४४औँ पुष्पलाल स्मृति दिवसमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठलाई विराटनगरका वामपन्थीहरूले सम्झना गरेका छन्। शनिबार विराटनगर–१ पुष्पलाल चोकमा रहेको स्मारकमा श्राद्धाञ्जली व्यक्त गर्दै उनीहरूले स्वर्गीय पुष्पलालको सम्झना गरेका हुन्।

संस्थापक नेता पुष्पलाललाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, अग्रज वामपन्थी अभियन्ता तथा पूर्वराजदूत कमल कोइराला, संघीय सांसद अमलाल मोदी, विराटनगरका पुराना वामपन्थी नेताहरू राधेश्याम दली, शिवबहादुर कार्की, एकीकृत समाजवादी प्रदेश १ का सचिव महेश रेग्मीलगायतले सम्झना गर्दै नेपालमा कम्युनिस्ट शक्तिहरू एकताबद्ध भए मात्र संस्थापक नेता पुष्पलालको सपना पूरा हुन सक्ने धारणा राखे। उनीहरूले फुटको राजनीतिलाई परित्याग गर्न सबै कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई आग्रहसमेत गरेका छन्।

पुष्पलालको सम्झनामा विराटनगर–१ मा उनको अर्धकदको सालिकसहितको स्मारक निर्माण गरिएको छ। स्मारक समितिले हरेक वर्ष उनको सम्झनामा श्राद्धाञ्जली कार्यक्रम आयोजना गर्दै आएको छ।
