सेयर बजारमा ७७ अंकको गिरावट : सबै समूहका सूचक घट्दा पनि कारोबार दुई अर्ब ३२ करोड

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

सोमबार नेप्से परिसूचक ७७ दशमलव शून्य एक अंक अर्थात् तीन दशमलव ८६ प्रतिशतले घटेर एक हजार नौ सय १५ दशमलव ६१ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १३ दशमलव शून्य तीन अंकले घटेर तीन सय ६६ दशमलव ८६ अंकमा आइपुगेको छ । नेप्से परिसूचक दुई हजारको मनोवैज्ञानिक बिन्दुबाट तल खसेसँगै बजारमा उच्च अंकको गिरावट आइरहेको छ । नेप्सेले एक हजार नौ सयको मनोवैज्ञानिक परीक्षण गरिरहेको छ । एक हजार नौ सयको मनोवैज्ञानिक परीक्षणसँगै बजारमा निरन्तर उच्च अंकले गिरावट आएको हो । लगानीकर्ताको ध्यान साउनमा आउने मौद्रिक नीतितर्फ केन्द्रित छ । त्यसका लागि लगानीकर्ताले आफ्ना माग सम्बोधन गर्न आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

यतिवेला लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेकाले सेयर खरिद–बिक्री गर्न हतारिएका देखिँदैनन् । यद्यपि, साना लगानीकर्ताले प्यानिक सेलिङ गर्दै नगरेका भने होइनन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ६३ लाख १३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ३२ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।घटेको बजारमा हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक, अपर तामाकोसी हाइड्रोपावर, एसियन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सात करोड रुपैयाँदेखि ११ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै घट्नेमा फाइनान्स समूह, जलविद्युत् समूह र ट्रेडिङ समूहका सूचक रहेका छन् । यी समूहको सूचक पाँच प्रतिशतभन्दा बढीले घटेको छ । अन्य समूहको सूचक २ प्रतिशतदेखि चार दशमलव ७४ प्रतिशतसम्मले घटेको छ ।उच्च अंकले बजार घट्दा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई समुन्नत स्किम, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट कम्पनीको सेयर ८ प्रतिशतदेखि नौ दशमलव १५ प्रतिशतले घटेको छ ।

 ५२ लाख लगानीकर्ताको उद्धार गर्न महासंघका अध्यक्षको माग
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैलाई समेट्ने गरी मौद्रिक नीति ल्याउन अन्तिम तयारी रहेको बताएका छन् । अधिकारीले नयाँ पत्रिका दैनिकले गरेको मौद्रिक नीति विषयक छलफलमा यस्तो बताएका हुन् । त्यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले  ५२ लाख लगानीकर्ता बजार घटेर अहिले संकटमा रहेकाले ती लगानीकर्ताको उद्धार गर्न राष्ट्र बैंक र धितोपत्र बोर्डले ठोस निर्णय गर्न आवश्यक वेला आएको बताए । 

सुझावित समाचार