दानीका नानीबाट १०,३७८ नेपालीले संसार देखे

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण

अहिले पनि २२ सयभन्दा बढी बिरामी आँखाको नानी प्रत्यारोपणको पर्खाइमा, मागअनुसार संकलन हुन सकेन नानी

मनकारीले दान गरेका आँखाको नानी प्रत्यारोपण गरेर १० हजार ३७८ नेपालीले संसार हेर्न पाएका छन् । आठ हजार ३१ नानी नेपालीले नै दान गरेका हुन् भने बाँकी २३ सय ४७ विदेशबाट ल्याएर प्रत्यारोपण गरिएका हुन् । केही विदेशी पनि नेपालमा नानी प्रत्यारोपण गरेका छन् । 

नेपालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको २८ वर्ष भएको छ । ३१ भदौ ०५१ मा तिलगंगा आँखा अस्पतालले पहिलो प्रत्यारोपण गरेको थियो । अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक सन्दुक रुइतका अनुसार त्यतिवेला अमेरिकाबाट कर्निया (आँखाको नानीलाई ढाकेको पारदर्शी झिल्ली) ल्याएर प्रत्यारोपण गरिएको थियो । यो क्रम सुरुका ६ वर्षसम्मै चलेको तिलगंगा आँखा बैंकले जनाएको छ । 

त्यसपछि भने क्रमशः दाता र प्रत्यारोपणको संख्या बढ्दै गएको छ । अहिलेसम्म १० हजार ६१७ नेपालीले नानी दान गरेको आँखा बैंकको तथ्यांक छ । जब कि प्रत्यारोपण थालिएको सुरुका तीन वर्षमा देशभित्रबाट ४४ नानी मात्रै दानमा प्राप्त भएका थिए । यद्यपि, अहिले पनि मागअनुसार नानी संकलन भने हुन सकेको छैन । बीचमा केही वर्ष प्रभावित भएको प्रत्यारोपण सेवा ०६८ पछि पुनः नियमित भएको हो । 

आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाका अनुसार बर्सेनि करिब आठ हजार नानीको माग छ । तर, दानको घोषणा गरेकाको मृत्युपछि परिवारका सदस्यले सम्पर्क नगर्दा न्यून मात्रै संकलन भइरहेको छ । दान गर्छु भनेर सहमति जनाउनेभन्दा बाहिरबाट बढी नानी संकलन भएका छन् । नेपालमा रक्तदानपछिको ठूलो भनेकै आँखा दान हो । 

हाल देशभर दुई हजार दुई सयभन्दा धेरै आँखाको नानी प्रत्यारोपणको पर्खाइमा छन् । विगतमा वर्षौँ कुरेर मात्रै प्रत्यारोपण हुनेमा हाल एक हप्ताको पर्खाइमा बिरामीले सेवा लिन सक्ने त्वायनाले बताए । कोरोना महामारीका कारण प्रभावित भएको सेवाले बिस्तारै गति लिन थालेको उनको भनाइ छ । चाडबाड र वर्षा (असार–साउन)को समयमा प्रत्यारोपणका बिरामी कम आउने भएकाले मागलाई धानेको त्वायनाले बताए । सन् २०२२ मा अहिलेसम्म पाँच सय १६ जनाको नानी प्रत्यारोपण गरिएको आँखा बैंकको तथ्यांक छ । यो संख्या हजार पुग्ने अनुमान छ । 

२०१५ यता क्रमशः आँखाको नानी दान गर्नेको संख्या बढिरहेको छ । तर, कोरोना महामारीका कारण २०२० देखि दान गर्नेको संख्या घट्यो । २०२० अगाडि वर्षमा एक हजार तीन सय ४८ जनाको नानी संकलन भएकोमा त्यसपछि क्रमशः घटेको थियो । अहिले पुनः संकलनमा सुधार हुँदै गएको त्वायनाले बताए ।  

आँखा बैंकका व्यवस्थापक त्वायनाका अनुसार त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, गंगालाल अस्पतालमा तालिम दिएर आँखाको नानी संकलनका लागि कर्मचारी राखिएको छ । योसँगै पशुपतिको आर्यघाट, विद्युतीय शवदाहगृहबाट पनि नानी संकलन कार्य हुन्छ । 

‘हामी कसैको मृत्यु चाहँदैनौँ । मृत्यु भएको व्यक्तिको नानी खेर नजाओस् भनेर परिवार र आफन्तसँग आर्यघाट वा अस्पतालमा काउन्सिलिङ गर्छौँ । बुझेर कतिपयले दिनुहुन्छ, कतिपयले दिनुहुन्न, नदिनेसँग जबर्जस्ती गर्दैनौँ,’ उनले भने । संकलन गरिएका सबै नानी प्रत्यारोपण नहुन पनि सक्ने उनले बताए । तिलगंगा आँखा अस्पतालबाहेक मेची आँखा अस्पताल र गेटा आँखा अस्पतालमा पनि नानी प्रत्यारोपण हुने गरेको छ । त्यस्तै, मेची, विराटनगर, इटहरी, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलाली आँखा अस्पतालबाट पनि नानी प्रत्यारोपण हुँदै आएको छ । यी ठाउँमा काठमाडौंबाट नानी पठाइन्छ । 

‘चोटपटक लागेर, फुलो परेर विभिन्न समस्याले बिरामी अस्पताल आउँछन् । ‘यसरी आएका बिरामीको नाम चिकित्सकले वेटिङ लिस्ट बनाएर राखेको हुन्छ । आँखा मौज्दात भएमा तत्काल लगाइन्छ, नभए प्राप्त भएपछि लगाइन्छ,’ त्वायनाले भने । 

कोरोनायता आँखा बैंकले नानी संकलनमा सजगता अपनाएको छ । कोराना भएका वा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाट नानी संकलन गरिएको छैन । यसका कारण पनि नानी संकलनमा कमी आएको बैंकका व्यवस्थापक त्वायनाले बताए । ‘कोरोना संक्रमित भएका र विदेशबाट आएका, निमोनिया, रुघाखोकीजस्ता कोरोनासँग मिल्ने लक्षण भएका व्यक्तिको आँखाको नानी संकलन गरेका छैनौँ,’ उनले भने । मृतक व्यक्तिको नानी निकाल्ने भएकाले उनीहरूको स्वाब लिइँदैन । 

पहिले अमेरिकाबाट नानी ल्याएर प्रत्यारोपण गर्नुपर्थ्यो, अहिले आत्मनिर्भर छौँ : सन्दुक रुइत, संस्थापक/कार्यकारी निर्देशक, तिलगंगा आँखा अस्पताल

सन् १९९४ मा आँखा प्रत्यारोपणका लागि आवश्यक कर्निया (आँखाको नानीलाई ढाकेको पारदर्शी झिल्ली) अमेरिकाबाट ल्याउनुपर्थ्यो । देशभित्र संकलनको अवस्था शून्यमै थियो । जनचेतना नै न्यून रहेकाले तीन–चार वर्षपछि जनचेतना बढाउन सुरु गर्‍यौँ ।

लायन्स क्लब पशुपति र लायन्स क्लब राजधानीसँग मिलेर पशुपति आर्यघाटमै जनचेतना कार्यक्रम गर्न थाल्यौँ । संसारमै कुनै आर्यघाटमा नभएको काम थाल्यौँ । दाहसंस्कारका लागि लगिएका व्यक्तिको आँखाको कर्निया निकाल्न त्यहीँ ‘कर्निया एक्सिजन रुम’ स्थापना गर्‍यौँ । आँखाको नानी दानमा मान्छेहरूलाई सहभागी गराउन वर्षमा एकपटक आर्यघाटमै श्रद्धाञ्जली सभा पनि गर्न थाल्यौँ ।

यसका लागि वर्षभरि नानी दान गर्नुभएकाको नाम संकलन गर्ने, उहाँहरूमध्ये केहीको स्टोरी बनाउने र आफन्तलाई बोलाएर मार्मिक र सन्देशमूलक कार्यक्रम गर्न थाल्यौँ । यसले आममान्छेमा कर्निया दान गर्नुपर्छ भन्ने पवित्र सन्देश प्रवाह गर्‍यो ।

अहिले हामी नानीमा आत्मनिर्भर छौँ । यो ठूलो उपलब्धि हो । वैज्ञानिक हिसाबले नेपालमा आँखाको नानी प्रत्यारोपण गुणस्तरीय छ । त्यसैले विदेशीसमेत यहाँ नानी प्रत्यारोपण गर्न आउनुहुन्छ । तिलगंगामा रहेका सबै साथीको लगन र क्षमताले नै यो सम्भव भएको हो ।

२८ वर्षअघि पहिलो प्रत्यारोपण
सुरुवाती वर्ष ०५१ मा अमेरिकाबाट आँखाको नानी मगाएर तिलगंगा अस्पतालले पहिलोपटक प्रत्यारोपण गरेको थियो । १० वर्षयता भने नेपालमै वार्षिक औसत आठ सय नानी दानबाट संकलन र ६ सय ५० नानी प्रत्यारोपण हुने गरेको तथ्यांक छ ।

खर्च कति लाग्छ ?
आँखा अस्पतालले नानीको होइन, प्रोसेसिङ शुल्क लिने गर्छ । नानी झिक्न चाहिने उपकरण,  औषधि, संकलित नानी प्रत्यारोपण गर्नुअघिसम्म राखिने केमिकलयुक्त भाँडोलगायतमा १९ हजार ६ सयसम्म लाग्ने तिलगंगा आँखा बैंकले जनाएको छ ।

कसले नानी दान गर्न मिल्छ ?

आँसु, र्‍याल, सिँगान चुहिने, एचआइभी, हेपाटाइटिस सी, ई, रेबिज, रक्तक्यान्सरजस्ता जटिल रोग भएका, सरुवारोग लागेकाको नानी संकलन गरिँदैन । एक वर्षभन्दामुनि र ८५ वर्षभन्दा माथिकाको पनि नानी संकलन गरिँदैन । 

नानी संकलन गरिएको २८ दिनसम्म प्रत्यारोपण गर्न मिल्छ
तर, नेपालमा १४ दिनसम्म मात्र राख्न सकिन्छ

आँखाको नानी संकलन गरिएपछि २८ दिनसम्म प्रत्यारोपण गर्न मिल्छ । त्यसलाई बिग्रिन नदिन विभिन्न प्रकारका औषधि हुन्छन् । कुनै औषधिले चार दिन, कुनैले १४ र कुनैले २८ दिनसम्म नानीलाई सुरक्षित राख्न सक्छ । नेपालमा भने चार दिन र १४ दिनसम्म राख्न मिल्ने औषधि मात्रै उपलब्ध रहेको तिलगंगा आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले बताए । तर, नानी फेर्नुपर्ने बिरामी धेरै भएकाले चार दिनभित्र प्रत्यारोपण भइसक्ने गरेको उनले बताए । 

आँखाको नानी दान सरल र सजिलो
चिकित्सकहरूका अनुसार आँखाको पूरै डल्लो झिक्ने होइन । मृत्युपछि आँखाको कर्निया (नानी) मात्रै झिक्ने हो । आँखाको डल्लो नै झिकेर फेर्ने प्रविधि संसारमा कहीँ छैन । गर्मी मौसममा ६ देखि आठ घन्टा र जाडोमा १२ घन्टाभित्र नानी निकाल्न मिल्छ । अझ शवलाई चिस्यानमा राखिएको भए २४ घन्टासम्म पनि निकाल्न सकिन्छ । आँखाको नानीमा रक्तसञ्चार हुँदैन । त्यसकारण जसको आँखा जसलाई दिए पनि हुन्छ । त्यसैले आँखाको नानी दान सरल र सजिलो छ । 

एक मान्छेको आँखाले चार जनासम्मले पनि हेर्न पाउँछन्  
आँखाको नानी एउटा पत्र हो । त्यसमा पनि बाहिरी र भित्री पत्र हुन्छ । भित्री पत्र मात्रै बिग्रिएको भए भित्री मात्रै निकालेर प्रत्यारोपण गरिन्छ । बाहिरी पत्र बिग्रिएको भए बाहिरी पत्र मात्रै प्रत्यारोपण गर्ने गरिन्छ । ‘यसरी आवश्यकता हेरेर कहिलेकाहीँ एकजनाबाट प्राप्त नानी चारजनालाई पनि प्रत्यारोपण गर्न सकिन्छ,’ आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले भने । 

सुझावित समाचार