फर्निचर तथा फर्निसिङ एक्स्पोको आठौँ संस्करण भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड–१९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो आगामी २३ भदौदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ ।
संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झन्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय लगभग ठप्प अवस्थामा रहेकोमा हाल केही सामान्य अवस्थामा फर्किरहेको छ । उनले भने, ‘यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्म प्रदान गर्ने तथा आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौँ ।’
फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको जोशीले बताए । पछिल्लोपटक ०७६ भदौ अन्तिम साता सातौँ संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण त्यसपछि एक्स्पो आयोजना हुन सकेको थिएन ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा एक सय २० भन्दा बढी स्टल रहने जनाइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ । आठौँ संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका प्रदर्शकहरूले समेत सहभागिता जनाउने आयोजकको भनाइ छ ।
एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागी हुनका लागि बुकिङ खुला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरूलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।