कर्मचारी आन्दोलनलाई राजनीतिक रंग नदिन एमालेको आग्रह

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

नेकपा एमाले जिल्ला कार्यसमितिले करारका कर्मचारीहरूको म्याद नथप्ने विषयलाई राजनीतिक रंग नदिन आग्रह गरेको छ । यसअघि एमालेको नेतृत्व रहेको सिराहाको गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, कर्जन्हा नगरपालिका, भगवानपुर गाउँपालिका र नरहा गाउँपालिकामा करार कर्मचारीको म्याद नथप्ने निर्णय भएको थियो । 

जसकारण, हटाइएका कर्मचारी अहिले निरन्तर आन्दोलनमा छन् । आन्दोलनको अगुवाइ गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले कर्मचारीको पुनर्बहाली नगरिए जनप्रतिनिधिलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने चेतावनी दिएका छन् । 

तर, माओवादी केन्द्रका नेताले दिएको धम्की आफूलाई अमान्य हुने एमालेले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले माओवादी केन्द्रका नेताले गरेको हस्तक्षेप स्वीकार्य नहुने बताए ।

पूर्वमेयर साहका चारजना आफन्त नियुक्त
गोलबजार नगरपालिकामा अहिले एमालेका श्याम श्रेष्ठ मेयर छन् । यसअघिको कार्यकालमा माओवादी केन्द्रका देवनाथ साह मेयर थिए । पूर्वमेयर साहले आफ्नो कार्यकालमा भाइ रामनारायण साह (सहायक कम्प्युटर अपरेटर), भाइ सरोज साह, नाति मनीषकुमार साह (ओभरसियर) र भदाहा विजयकुमार साह (सहायक कम्प्युटर अपरेटर) लाई करारमा नियुक्त गरेका थिए ।

त्यसैगरी, माओवादी नेता कसम लामाका भाइ नरेश लामा (अहेव), जगतकुमार श्रेष्ठको छोरा सुजन श्रेष्ठ र भाइ टंककुमार श्रेष्ठ, जगदीश साहकी छोरी कल्पनाकुमारी साह (सहयोगी), भतिजा सुमित चन्द सुमन (ओभरसियर), जीवनकुमार यादवकी छोरी मनीषाकुमारी यादव (सहायक कम्प्युटर अपरेटर), सालो सुमित चन्द सुमन (ओभरसियर)ले पनि पूर्वमेयर साहको कार्यकालमा नियुक्ति पाएको मेयर श्रेष्ठले बताए । 

See More On

सुझावित समाचार