सामान्यतामा फर्किने आर्थिक मोडलको औचित्य ?

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

बेलायतमा तापमान ४० डिग्री सेल्सियस पुगेको छ । मुख्य एयरपोर्टका रनवे पग्लिएका छन् । सहरभरि आगोको ज्वाला दन्किँदै गर्दा लन्डन फायर ब्रिगेड (दमकल सेवा) दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा व्यस्त भएको छ । बेलायतको मौसम विभागले अत्यधिक गर्मीलहरका सन्दर्भमा ‘गर्मीले गम्भीर स्वास्थ्य समस्या वा ज्यानै लिन सक्छ’ भन्दै चेतावनी दिएको छ । यस बीचमा मुद्रास्फीति अनिश्चित रूपमा बढ्ने क्रममा छ । यसका पछाडि युक्रेनमा रुसी आक्रमण जिम्मेवार छ, तर अन्य प्रभावलाई नकार्न मिल्दैन ।

प्रतिकूल मौसमका कारण बालीमा असर परेकाले कफीजस्ता खाद्यान्नको मूल्य बढेको छ । ताइवानमा खडेरीले सिलिकन चिप्समा पनि प्रभाव परेको छ, अर्थात अत्यधिक पानी चाहिने सेमिकन्डक्टरको उत्पादनमा जोखिम बढ्दो छ । वातावरणीय संकट निवारण हुने देखिँदैन । जलवायु पूर्वानुमानकर्ताले गरेको सबैभन्दा प्रभावशाली भविष्यवाणीअनुसार उच्च अस्थिरता निम्तिने देखिन्छ अर्थात् भविष्यमा महामारीको जोखिमका साथै थप गर्मीको लहर, बाढीको प्रकोप र खाद्यान्न अभावको सम्भावना छ । तर, अर्थतन्त्रलाई नियमन गर्ने जिम्मेवारीमा रहेका संगठनले अहिले हाम्रो दैनिकीको अवश्यम्भावी एवं अत्यन्त महँगो अस्थिरतामाथि विरलै ध्यान दिएका छन् ।

अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबिआर)को आधिकारिक प्रक्षेपणअनुसार यस वर्ष मुद्रास्फीति वास्तवमा चाँडै घट्नेछ र आगामी दुई वर्षमा सामान्यतामा फर्किनेछ किनभने अर्थतन्त्रको उत्पादक क्षमताका आधारमा उत्पादन व्यापक रूपमा बढ्छ । त्यसैगरी, हालैको बैंक अफ इंग्ल्यान्डको बाह्य आर्थिक झट्का कम हुने र मुद्रास्फीति दुईदेखि तीन वर्षमा दुई प्रतिशतको लक्ष्यस्तरमा फर्किने भविष्यवाणी गरेको छ । सामान्यतामा आश्चर्यजनक रूपमा द्रुतगतिको फिर्तीको अपेक्षाले निकट अवधिको आर्थिक भविष्यका लागि सरकार आफ्नै योजनामा निर्भर छ भन्ने देखिन्छ । निर्भरताका लागि बेलायती अर्थ मन्त्रालय ओबिआरको प्रक्षेपणमा भर परेको छ । मन्त्रालय युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा मात्र ‘साबिकभन्दा ठूलो’ अनिश्चिततालाई स्वीकार गर्छ न कि वातावरणीय अस्थिरताको सम्बन्धमा । 

यो आधिकारिक पूर्वानुमानकर्ताको कुनै अपवादजनक प्रक्षेपण होइन । समयका साथै निश्चित प्रकारको स्थिरताको धारणा हालका धेरै प्रकारका आर्थिक मोडलमा देखिन्छ । यी मोडलअनुसार अर्थतन्त्रले क्षणिक रूपमा सन्तुलन गुमाए पनि चाँडै आफ्नो स्थिर विकासपथमा फर्किएर अगाडि बढ्दै जानेछ । त्यसबाहेक यी मोडलअनुसार हालको पूर्वी युरोपका युद्ध वा तेलको मूल्यमा भएको अप्रत्याशित वृद्धिजस्ता परिस्थितिले अर्थतन्त्रलाई असर गर्नु केवल ‘झट्का’ हुन् र अर्थतन्त्र यी झट्काबाट पार भएर स्थिरतामा फर्किन्छन् ।यो स्थिर दीर्घकालीन वृद्धिको मार्गबाट हुने कुनै पनि विचलनलाई आर्थिक मोडलले जनसंख्या एवं प्रविधिजन्य परिवर्तनजस्ता अर्थतन्त्रका गहिरो संरचनाका अस्थायी विचलन मानेका छन् । यी मोडलअनुसार मुख्य प्रश्न अर्थतन्त्र कत्तिको चाँडो ‘झट्का’बाट तंग्रिन र दीर्घकालीन लयमा फर्किन सक्छ भन्ने हो ।

बेलायतमा अर्थतन्त्रलाई नियमन गर्ने जिम्मेवारीमा रहेका संगठनले अहिले हाम्रो दैनिकीको अवश्यम्भावी एवं अत्यन्त महँगो अस्थिरतामाथि विरलै ध्यान दिएका छन्

दुई शताब्दी पहिले जब आधुनिक अर्थशास्त्रको सुरुवात भयो र त्यसवेलादेखि हालसम्म आर्थिक मोडलका अनुमान अप्रासांगिक नै रहे । पृथ्वीमा जलवायु धेरै हदसम्म स्थिर थियो । तर, यदि वातावरणीय झट्का मात्र आइराखे के हुन्छ ? विगतका केही वर्षमाथि विचार गरौँ तपाईंले सन् २०१९ को गर्मीमा डढेलोका साथै विशाल कोभिड महामारी अवरोध (अहिले पनि जारी छ) र यस वर्षको उच्च गर्मी देख्न सक्नुहुन्छ । यी वातावरणीय झट्का समाप्त भएका छैनन्, बरु जलवायु पूर्वानुमानकर्ताका अनुसार भविष्यमा यी झट्का बढ्दै जानेछन् र तीव्र बन्नेछन् । स्थिर सामान्यतामा फर्किने अनुमान गर्ने आर्थिक मोडलले हाम्रो नीति–निर्माणलाई नाटकीय रूपमा भ्रामक बनाउने गम्भीर खतरा छ ।

यसका लक्षण देखिन थालिसकेका छन् । उदाहरण बैंक अफ इंग्ल्यान्ड ब्याजदर बढाउने प्रयासमा जोडदार ढंगले लागिपरेको छ । कोभिड महामारी, युद्ध, खाद्यान्न अभावसम्ममा वस्तु तथा सेवाको उत्पादन र बिक्रीमा भएका व्यापक विश्वव्यापी अवरोधका सन्दर्भमा ऋणको मूल्य बढाएर लागत र अभावलाई थप्ने प्रयास हेर्दा बैंकको रबैया उदेकलाग्दो देखिन्छ । बैंक अफ इंग्ल्यान्डका गभर्नर एन्ड्रयु बेलीले लन्डनमा कतारबाट ग्यासको मूल्य घटाउने वा क्यानडामा बढी गहुँ उत्पादन गर्न प्रोत्साहन गर्ने कुनै ब्याजदर नरहेको बताएका छन् । अर्थतन्त्रबाट माग घटेको हुनाले ब्याजदरमा भएको वृद्धिले मन्दीको सम्भावना बढाउनेछ र घरधुरीमा दबाब मात्र थप्नेछ ।

परिस्थिति प्रतिकूल तब हुनेछ जब बैंक अफ इंग्ल्यान्डको आफ्नै मोडल जसले ‘सामान्यता’मा तीव्र फिर्ती हुने त्रुटिपूर्ण भविष्यवाणी गरेको थियो त्यसले वातावरणीय झट्का भइरहेको सन्दर्भमा प्रतिक्रियामा थप ब्याजदर वृद्धितर्फ धकेल्नेछ । नतिजा थप अभाव र मूल्यवृद्धि हुनेछ । यसैबीच, अर्थ मन्त्रालयमा सार्वजनिक खर्च र भविष्यको लगानीका लागि योजना बनाइएका छन् र यसले निरन्तरको वातावरणीय झट्का अनुकूलनका लागि आवश्यक पर्ने रकमलाई गम्भीरतापूर्वक कम गर्नेछ र आपत्कालीन खर्चमार्फत अर्थतन्त्र धकेलिएकाले मुलुक अपेक्षित सरकारी ऋणको उच्च जोखिममा पर्नेछ । 

हाम्रो आर्थिक मोडलको अन्तर्निहित संरचनादेखि लिएर सरकारले अवलम्बन गर्ने आर्थिक व्यवस्थापन हेर्दा नयाँ रणनीति ल्याउन ढिला भइसकेको देखिन्छ । भविष्यमा अर्थतन्त्र तंग्रिनेछ भन्ने अनुमान गर्नुको सट्टा संरक्षणको आवश्यकतामा ध्यान केन्द्रित गर्न जरुरी छ । यसका लागि आगामी वातावरणीय प्रकोपविरुद्ध घरधुरीका लागि वित्तीय बिमाका रूपमा वास्तविक तलब, निवृत्तिभरण र लाभमा वृद्धिसहित आय समर्थनजस्ता तत्वमा जोड दिनुपर्छ । यसबाहेक दुर्भाग्यवश अहिलेको आवश्यकता बनेको बाढी प्रतिरक्षा र आवास इन्सुलेसन (ताप अवरोधक)जस्ता प्रतिकूल मौसमविरूद्ध सुरक्षाका उपायमा महत्वपूर्ण लगानी गरिनुपर्छ । 
द गार्जियनबाट (मिडवे प्रोग्रेसिभ इकोनोमी फोरमका निर्देशक हुन्) 

सुझावित समाचार