिन मंगलबार दुई हजारको बिन्दुमा खसे पनि अन्तिम समयमा बजार उकालो लागेको छ । बजारले एक तह उक्लिएर दुई हजार एक सयको परीक्षण गर्दा लगानीकर्ताले नाफा बुक पनि बढाइरहेका छन् ।
थाेरै बजार बढ्दा पनि घट्ने डरले नाफा बुक गर्ने परिपाटीको विकास हुँदै आएको छ । त्यसको प्रभावले बजारमा उतारचढाव आउने गरेको ब्रोकर बताउँछन् । आज एक सय ५६ वटा कम्पनीको सेयर मूल्य बढेका छन् भने १८ वटा कम्पनीसहित अन्य केही ऋणपत्रको सेयर मूल्य घटेको छ ।
आज दुई सय २७ कम्पनीको ७५ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब १६ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १७ लाख ९४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । कम्पनीको सेयरमा लगातार अघिल्लो हप्तादेखि सबैभन्दा धेरै कारोबार हुँदै आएको छ । त्यस्तै, अरुण काबेली पावर, गोर्खाज फाइनान्स, नेस्डो समृद्ध लघुवित्त र युनिभर्सल पावर लघुवित्त वित्तीय संस्थाको आठ करोड रुपैयाँदेखि १२ करोड ३५ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छन् ।
चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
बुधबार चारवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । त्यस्तै, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको नाै प्रतिशतले बढेको छ ।
बढेको बजारमा कुमारी धनवृद्धि योजना, सानिमा बैंकको ऋणपत्र र नबिल ब्यालेन्स फन्डको सेयर मूल्य तीनदेखि १० प्रतिशतसम्मले घटेको छ ।