महँगीले आक्रान्त अमेरिकी : कोही घरमै खाना पकाउँदै, कोही पाहुना लाग्दै

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण

बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन्। उनीहरूले सवारीसाधन हुइँक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन्। घरमै पर्याप्त मात्रामा खानेकुरा पकायो, सम्भव भएसम्म रेस्टुराँ नगयो, घरै बस्यो। छोटो दुरीमा मात्र यात्रा गर्यो। खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि। 

उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफैँ विविध परिकार पकाउन थालेका छन्। आफ्नो पहिलो नाम मात्र उद्धरण गर्न चाहने उनी विरलै रेस्टुराँतिर जान्छन्। सरकारी कर्मचारी उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पँखेटाको मूल्य उस्तै भएको बताउँछन्। दशकाैँपछि अमेरिकामा महँगी अचाक्ली बढेको छ। खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन्। अमेरिकी उपभोक्ता मूल्य सूचकांक चारदशकपछि पहिलोपटक गत जेठमा ९.१ प्रतिशतले बढेको थियो। त्यसयता खाद्य सूचकांक १०.४ प्रतिशतले बढ्दा मध्यम वर्गीय अमेरिकीलाई हातमुख जोर्न धौधौ भएको छ। मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन्। दशौँ लाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन्। 

चर्को मूल्य चुकाएर हवाई जहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन। न्युयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्रान्डम्यानले हवाई जहाज नचढेको धेरै भयो। भाडा महँगो भएकाले जहाजको सट्टा मोटरकारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन्। पुरानो कारलाई मर्मतसम्भार गरेर दौडाइरहेको उनले बताइन्। उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ।  

उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्यवृद्धिले तनाव बढाएको दुःखेसो गर्छन्। हरेकपटक कारको इन्धनट्यांक भर्दा उनले थप ३० डलर तिर्नुपर्छ। पाएसम्म र भ्याएसम्म सार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए। घरभाडा पनि अनपेक्षित रूपमा बढेको छ। त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ। केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन्। बढ्दो आवास भाडाले घरबारविहीनको संख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ। देशको अर्थतन्त्रसँग पनि अमेरिकी नागरिक खुसी नभएका अन्तर्राष्ट्रिय मुद्राकोषका एकजना पूर्वअधिकारीले बताएका छन्। 

सुझावित समाचार