मौद्रिक नीतिको तयारी अन्तिम चरणमा

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण
मौद्रिक नीतिको तयारी अन्तिम चरणमा

महाप्रसाद अधिकारी गभर्नर, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले यही साता आगामी आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । राष्ट्र बैंकले अहिले मौद्रिक नीति केन्द्रित गरेर छलफल गर्ने, सुझाव लिने तथा उपलब्ध तथ्यांकहरूको विश्लेषण गर्ने काम गरिरहेको छ । यसै सन्दर्भमा नयाँ पत्रिकाले सोमबार ‘आगामी मौद्रिक नीति’बारे राष्ट्र बैंक र सरोकारवालासहितको सहभागितामा अन्तर्क्रिया गरेको छ । अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले के भने ? 

विकास र स्थायित्वलाई सन्तुलन राख्नु महत्वपूर्ण छ

हामी आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीको अन्तिम चरणमा छौँ । देशको अर्थतन्त्रबारे हामी सबै जानकार नै छौँ । केन्द्रीय बैंकलाई मौद्रिक नीति तयार गरिरहँदा केही न केही द्विविधा स्वाभाविक रूपमा हुन्छ नै ।

केन्द्रीय बैंकलाई समष्टिगत आर्थिक स्थिरता कायम गर्ने क्रममा एकातिर देशको विकासलाई सघाउने र अर्काेतिर स्थिरता कायम गर्ने दायित्व हुन्छ ।

हामी सबैले सानो छँदा सुन्थ्यौँ, ‘एउटी छोरीले घाम माग्दै आउने, अर्कीले पानी : म एउटा बूढो कतातिर जानी ?’ भनेजस्तै एकातिर केही व्यवसायीले आयात खुलाउन भन्नुहुन्छ, अर्काे व्यवसायीले हुँदैन भन्नुहुन्छ । यो अवस्था सामना गर्नैपर्छ । 

केन्द्रीय बैंकलाई समष्टिगत आर्थिक स्थिरता कायम गर्ने क्रममा एकातिर देशको विकासलाई सघाउने र अर्काेतिर स्थिरता कायम गर्ने दायित्व हुन्छ । यी दुवै पारस्परिक विरोधाभासपूर्ण विषय हुन् । यसबीचको सन्तुलन कायम गर्नु महत्वपूर्ण पाटो हो । म कम बोल्ने मान्छे हुँ, तर सामाजिक सञ्जालमा धेरै बोल्यो भन्ने टिप्पणी पनि देखिन्छ ।

सबै विषय नकारात्मक मात्रै छैनन् । सतर्क हुनुपर्छ । ठूला मुलुकहरूलाई पनि समस्या परिरहेको छ । अहिलेको मुख्य विषय बढिरहेको चालू खाता घाटा पूर्ति गर्ने हो । आयातलाई प्रतिस्थापन कसरी गर्ने भन्ने नै हो । मौद्रिक नीतिका लागि हामीले अहिले छलफल गर्ने, सुझाव लिने काम गरिरहेका छौँ । धेरै नबोलौँ, निजी क्षेत्रको सुझावलाई सम्बोधन गर्ने यथेष्ठ प्रयास गर्ने छौैँ ।

सुझावित समाचार