सोमबार एकाबिहानै तुलसीपुर बजारमा पञ्चैबाजा र नाचगानसहितको बृहत् र्याली निस्कियो । न त कुनै पर्व, न शुभकार्य, न उत्सव महोत्सव नै । एकाएक निस्किएको र्यालीबारे सर्वसाधारणको चासो हुने नै भयो ।
यो र्याली थियो–तुलसीपुरस्थित एक विद्यालयमा अध्ययनरत छात्राले सिनियरलाई पछि पार्दै राखेको राष्ट्रिय कीर्तिमानीको खुसियाली । अघि–अघि पञ्चेबजा र नाचगान पछि–पछि विद्यार्थी, शिक्षक–शिक्षिका र स्थानीय । यो बजार परिक्रमा एथ्लेटिक्समा तुलसीपुरले पनि राष्ट्रियस्तरमा नाम लेखायो भन्ने सन्देश दिन थियो ।
आफ्नो सिनियरलाई पछि पार्दै तुलसीपुर उपमहानगरपालिका–१६ भेलहीकी १७ वर्षीया निशा चौधरीले एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । ग्रेट अरनिको सेकेन्डरी स्कुल, तुलसीपुरबाट १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले छात्रातर्फ लङजम्पमा पाँच मिटर ४७ सेन्टिमिटरमा रेकर्ड कायम गरेकी हुन् । उनले काठमाडौंको दशरथ रंगशालामा २८ देखि ३० असारसम्म भएको १२औँ राष्ट्रपति रनिङ सिल्डमा सन् २०१८ मा एपिएफकी शिला चौधरी (पाँच मिटर ४५ सेन्टिमिटर)ले कायम गरेको कीर्तिमानभन्दा दुई सेन्टिमिटर बढीको नयाँ रेकर्ड कायम गरेकी हुन् । प्रशिक्षणविना नै जिल्ला, प्रदेश हुँदै पहिलोपटक उनी काठमाडौं पुगेकी थिइन् । उनले आफू सहभागी सबै स्पर्धामा स्वर्ण जितेकी थिइन् ।
‘निशाको यो कीर्तिमानले विद्यालय त खुसी छ नै, समग्र तुलसीपुर खुसी छ,’ स्कुलका अध्यक्ष मानबहादुर बस्नेतले भने ‘खेल क्षेत्रमा तुलसीपुर अगाडि छ भन्ने प्रमाण पनि हो यो ।’ बस्नेतका अनुसार उनले पहिलोपटक राष्ट्रियस्तरको खेलमा सहभागिता जनाएकी हुन् । जुन खेलमा उनले न त पहिले प्रशिक्षण नै गरेकी थिइन् । खासमा उनी तेक्वान्दोकी खेलाडी हुन् । तर, एथ्लेटिक्समा पनि अब्बल साबित भइन् ।
चार स्पर्धामा स्वर्ण जितेकी निशाले तीन स्पर्धामा कीर्तिमान कायम गरिन् । जसमध्ये एक सय मिटर दौडमा १२.५३ सेकेन्ड टाइमिङ जुनियरतर्फको कीर्तिमान हो । निशासहित रेशु थारू, रामकुमारी थारू र सम्झना थारू सम्मिलित लुम्बिनी प्रदेशको टोलीले चार गुणा एक सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेन्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरे । राष्ट्रिय खेलका लागि लुम्बिनी प्रदेशमा १२ असारदेखि खेल सुरु भएको थियो । निशाले तुलसीपुर उपमहानगरस्तरीय सुरुवाती प्रतियोगिता जितेको पाँच दिनपछि जिल्लास्तरीय प्रतियोगिता खेलिन् । त्यसको पाँच दिनपछि लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता जितेर काठमाडौं गएकी थिइन् ।
तेक्वान्दो खेलाडीको एथ्लेटिक्स कीर्तिमानी
तेक्वान्दोमा निशाले ‘टच ब्ल्याक बेल्ट’ प्राप्त गरेकी छिन् । उनी तेक्वान्दो खेल्दाखेल्दै दौडको पनि ‘प्राक्टिस’ गर्थिन् । ‘मैल खास एथ्लेटिक्सको प्रयास नै गरिन, प्रतियोगितामा नियमित भाग लिन्थेँ,’ उनले भनिन्, ‘खेलमा प्रथम हुन्छु भनेर त सोचेकै थिइनँ ।’ उनले २०७५ सालदेखि तेक्वान्दो खेल्न सुरु गरिन् ।