‘अर्थ फर अल’: पहलकदमीको आह्वान

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

राष्ट्र संघको पहिलो वातावरणीय शिखर सम्मेलन सन् १९७२ मा वैज्ञानिकको समूहले रोम क्लबका लागि ‘द लिमिट्स टु ग्रोथ’ प्रतिवेदन तयार पारेका थिए, जुन अस्वाभाविक रूपले चर्चित बन्यो । प्रतिवेदनमा पृथ्वीको सीमित प्राकृतिक स्रोतले निरन्तर रूपमा बढ्दो उपभोगलाई धान्न नसक्ने तर्क गरिएको थियो । र, यदि विश्व जगत्ले मानवीय गतिविधिका कारण हुने वातावरणीय प्रभावलाई स्विकार्दैन भने पारिस्थितिक प्रणाली नियन्त्रणबाहिर जाने र सामाजिक पतन हुन सक्छ भन्ने चेतावनी दिएको थियो । प्रतिवेदनमा एक्काइसौँ शताब्दीको मध्यसम्ममा यदि सावधानी अपनाइएन भने विनाशकारी ढंगले प्रतिव्यक्ति खाद्य उपलब्धतामा गिरावट, ऊर्जा स्रोतमा ह्रास, अत्यधिक प्रदूषण, जीवनस्तर खस्किने परिदृश्य प्रस्तुत गरिएका थिए । 

प्रतिवेदनको अचम्मित तुल्याउने निष्कर्षलाई कैयौँ दशकसम्म रुचाइएन । मानवीय रचनात्मकता एवं प्राविधिक विकासको अवमूल्यन हुने भन्दै धेरैले प्रतिवेदनका लेखकलाई प्रलयको हब्बा फैलाएको भनेर खारेज गरेका थिए । तर, गया हेरिंगटनको हालैको एक कामले ती वैज्ञानिकले प्रस्ताव गरेका चार परिदृश्यमध्ये पहिलो तीन परिदृश्य प्रयोगधर्मी आँकडासँग अत्यधिक मिल्न गएको देखाएको छ । र, यो अत्यन्तै चिन्ताजनक छ किनभने यी तीनमध्ये दुई परिदृश्यले शताब्दीको मध्यमा हुने महत्वपूर्ण पतन हुने देखाउँछ, जबकि तेस्रोले तुलनात्मक रूपमा सामान्य पतनको संकेत गर्छ । हेरिंगटनका अनुसार मानव जगत्ले सम्भाव्य नतिजाबारे थाहा पाउँदापाउँदै आफ्नै विकास सीमा तय गर्नुको सट्टा बेवास्ता गर्दै अघि बढेको छ ।

तर सबैथोक गुमिसकेको छैन अर्थात् पृथ्वीको प्राकृतिक सीमाभित्रै चौथो परिदृश्यले ठूला आर्थिक एवं सामाजिक परिवर्तनलाई ओगट्छ र त्यसले मानव कल्याणको अवस्था दर्साउँछ । यो परिदृश्य नै अर्थ फर अल नामक एक नयाँ प्रतिवेदनको आधार हो, जुन रोम्स ट्रान्सफर्मेसनल इकोनोमिक्स कमिसन (जसमा म पनि आबद्ध छु) र कम्प्युटर मोडेल समूहले सिर्जना गरेको हो । नयाँ प्रतिवेदनले सापेक्ष रूपमा स्थिर विश्वमा लोककल्याण अझै पनि सम्भव छ, तर त्यसका लागि आर्थिक संरचनामा महत्वपूर्ण समायोजन आवश्यक छ भन्ने दाबी गर्छ । प्रतिवेदनले विशेषतः खाद्य प्रणाली, ऊर्जा प्रणाली, गरिबी, असमानता र महिला सशक्तीकरणसहित ‘सबै क्षेत्रलाई विद्युतीकरण’ गर्न पाँच मुख्य उपाय सुझाउँछ । 

नयाँ प्रतिवेदनले यी प्रत्येक लक्ष्य पूरा गर्न ठोस र अन्तरसम्बन्धित रणनीतिको सिफारिस गर्छ । स्वाभाविक रूपमा यसले नयाँ बृहत् लगानीको माग गर्छ, जुन सार्वजनिक खर्चमा हुने तीव्र वृद्धिद्वारा सञ्चालित हुनेछ । तसर्थ, विशेषतः धनाढ्य र ठूला निगमका लागि कर बढाउने काम उच्च प्राथमिकतामा पर्नुपर्छ । कार्बन–डाइअक्साइड उत्सर्जन र अत्यधिक धनाढ्यको अनावश्यक उपभोग घटाउन खपत सीमित गर्न आवश्यक छ । त्यसबाहेक सिफारिसमा विश्वव्यापी तरलता सिर्जना गर्न र सार्वभौम–ऋण सम्बन्धित मामिलामा अल्पविकसित मुलुकका सरकारलाई थप वित्तीय स्थान दिनुपर्छ ।

‘अर्थ फर अल’ प्रतिवेदनले सापेक्ष रूपमा स्थिर विश्वमा लोककल्याण अझै पनि सम्भव छ, तर त्यसका लागि आर्थिक संरचनामा महŒवपूर्ण समायोजन आवश्यक पर्छ भन्ने दाबी गरेको छ 

विश्वव्यापी खाद्य प्रणाली स्पष्ट रूपमा छिन्नभिन्न छ । यस अवस्थामा दैनिक खाद्य बजार नियमन आवश्यक छ । र, खाद्य उद्योगमा मात्र नभई वस्तु तथा सेवाका लागि वित्त, श्रम, भूमि र बजारका साथै प्रकृति र वातावरणसँग सम्बन्धित विषयमा पनि थप व्यवस्थित एवं प्रभावकारी नियमन आवश्यक छ । हामीले नयाँ प्रविधिमा पहुँच बढाउन, ज्ञानको लोकतान्त्रिकीकरण र परम्परागत ज्ञानको पहिचान एवं साझेदारीका लागि नियमनको आह्वान गर्नुपर्छ । जनसंख्यास्तरलाई स्थिर गर्नका साथै सुखी, स्वस्थ र अधिक न्यायपूर्ण समुदायको सिर्जना गर्न महिला एवं श्रमिकलाई बढी अधिकार दिनु आवश्यक छ ।

त्यसबाहेक विशेषगरी दुई परिदृश्यमा केन्द्रित विश्वव्यापी मोडलिङ अभ्यासका निष्कर्ष अर्थ फर अल प्रतिवेदनमा प्रस्तुत गरिएका छन् । पहिलो ‘निकै कम निकै ढिलो’ हाम्रो हालको अवस्था हो, जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले प्रायः दिगोपन र जलवायु परिवर्तनबारे छलफल गर्छन्, तर बिरलै रूपान्तरणकारी कदम चाल्छन् । यस परिदृश्यले स्रोतसाधनको संघर्षमा राष्ट्र र जनता एकअर्काविरुद्ध हुँदा असमानता बढ्दै जाने र सामाजिक विश्वासमा कमी आउने देखाउँछ । पृथ्वीको जीवन चलायमान गर्ने प्रणालीमा (जलवायु, पानी, माटो र जंगल) पर्याप्त सामूहिक कार्यविना गिरावट जारी रहनेछ र यी प्रणाली फर्किन नमिल्ने बिन्दुनजिक पुग्नेछ वा पार गर्नेछ । पहिले नै गरिबीमा बाँचिरहेका धेरै मानिसका र धेरै प्रजातिका लागि पृथ्वीमा नर्क बन्ने अवस्था रहन्छ ।

यद्यपि ‘द जायन्ट लिप’ भनिएको दोस्रो परिदृश्यमा राजनीतिज्ञले पाँचवटा आधारभूत समायोजनलाई व्यवहारमा ल्याउने प्रयास गर्छन् र जनकल्याणलाई बढावा दिन उल्लेखनीय सुधार गर्छन् । यसको अर्थ गरिमा (अर्थात् सबैसँग सुरक्षा, स्वास्थ्य र सुरक्षामा बाँच्न सक्ने साधन होस्), प्रकृति (सबै प्राणीका लागि पुनस्र्थापित र सुरक्षित वातावरण) र सम्बन्ध (अर्थात् आबद्धताको भावना र संस्था, जसले साझा हित गर्छ) सुनिश्चित हुनु हो । यसबाहेक धनी र गरिबबीचको खाडलमा ठूलो कमी ल्याउने तथा सक्रिय रूपमा भुइँतहको समुदाय र अर्थतन्त्रमा संलग्न नागरिकको सहभागिता पनि सुनिश्चित गर्नु हो । 

निःसन्देह दोस्रो परिदृश्य हासिल गर्न सहज हुनेछैन । यसले राजनीतिक इच्छाशक्तिका साथै सरकारले विश्वलाई हेर्ने दृष्टिकोणमा आधारभूत परिवर्तनको माग गर्छ र यो सार्वजनिक दबाब एवं व्यापक जनपरिचालनविना सम्भव छैन । यदि यसो नहुने हो भने विश्व वातावरणीय विनाश, ठूलो आर्थिक असमानता र सम्भावित असह्य सामाजिक एवं राजनीतिक द्वन्द्वमा झोसिने अवस्थामा पुग्छ । तसर्थ अर्थ फर अल एक प्रतिवेदन मात्र नभई पहलकदमीको आह्वान हो ।  
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार