तीन दिनमै ८१ अंकले बढ्यो नेप्से

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

नेप्से सूचक बिहीबार १४ दशमलव ७१ अंकले बढेर दुई हजार एक दशमलव ५३ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ७८ अंकले बढेर तीन सय ८३ दशमलव १४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक एक हजार नौ सयको मनोवैज्ञानिक परीक्षणबाट एक तहमाथि उक्लिएको छ । 

लगानीकर्ताले मौद्रिक नीतिप्रति सकारात्मक अपेक्षा राख्दा बजारमा निरन्तर सुधार हुँदै आएको छ । मंगलबारदेखि बिहीबारसम्ममा बजार ८१ दशमलव ९३ अंकले बढेको छ । लामो समय बजारमा करेक्सन आएपछि केही सकारात्मक बने पनि दीर्घकालीन आधार तय नभएको एक ब्रोकरले बताए । उनले भने, ‘अहिले बढेको बजारलाई दीर्घकालीन बढ्छ भन्न सकिँदैन । मौद्रिक नीति र नयाँ आर्थिक वर्षपछि बजारले एउटा बाटो निर्धारण गर्ने अपेक्षा राख्न सकिन्छ ।’

दोहोरो अंकले बढेको बजारमा दुई अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दुई सय २० कम्पनीको ६२ लाख १० हजार कित्ता सेयर खरिद हुँदा उक्त रकमबराबरको कारोबार भएको हो । बिहीबार एनआइसी एसिया बैंक र अपर तामाकोसीको हाइड्रोपावरको कारोबार बढी भएको छ । बैंकहरू एकपछि अर्को गरी मर्जरमा गइरहँदा लगानीकर्ता बैंकको सेयर खरिदमा आकर्षित भएका हुन् । एनआइसी एसिया बैंकको ३० करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने अपर तामाकोसी हाइड्रोपावरको १४ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर ६ करोड रुपैयाँदेखि आठ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

बढेको बजारमा प्रुडेन्सियल इन्स्योरेन्स, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, समिट लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था र नेपाल एसबिआई बैंकको सेयर मूल्य २ प्रतिशतदेखि ५ प्रतिशतले घटेको छ । एनआइबिएल प्रगति फन्ड, प्रभु सेलेक्ट फन्ड, अपर तामाकोसी हाइड्रोपावर, नबिल ब्यालेन्स फन्ड, रिभरफल्स पावर र बोटलरर्स नेपाल (तराई)को सेयर मूल्य ६ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचकमध्ये जलविद्युत् समूहको सूचक २ प्रतिशतले बढ्दा माइक्रो फाइनान्स र फाइनान्स समूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । 

See More On

सुझावित समाचार