हिंसाको घातक गर्तमा फस्दै अमेरिका

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

अमेरिकी जीवनलाई नियमित रूपमा चोट पुर्याउने सामूहिक गोलीबारीलाई आकस्मिक घटनाका रूपमा हेरिनु हुँदैन । यी घटनाले राज्यको सार्वभौम अख्तियारी दिनानुदिन कमजोर भइरहेको देखाउँछ । अख्तियारीको सर्वोच्च बिन्दु रहेको सार्वभौमिकताले हिंसाको वैधानिक प्रयोगको एकाधिकार एवं अविभाज्यता कायम राख्छ । विदेशी आक्रमण होस् वा घरेलु आतंक अथवा अपराधको प्रतिरक्षामा राज्यसँग मात्रै हिंसाको प्रयोग गर्ने वैधानिकता हुन्छ । जब राज्यले शान्ति–सुरक्षा एवं न्याय प्रदान गर्न नसकेर समाजलाई जोगाउन सक्दैन, तब राज्यको सार्वभौमिकता व्यक्तिको आत्मसुरक्षाको जिम्मेवारीको सम्भावित शत्रु बन्न पुग्छ । 

ऐतिहासिक रूपमा फासीवादी राजनीतिक आन्दोलन गैरराज्यीय मिलिसियाको उदयबाट भएको देखिन्छ । मुसोलिनीको ब्ल्याकसर्ट, हिटलरको ब्राउनसर्ट, ब्राजिलको ग्रिनसर्ट र आयरल्यान्डका फासीवादी नेता इओन ओ डफीको ब्लुसर्ट मिलिसियालाई उदाहरणका रूपमा लिन सकिन्छ । अमेरिकामा अहिले छिटपुट घरेलु आतंक र संगठित हिंसा सँगसँगै भइरहेको छ । ६ जनवरी २०२१ मा अमेरिकाको केपिटोल (अमेरिकी कांग्रेसका सदस्य एवं संघीय कार्यपालिका भवन) मा मच्चिएको विद्रोहलाई केलाउने हो भने राज्यको सार्वभौमिकतामाथिको साझा विश्वास दिनानुदिन घट्दै गएको प्रमाणित हुन्छ । 

दक्षिणपन्थीहरूको ‘डिप स्टेट’ अर्थात् गोप्य समानान्तर सरकारको षड्यन्त्रको सिद्धान्त र रिपब्लिकन पार्टीले भन्ने राष्ट्रपतीय चुनावी धाँधलीले राज्यको वैधानिकतालाई चुनौती दिने काम गर्छ । जब यो चुनौती परम्परागत एवं सामाजिक मिडियाबाट प्रसार हुन्छ, तब गैरराज्यीय हिंसा बढ्दो रूपमा स्वीकार्य बन्छ । समानान्तर रूपमा हिंसाप्रति निन्दा र उत्कट चाहना देखिने गर्छ । र, यो प्रवृत्ति फासीवादको उत्पत्ति हुँदा देखिने गर्छ । हिंसाको व्यापकता स्वतः सिद्ध छ । यसले पुरानो सार्वभौमिकताको अवसान भइसकेको वा हुन लागेको संकेत गर्छ । यस सन्दर्भमा एक जवाफी हिंस्रक बलको आवश्यकता पर्ने गरेको छ ।

६ जनवरी २०२१ राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘तपाईं दृढतापूर्वक लड्नुहुन्न भने तपाईंका लागि देशको अस्तित्व हुनेछैन’ भन्ने भनाइलाई उदाहरणका रूपमा लिन सकिन्छ । बजारमा बन्दुक र ट्रम्पका पूर्वसल्लाहकार स्टिभ बेननले पैरवी गरेको मिडियाविरुद्धको ‘सिट’ (घृणा) को फैलावटले सामाजिक असन्तुलनलाई बढावा दिन्छ । जब अपराधको स्वीकृति र भय बढ्दै जान्छ, तब प्रतिक्रियात्मक शक्ति बलियो हुन्छ । भयाक्रान्तले आफैँले हिंसा नगरे पनि आत्मरक्षाका लागि हिंसा गर्छु भन्नेलाई स्विकार्ने प्रवृत्ति बढ्दै जान्छ । उदार लोकतन्त्रमा यी बढ्दो खतराको सबैभन्दा उत्तम प्रतिरक्षा भनेको चलायमान प्रेस, शान्तिपूर्ण प्रदर्शन र निर्वाचन प्रक्रियाका संस्थालाई खुला रूपमा सञ्चालन हुन दिनु हो । र, यसमा कुनै ढिलाइ हुनुहुँदैन, किनभने यी तीनै संस्था अहिले जोखिममा छन् । फेसबुक, ट्विटर र टिकटक समाचारका मुख्य स्रोत बनेका छन् र यी माध्यमको ‘ध्यान खिच्ने अर्थतन्त्र’ निःसृत व्यापारिक मोडेल र नाफाले सत्यलाई छायामा पारिदिएको छ । स्वभावतः झुट चाँडो फैलिन्छ र सत्यले भन्दा बढी समयसम्म ध्यान आकर्षित गर्छ र यी माध्यमका व्यापारीका लागि प्रयोगकर्ताको ध्यान खिचिनु नै विज्ञापनको स्रोत हुने गर्छ ।

अमेरिकामा बढ्दो फासीवादी खतराका सन्दर्भमा स्वतन्त्र प्रेस, शान्तिपूर्ण प्रदर्शन र स्वतन्त्र एवं निष्पक्ष निर्वाचनलाई सामूहिक अग्रसरता मात्र नभई वास्तविक साहसको खाँचो छ
 

यसबीच सार्वजनिक प्रदर्शनीको अधिकार राज्यस्तरको नयाँ कानुनको सिकार बनेको छ, जसले शान्तिपूर्ण प्रदर्शनको विकल्पमा हिंसालाई प्रश्रय दिन्छ । उदाहरण ओक्लाहोमामा ‘भिडको हिंसाबाट गाडी चालक पन्छिँदा अर्थात् गाडी चालकलाई गम्भीर चोट पुग्ने वा ज्यानै जाने खतरा’ भएको खण्डमा यदि चालकले कसैलाई ठक्कर दिएर घाइते बनाए पनि वा चालकबाट मारिए पनि चालक जिम्मेवार हुनेछैन । यही प्रावधानले प्रदर्शनकारीलाई सडकमा अवरोध पुर्याएको वा ट्राफिक जाम गरेको अभियोगमा पाँच हजार डलरको जरिवाना र एक वर्षको जेल सजाय तोकेको छ । त्यसैगरी फ्लोरिडा र आइओवा राज्यमा प्रदर्शनकारीको भिडमा गाडी जोत्नु आत्मरक्षा हो भन्ने देखाउन सके नागरिक प्रतिरक्षाको दाबी गर्न सक्छन् । स्वतः यस्ता कानुनले घातक परिणाम निम्त्याउनेछन् । सिकागो प्रोजेक्ट अन सेक्युरिटी एन्ड थ्रेट्सका अरी विलको विश्लेषणअनुसार सन् २०२० मा जर्ज फ्लोएडको हत्यापछिको एक महिनामै ५२ सहरमा प्रदर्शकारीमाझ कार जोतिएका ७२ घटना सतहमा आएका छन् । अन्त्यमा, निर्वाचन प्रक्रियालाई राज्यका कानुनले जोखिममा पारेका छन् ।

यसले रिपब्लिकन बहुमत भएका राज्यका विधायिकाले राष्ट्रपतीय चुनावको नतिजालाई बेवास्ता गर्दै राज्यका मतदाताले छानेका ‘इलेक्टोरल कलेज’ (राष्ट्रपति छान्न जनताले चुनेका मतदाता) को ठाउँमा आफ्नै इलेक्टोरल कलेज राख्न प्रोत्साहन गर्नेछ । दुर्भाग्य, अमेरिकी सर्वोच्च अदालतको हालैको एक फैसलाले राज्यको विधायिकालाई राज्य वा संघस्तरका अदालतबाट उन्मुक्ति दिन सक्ने कानुनी सिद्धान्तलाई प्रोत्साहन गरेको देखिन्छ । र, यसले आफ्नै इलेक्टोरल कलेज राख्ने कदमलाई रोक्ने देखिँदैन ।  

   यी बढ्दो खतराका सन्दर्भमा स्वतन्त्र प्रेस, शान्तिपूर्ण प्रदर्शन र स्वतन्त्र एवं निष्पक्ष निर्वाचनलाई सामूहिक अग्रसरता मात्र नभई वास्तविक साहसको खाँचो छ । यस साहसमा पूर्वदासले नश्लभेदी ‘जिम क्रो’ कानुन र श्वेत–सर्वोच्चतावादी उग्रवादी समूह ‘कु क्लुक्स क्लान’विरुद्ध गरिएको प्रतिरोधजत्तिकै साहस आवश्यक छ । सन् १९६० को नागरिक अधिकार आन्दोलन एवं महिलाले मतदान गर्न पाउनुपर्छ र प्रजनन अधिकारमा स्वायत्तता चाहिन्छ भनेर गरिएको आन्दोलनमा जत्तिकै आँटको आवश्यकता छ । निश्चय नै परिस्थिति पहिलेभन्दा बढी जोखिमयुक्त छ, तर साहसको अपरिहार्यता देखिन्छ । एक स्वतन्त्र गणतन्त्रमा राज्यको सार्वभौम अख्तियारी खतरामा भएको वेलामा मौलिक अधिकार नयाँ ढंगले हासिल गरिनैपर्छ । अमेरिकामा भइरहेको हिंसाले सार्वजनिक संकथन एवं विधिको शासनलाई नाघेको छ र अहिले अमेरिकी राज्यको जग बस्दा बनेको नारा ‘इ प्लुरिबस युनम’ अर्थात् विविधतामा एकतालाई जोगाउने चुनौती आइपरेको छ ।
प्रोजेक्ट सिन्डिकेटबाट(सेर्विन न्युयोर्क ल स्कुलका कानुनका प्राध्यापक हुन्) 

सुझावित समाचार