म गलत गर्दिनँ, तपाईंहरू पनि गलत नगर्नुस् : मन्त्री चौधरी

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरूले मानसिकता बदल्न जरुरी भएको बताएका छन्। नेपाल नगरपालिका संघले आइतबार होटेल र्याडिसनमा नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले यसो बताएका हुन्।

‘जनताले खासखास ठाउँहरूमा प्रमुख दलहरूलाई चुनौती दिएका छन्। यो राम्रो पनि हो। र, अब पनि दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन,’ मन्त्री चौधरीले भने, ‘हामी अब सुध्रिन जरुरी छ। हाम्रा व्यवहारहरू सुध्रिनु जरुरी छ।’

प्रशिक्षणात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरूलाई भने, ‘तपाईंहरू जनताका घरघरसँग जोडिनुभएको छ। साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ। अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाइ गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहँदैनन्। तपाईंहरू दलका प्रतिनिधि हुनुहुन्छ। दलहरूको औचित्य पुष्टि गर्नुस्।’

सुझावित समाचार