सरकारले ७ प्रतिशतमा महँगी सीमित राख्ने लक्ष्य लिएका वेलामा मुद्रास्फीति सर्वेक्षणले १३.५ प्रतिशत पुग्ने अनुमान गरेको छ, २८ सहरका एक हजार एक सय ४१ जनालाई सर्वेक्षणमा समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले महँगीदरलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । तर, नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले मुद्रास्फीति १३.५ प्रतिशत पुग्ने देखाएको छ । राष्ट्र बैंकले सहरी क्षेत्रका बासिन्दालाई प्रतिनिधि बनाएर गरेको सर्वेक्षणअनुसार असोजसम्ममा महँगी १४ प्रतिशतसम्म पुग्ने देखिएको हो । भविष्यमा हुने महँगीलाई आमउपभोक्ताको बुझाइका आधारमा यस्तो प्रक्षेपण गरिएको हो । संसारका अर्थतन्त्रमा सबल मुलुकहरूले यस्तो अभ्यास गरेर महँगी नियन्त्रणमा सफल भए पनि नेपालको सन्दर्भमा प्रत्युत्पादक हुने जोखिम रहेको विश्लेषकहरूको बुझाइ छ ।
संसारभर केन्द्रीय बैंकहरूले महँगी नियन्त्रणका उपाय अवलम्बन गर्न यस्तो सर्वेक्षण गर्छन् । उपभोक्ताबाट सर्वेक्षणका आधारमा महँगी नियन्त्रण गर्न यस्तो अध्ययनले सघाउ पु¥याउने उद्देश्य राखिएको हुन्छ । तर, सरकारी अनुगमन संयन्त्र कमजोर भएको देशमा यस्तो सर्वेक्षणको नतिजा प्रत्युत्पादक हुन सक्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले भने, ‘यस्तो प्रक्षेपण सार्वजनिक भइसकेपछि तुरुन्त महँगी नियन्त्रणका विधिहरू अवलम्बन नगर्ने हो भने यसले महँगीलाई थप बल पुग्ने जोखिम रहेको छ ।’ अन्य मुलुकको सिको गरेर मुद्रास्फीति सर्वेक्षणको अभ्यास भएको नेपालमा एक वर्षजति भयो । तर, यस्तो सर्वेक्षणले आपूर्ति व्यवस्थापन कमजोर भएको देशमा व्यापारीलाई भाउ बढाउन मद्दत पुग्ने जोखिम रहेको उनको भनाइ छ । ‘राष्ट्र बैंककै सर्वेक्षणले भाउ १४ प्रतिशत बढ्ने आकलन गर्यो भन्ने हल्ला पिटाएर महँगी बढाउन सक्छन्,’ उनले भने । राष्ट्र बैंकले हतार नगरी दुई–तीन वर्ष यस्तो सर्वेक्षणलाई आन्तरिक प्रयोजनका लागि प्रयोग गर्नुपर्नेसमेत उनको धारणा छ ।
राष्ट्र बैंकको प्रक्षेपण वास्तविक नभएर बजारको अपेक्षासँग मात्रै जोडिएको र यही तथ्यमा आधार भएर महँँगी नबढ्ने राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठले बताए । उनले यस्तो अपेक्षा सर्वेक्षणले महँगीको दिशा देखाइदिने मात्रै काम गरेको बताए । ‘यो सर्वेक्षणले भविष्यमा हुन सक्ने महँगीलाई संकेत मात्रै गर्ने हो । यसबाट आएको नतिजालाई आधार बनाएर राज्यका निकायले नीति–निर्माण गर्न सघाउ पुग्छ ।’ उनले भने, ‘त्यस्तै उद्योगीहरूलाई भविष्यमा वस्तुले उचित भाउ पाउने भएकाले उत्पादन बढाउन प्रोत्साहन पनि हुने भयो । अर्काेतर्फ बजारले पनि सजगता अपनाएर माग घटाउन सक्छ । आखिर मूल्य निर्धारण गर्ने र माग आपूर्तिकै कारण हो । त्यसैले यो सर्वेक्षणले सबैलाई चनाखो बनाउन मद्दत पुग्छ ।’
अपेक्षाभन्दा महँगीको तथ्य सधैँ कम
बजारमा अनुभव हुने महँगीसँग राष्ट्र बैंकको तथ्यांक मेल नखाएको गुनासो हुने आमउपभोक्ताको गुनासो छ । तर, बजारभन्दा पनि अन्तर्राष्ट्रियस्तरमा यस्तो महँगी तुलनायोग्य हुने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको भनाइ छ । उनले भने, ‘सामान्यतया तरकारी वा कुनै एउटा वस्तुको भाउसँग जोडेर उपभोक्ताहरूले समग्र मूल्यवृद्धिसँग तुलना गर्ने गरेका छन् । तर, राष्ट्र बैंकले सार्वजनिक गर्ने मुद्रास्फीतिले समग्र बजार मूल्यको प्रतिनिधित्व गर्छ । यो वैज्ञानिक पनि छ ।’ यद्यपि, बजारको अपेक्षाअनुसार नै महँगीले बाटो समात्ने भएकाले यस्तो सर्वेक्षणले दिने नतिजालाई राष्ट्र बैंकले गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकको सर्वेक्षणले देखाउने अपेक्षाभन्दा मुद्रास्फीति दर सधैँ न्यून हुने गरेको देखिन्छ । गत असारमा सर्वेक्षणका वेला पनि करिब १४ प्रतिशत मूल्यवृद्धि रहेको प्रक्षेपण गरिएको थियो । यस वर्ष पनि १४ प्रतिशत नै मूल्यवृद्धि रहेकाले महँगीदर बढ्नेमा खासै नबढेको विश्लेषण पूर्वउपाध्यक्ष श्रेष्ठको तर्क छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष ०७८/७९ को तेस्रो त्रैमास लक्षित गरेर २० असार ०७९ देखि २८ सहरमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा एक हजार एक सय ४१ जनालाई समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि दोस्रो त्रैमास लक्षित गरेर ०७८ पुस २१ देखि २७ सम्म १७ सहरमा गरिएको सर्वेक्षणमा ९१.९ प्रतिशतले आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्यवृद्धि हुने अनुमान गरेका थिए । त्यस्तै, ९७.१ प्रतिशतले आउँदो वर्षमा सेवा तथा सामग्रीको मूल्य बढ्ने अनुमान गरेका थिए ।
सर्वेक्षणले तीन महिनामा दाल, गेडागुडी, चिनी, खुर्सानी, माछा, मासु, दुग्धजन्य पदार्थ, घिउ, तेल, पेय पदार्थ, सुर्तीजन्य पदार्थ, होटेल, रेस्टुराँ र जग्गा तथा घरको मूल्यमा गत असोजमा गरिएको सर्वेक्षणमा भन्दा मूल्यवृद्धि कमी आउने वा तत्कालीन मूल्य स्थिर रहने संकेत गरेको थियो । तर, बजारमा चिनी तथा खानेतेललगायत धेरै खाद्य वस्तुकै मूल्य ह्वात्तै बढ्यो ।आगामी तीन महिनामा घरजग्गा, सेवा र गैरखाद्यबाहेक सबै उपभोग्य सामग्रीको मूल्यवृद्धि हुनेमा धेरैको अपेक्षा देखिन्छ । विश्व बजारमा चुलिँदो उपभोग्य सामानको मूल्यवृद्धिलाई ध्यानमा राखेर उपभोक्ताहरूले यस्तो बुझाइ बनाएको आकलन गरिएको छ । यद्यपि, विश्वमा खाद्यान्न र इन्धनको मूल्य घट्ने तरखरमा रहेको अन्तर्राष्ट्रिय संघ–संस्थाको प्रक्षेपण छ ।