जनअधिकार सुनिश्चितताका लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यो आजको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । जनसरोकार अभियानले काठमाडौंमा बुधबार आयोजना गरेको ‘संघीयता : भ्रम र यथार्थ’ विषयक बहसका वक्ताले कतिपयमा संघीयताबारे भ्रम उत्पन्न भएको भए पनि मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा संघीयता स्थापना भएको बताए ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नेतृत्व गर्ने व्यक्तिको कमजोरीका कारण संघीयताबारे भ्रम उठ्न खोजेको बताउँदै संघीयता देशको आवश्यकता भएको उल्लेख गरे । उनले जनताका सेवासुविधालाई गाउँगाउँमै सहज रूपमा पुर्याउन संघीयताको महत्व बढी रहेको बताए । ‘जनसहभागिता हुने उच्च खालको व्यवस्था नै संघीयता हो । पहिचान, संस्कृति, मूल्य मान्यताका कारण उक्त व्यवस्था आजको आवश्यकता हो,’ श्रेष्ठले भने ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीयताको विषयमा अहिले नै सफल या असफल भएको भनेर छलफल गर्नुपर्ने वेला नभएको बताए । २०–२५ वर्ष अभ्यास भएपछि मात्रै यसबारेमा विश्लेषण गर्नुपर्नेमा उनको जोड थियो ।
संघीयताले मुलुकका ७५३ पालिकाका जनता लाभान्वित भएको र तल्लो तहका जनताले पनि प्रत्यक्ष रूपमा निगरानी गर्न सकेकाले आर्थिक पारदर्शिता निर्माण गर्न सकिएको उनको भनाइ थियो । संयोजक अनिल शर्माले संघीयताका सवालमा देखिएको भ्रम निवारणका लागि यसरी कार्यक्रम आयोजना गरिएको बताए ।