कक्षाकोठामै शिक्षकले काटे विद्यार्थीको कपाल तर शिक्षकले नै लगाएका थिएनन् तोकिएको पोसाक

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

तिला गाउँपालिका–८ जुम्लाकोटस्थित देउराली माध्यमिक विद्यालयमा कपाल नै नकाटी आएका विद्यार्थीहरूको कपाल शिक्षक आफैँले कक्षाकोठामै काटिदिएका छन्। कक्षाकोठामै विद्यार्थीको कपाल काट्ने ती शिक्षकले भने सरकारले तोकेको पोसाक लगाएका छैनन्।

सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थी दुवैका लागि अनिवार्य पोसाकको व्यवस्था गरेको छ। शिक्षक–विद्यार्थीले अनुशासन र सरसफाइसहित अनिवार्य रूपमा पोसाक लगाएर विद्यालय आउनुपर्ने हुन्छ। तर जुम्लाका विद्यालयहरूमा विद्यार्थीभन्दा शिक्षकले नै पोसाक नियमलाई उल्लंघन गर्ने गर्दछन्।

सबै विद्यार्थीहरूले कपाल काटेर विद्यालयको पोसाकमा आउन निर्देशन गरिएको भन्दै र कपाल नकाटेका विद्यार्थीको कपाल शिक्षक आफैँले कक्षाकोठामै काट्दै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको छ। 

देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक रामभजन यादवका अनुसार विद्यार्थीलाई कपाल काटेर आऊ भनेर हप्ता दिनअघि नै सम्झाउँदै आएको र उनीहरूले नकाटेपछि शिक्षक आफैँले काटिदिएका हुन्। उनले भने, ‘अनुशासन पालन गराउनका लागि कक्षाकोठामै कपाल काटेका हौँ।’

सुझावित समाचार