नेपाल ४० रनले पराजित

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । स्कटल्यान्डको आयर मैदानमा सोमबार नामिबियाले पहिलो ब्याटिङ गरी ४७.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २० रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल ४६.५ ओभरमा एक सय ८० रनमा अलआउट भयो । हारसँगै अंक तालिकामा नेपाल छैटौँ स्थानमा झरेको छ । नेपालमाथि सहज जित निकालेको नामिबिया १६ अंकका साथ पाँचौँ स्थानमा उक्लेको छ । नामिबियाले १६ तथा नेपालले १५ अंक जोडेको छ । लक्ष्य पछ्याएको इनिङमा नेपालका लागि आरिफ सेखले मात्र उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । 

उनले ८४ बलमा ५० रनको अर्धशतकीय योगदान दिँदा दुई चौका प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २७ रन तथा देव खनालले ३४ रन बटुले । देवले ६५ बलमा दुई चौका र कुशलले ४६ बलमा २७ रन बनाए । नेपालका अलराउन्डर करण केसीले ११ बलमा दुई चौका र एक छक्का प्रहार गरी १९ रन बटुले । यसअघि टस हारी पहिलो ब्याटिङ गरेको नामिबियाका लागि छैटौँ क्रमका ब्याट्सम्यान जान निकोला इटोनले सर्वाधिक ६० रनको योगदान दिएका थिए । उनी क्रिजमा आउँदा नामिबिया १२२–५ को अवस्थामा थियो । जान निकोलले लगातार तीन विकेटका लागि गतिलो साझेदारी गर्दै नामिबियालाई दुई सय रनको योगफल कटाए । 

जान निकोलले जे स्मिटसँग २२ रनसँग छैटौँ विकेटका लागि साझेदारी गर्दै नामिबियालाई ३४.६ ओभरमा १४४–६ को स्थितिमा राखे । स्मिटले १४ बलमा समान एक चौका र छक्का प्रहार गरी १७ रनको योगदान दिए । स्मिट सन्दीप लामिछानेको ओभरमा कट एन्ड बोल्ड भए । जान निकोलले डेभिड बिएसेसँग साताँै विकेटका लागि ५० रनको साझेदारी गर्दै नामिबियालाई ४२.६ ओभरमा १९४–७ को अवस्थामा राखे । डेभिडले २३ बलमा दुई चौकाको सहयोगमा १७ रनको योगदान दिए । बलिङका क्रममा सन्दीपले दश ओभरमा ५४ रन खर्चेर चार विकेट हात पारे । यसैगरी, सोमपालले ४४ रनमा दुई विकेट लिए । 

बसिरको डेब्यु
नेपालबाट स्पिनर बसिर अहमेदले नामिबियाविरुद्ध डेब्यु गरेका छन् । करणसँगै बसिरले पहिलो स्पेलमा बलिङ अवसर गर्न पाए । उनले आफ्नो डेब्यु खेलमा ७.३ ओभर बलिङ गरी १८ रन खर्चेर एक विकेट लिए । उनले वान फ्याक्लिनलाई बोल्ड गर्दै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय विकेट लिएका हुन् । ब्याटिङका क्रममा उनले नौ बलमा तीन रन बनाए । 

सुझावित समाचार