उपसभामुख रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखका लागि निर्वाचन हुँदै छ । ६ माघ ०७६ मा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएयता पद रिक्त रहेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ३१ असारमा उपसभामुखका लागि मतदान गर्ने सार्वजनिक गरेका हुन् । त्यससँगै संघीय संसद् सचिवालयले बुधबारै दुईदिने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार ३० असारमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्याइएको छ । यसरी सूचना दर्ता गर्न ३० असार बिहान ११ देखि १ बजेसम्मको समय छ । निर्धारित समयमा दर्ता भएका सूचनालाई मात्र क्रमअनुसार सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ ।
३० गते दर्ता भएको नाममाथि ३१ गते प्रतिनिधिसभा बैठकमा मतदान हुनेछ ।
संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । तत्कालीन नेकपाको सभामा स्पष्ट बहुमत रहेकाले नेकपाले नै सभामुख पाउने निश्चित थियो । त्यसवेला उपसभामुख रहेकी तुम्बाहाम्फेले आफूले सभामुख बन्न पाउनुपर्ने माग राख्दै आए पनि तत्कालीन प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको सहमतिमा तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएको थियो । एउटै दलले सभामुख र उपसभामुख बन्न नपाउने संवैधानिक व्यवस्था रहेकाले नेकपाले उपसभामुखबाट तुम्बाहाम्फेलाई राजीनामा गराएको थियो ।