महामन्त्रीका आक्रोश
ताली बजाएर हिँड्न सकिन्न, सभापतिज्यूले ख्याल गर्नुस् : गगन थापा, महामन्त्री
पार्टी सभापति र अन्यले गरेका काम हामीले बोक्ने मात्र हो ? हाम्रो काम ताली पड्काउने मात्र हो ? महामन्त्रीको काम त्यही हो ? हामी बोक्ने र ताली पड्काउने मात्र होइनौँ । अझै पनि भित्तामा पुर्याउने र घेराबन्दी गर्ने हो भने सभापतिज्यूले ख्याल गर्नुस्, हामी पनि निर्वाचित महामन्त्री हौँ, त्यतिकै बस्दैनौँ ।
प्रशंसा गर्ने नाममा घन्टी पनि नबजाऔँ, डन्डी पनि नचलाऔँ : विश्वप्रकाश शर्मा, महामन्त्री
डा. शेखरले होटेलमा भेला गर्नु हुन्थ्यो या हुन्नथ्यो त्यो एउटा पाटो हो । तर, पार्टीभित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ त्यो मुख्य हो । एउटा नेताको पक्षधरता राख्न अर्कालाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो हो । नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ जय जगदीश हरे गरेर घन्टी नबजाऔँ, अनि आलोचना गर्ने नाममा डन्डी पनि नचलाऔँ ।
महामन्त्रीद्वयलाई देउवाको चेतावनी : प्रजातन्त्रप्रतिको मेरो निष्ठामा प्रश्न उठाए यसले राम्रो गर्दैन ?
प्रजातन्त्रप्रतिको मेरो प्रतिबद्धताका विषयमा कसैले पनि प्रश्न उठाउनु ठीक हुँदैन । मैले पनि अरूको विषयमा प्रश्न उठाउन खोजेँ भने त्यो राम्रो हुँदैन । सम्पूर्ण रूपमा पार्टीमा एकता कायम गरेर लैजान तयार छु । बरु अबको निर्वाचनमा गठबन्धनलाई सहज हुने गरी अघि बढौँ ।
गठबन्धनप्रति शेखर पनि नरम
शनिबार भरतपुरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले भने, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ । तर, गठबन्धन गर्दा पनि कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ ।’
गठबन्धन हुन सक्छ, नेताहरू सिट छाड्न तयार हुनुपर्छ : खाण
केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुने अवस्थामा नेताहरू सिट छाड्न तयार हुनुपर्ने बताएका छन् । गठबन्धन भए नेताहरूले सिट छाड्नुपर्ने अवस्था आउने भएकाले नेताहरू त्यसका लागि तयार रहनुपर्ने खाणको भनाइ थियो ।
महामन्त्री विश्वप्रकाश शर्माको प्रस्ताव : कार्यकर्ताबीच निर्वाचन गरेर उम्मेदवार चयन गरौँ
महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रदेश र संघीय निर्वाचनमा ‘प्राइमरी इलेक्सन’को प्रस्ताव गरेका छन् । उनले संघ र प्रदेशका लागि क्रियाशील सदस्यमार्फत ‘प्राइमरी इलेक्सन’ गरेर उम्मेदवार चयन गर्नुपर्ने धारणा राखेका हुन् ।
... ...
आसन्न संघीय एवं प्रदेश निर्वाचनको मुखमा सत्तारूढ दल कांग्रेसभित्र विवादको दायरा बढ्दै गएको छ । पार्टी र सरकार सञ्चालन तथा आगामी निर्वाचनमा गठबन्धन गर्ने प्रस्तावमा पार्टीका दुई महामन्त्रीले आलोचना गरेपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवाद गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको पाँचौँ दिन शनिबार बोल्ने क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियतमाथि प्रश्न उठाएपछि सभापति एवं प्रधानमन्त्री देउवाले प्रजातन्त्रप्रतिको आफ्नो प्रतिबद्धतामा प्रश्न नउठाउन चेतावनी दिएका छन् । ‘प्रजातन्त्रप्रतिको मेरो प्रतिबद्धताका विषयमा कसैले पनि प्रश्न उठाउनु ठीक हुँदैन । मैले पनि अरूको विषयमा प्रश्न उठाउन खोजेँ भने त्यो राम्रो हुँदैन । सम्पूर्ण रूपमा पार्टीमा एकता कायम गरेर लैजान तयार छु । बरु अबको निर्वाचनमा गठबन्धनलाई सहज हुने गरी अघि बढौँ,’ प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले महामन्त्रीद्वयलाई जवाफ दिँदै भने ।
थापा र शर्माले देउवाले पार्टी र सरकार सञ्चालन गर्न नसकेको आरोप लगाउँदै गठबन्धन गर्न नहुने धारणा राखेपछि देउवाले जवाफ दिएका हुन् । देउवा अहिलेकै गठबन्धनलाई लिएर चुनावी तालमेलको पक्षमा छन् भने डा. शेखर कोइराला र महामन्त्री थापा संस्थापनमाथि दबाब बनाउने र सम्मानजनक टिकट सुरक्षित गर्ने रणनीतिमा छन् । दुवै पक्षका यी फरक चासोले कांग्रेसका गुटगट भेला र पार्टी बैठकमा वाद–विवाद देखिन थालेको छ ।
महत्वपूर्ण विषयमा पार्टीभित्रै छलफल नभएको, सरकारको कामको बचाउ गर्न सक्ने अवस्था नरहेकोलगायत कारण देखाउँदै बैठकमा महामन्त्रीद्वय देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका थिए । महामन्त्री थापाले सभापति देउवालाई मात्रै खुसी बनाउन पार्टीबाट भइरहेका निर्णयले समग्र पार्टी र सरकारको हित नहुने धारणा राखेका थिए ।
‘सभापतिलाई खुसी बनाउन गरिएका निर्णयले पार्टी, सरकार, सभापतिलाई फाइदा हुँदैन । के आज सरकारको कामले मत पाउँछ ? हिजो सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौँ भनेर ओलीलाई भन्यौँ । तर, आज कसरी चलेको छ, त्यो पनि देखिरहेका छौँ,’ थापाले भने, ‘अझै सरकारको कति रक्षा गर्ने ? हामीलाई हिजो हामीले नै उठाएको प्रश्नले लखेट्छ । त्यसको प्रतिरक्षा गर्न सकिँदैन । ओलीलाई हिजो जे प्रश्न उठायौँ, आज त्यही गरेपछि कसरी जवाफ दिने ? कसरी सरकार बोकेर हिँड्ने ?’
महामन्त्री थापाले संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा पार्टीका भ्रातृ संगठनबारेका महत्वपूर्ण निर्णयसमेत आफूले ट्विट र समाचारबाट जानकारी पाउनुपर्ने अवस्था रहेकोले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । ‘पार्टी सभापति र अन्यले गरेका काम हामीले बोक्ने मात्र हो ? हाम्रो काम ताली पड्काउने मात्र हो ? महामन्त्रीको काम त्यही हो ?’ थापाले निर्वाचित महामन्त्रीको हैसियतमा धेरै गर्न सकिने भन्दै नेतृत्वसँग लड्न तयार रहेको संकेत गरे, ‘हामी बोक्ने र ताली पड्काउने मात्र हामी होइनौँ । अझै पनि भित्तामा पुर्याउने र घेराबन्दी गर्ने हो भने सभापतिज्यूले ख्याल गर्नुस्, हामी पनि निर्वाचित महामन्त्री हौँ, त्यतिकै बस्दैनौँ ।’
महामन्त्री थापाले संस्थापनइतर समूहलाई सभापतिले निरन्तर बेवास्ता गर्न नमिल्ने भन्दै आफूले पनि नेतृत्वविरुद्ध गुट भेला राखेको नबिर्सिन देउवालाई स्मरण गराएका थिए । ‘गुटको बैठक गर्ने भनेर सोध्नेको आफैँ गुटको बैठक गरेका तस्बिर त गुगलभरि भेटिँदो रै’छ । ठूला घर हुनेले घरमा गुटको बैठक राखे, नहुनेले पार्टी प्यालेसमा राखे,’ थापाले भने, ‘सभापतिज्यूले ०६८ तिर आफैँले गरेको भेला नभुल्नुस्, आज फरक मत राख्दा पार्टीबाट निकालिदिन्छु भन्ने ?’ इतर समूहले पार्टी प्यालेसमा भेला राखेको भन्दै देउवाले त्यस्तो भेला पार्टी कार्यालयमै राख्न भन्दै व्यंग्य गरेका थिए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन सम्पन्न भएको ६ महिना, कांग्रेसको नेतृत्वमा सरकार बनेको एक वर्ष र आमनिर्वाचनबारे धारणा राखेका थिए । उनले एकवर्षे अवधिको समीक्षा गर्दै सरकार तीन सन्दर्भमा सफल भएको बताएका थिए । खोप व्यवस्थापन, एमसिसी पारित गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने काम सरकारको सफलता भएको शर्माको भनाइ थियो ।
तर, केही महत्वपूर्ण सन्दर्भमा सरकार असफल भएको भन्दै शर्माले प्रधानमन्त्री देउवाको आलोचना गरे । तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्न गरेका निर्णय सच्याउन नसकेको, सुशासनका सन्दर्भमा सरकार खरो उत्रन नसकेको र संघ र प्रदेश सरकारबीच पर्याप्त समन्वय हुन नसक्नुलाई उनले सरकारको असफलताका रूपमा उल्लेख गरेका थिए ।
शर्माले संस्थापनइतर समूहको मागलाई पनि महत्वपूर्ण रूपमा हेरिनुपर्ने बताएका थिए । ‘डा. शेखरले होटेलमा भेला गर्नुहुन्थ्यो या हुन्नथ्यो त्यो एउटा पाटो हो । तर, पार्टीभित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ त्यो मुख्य हो । एउटा नेताको पक्षधरता राख्न अर्कालाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो हो,’ उनले भनेका थिए, ‘नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ जय जगदीश हरे गरेर घन्टी नबजाऔँ, अनि आलोचना गर्ने नाममा डन्डी पनि नचलाऔँ ।’
उपसभापति धनराज गुरुङले सभापति देउवाका गतिविधिका कारण सहयोग गर्न सक्ने अवस्था नरहेको भन्दै आक्रोश पोखे । सभापतिलाई बलियो बनाउने नाममा सबै गतिविधिलाई मान्यता दिन नसकिने उनको भनाइ थियो । ‘सभापतिलाई बलियो बनाउन भनेर पाखुरामा तेल लाउन तेल बोकेर जान सकिन्न । बलियो बनाउने विचारले हो, विचार बलियो बनाउन भनेर लागिरहेका छौँ,’ उपसभापति गुरुङले भने ।
उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा पार्टीलाई असहयोग गर्नेलाई कारबाही गर्नुपर्ने र यसबारे पार्टीमा छलफल हुनुपर्ने बताए । उनले पार्टीलाई असहयोग गर्ने संस्कार रहन दिनुहुँदैन भन्ने मत राखेका थिए । बैठकमा कार्यसमिति सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । अर्को बैठक २ साउनमा बस्ने कांग्रेसले जनाएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनमा ‘प्राइमरी इलेक्सन’को प्रस्ताव गरेका छन् । उनले संघ र प्रदेशका लागि क्रियाशील सदस्यमार्फत ‘प्राइमरी इलेक्सन’ गरेर उम्मेदवार चयन गर्नुपर्ने धारणा राखेका हुन् । केन्द्रीय समितिले एक सय ६५ संघीय क्षेत्र, प्रदेश कार्यसमितिले तीन सय ३० प्रदेश क्षेत्र, जिल्ला समितिले सात सय ५३ एवं संघीय क्षेत्रले ६ हजार सात सय ४३ वडामा प्रतिनिधि पठाएर नीति अधिवेशनअघि या लगत्तै पछि राष्ट्रव्यापी रूपमा अभियान चलाउन सकिने गरी ‘प्राइमरी इलेक्सनको पाइलट प्रोजेक्ट’ सुरु गर्नुपर्ने शर्माको प्रस्ताव छ ।
यस्तो प्रस्तावले कांग्रेसप्रति युवाहरूको आकर्षण बढाउने बताए । ‘संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ ‘प्राइमरी इलेक्सन’ गर्ने कि त्यसबारे छलफल प्रारम्भ गरौँ । यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा कांग्रेस अरूभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ उनले भने ।