प्रधानमन्त्री देउवासँगको भेटमा अन्तर्राष्ट्रिय परिवेश, एक चीन–नीति र द्विपक्षीय सम्बन्धबारे छलफल

चिनियाँ कम्युनिस्ट पार्टीका नेता नेपालमा

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्री देउवासँगको भेटमा अन्तर्राष्ट्रिय परिवेश, एक चीन–नीति र द्विपक्षीय सम्बन्धबारे छलफल

लिउ जियान्चाओ, चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख (मन्त्री)

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख (मन्त्री) लिउ जियान्चाओले पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन् । आइतबार नेपाल आएकै दिन लिउले पहिलो राजनीतिक भेट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेका छन् । चीन सरकारको क्याबिनेट मन्त्रीसरह हैसियतका लिउले १८ जेठमा पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागको नेतृत्व सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो । 

भेटमा प्रधानमन्त्री देउवाले एक चीन–नीतिप्रति सरकार र कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्दै चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने वचन दिएका छन् । भेटमा सहभागी कांग्रेस नेता एवं पूर्वराजदूत डा. दिनेश भट्टराईले प्रधानमन्त्री देउवाले लिउलाई नेपालका तर्फबाट एक चीन–नीतिबारे आश्वस्त पारेको बताए । ‘प्रधानमन्त्री एवं पार्टी सभापतिका तर्फबाट एक चीन–नीतिप्रति हाम्रो प्रतिबद्धता पुनर्पुष्टि गरिएको छ र उहाँहरूलाई प्रधानमन्त्रीले नेपाली भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने पनि आश्वस्त पार्नुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध, दुई देशको सम्बन्ध र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशबारे छलफल भएको भट्टराईले जानकारी दिए । रुस–युक्रेन युद्ध, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भएको थियो । ‘कुराकानी दुई पार्टीबीचको सम्बन्धमा बढी केन्द्रित थियो,’ भट्टराईले भने, ‘त्यसबाहेकका द्विपक्षीय विषयमा पनि छलफल भयो ।’ कूटनीतिक सम्बन्धको ६० वर्षमा दुई देशले विश्वास र भरोसायोग्य मित्रता अघि बढाएको भन्दै चिनियाँ नेताले देउवालाई बताए । 

एक चीन–नीतिप्रति प्रतिबद्धता जनाउने क्रममा देउवाले चिनियाँ नेतालाई आफू विगतमा प्रधानमन्त्री हुँदा तिब्बती धर्मगुरु दलाई लामाको काठमाडौंस्थित प्रतिनिधिको कार्यालय बन्द गराएको स्मरण गराएका थिए । यसप्रति चिनियाँ नेता लिउले प्रशंसा गरेका थिए । उनले कांग्रेससँग चीन सरकार र चिनियाँ पार्टीको सम्बन्ध पुरानो रहेको र थप मजबुत गर्ने चाहना राखेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसलगायत सबै नेपाली राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध आदान–प्रदान कायम गर्दै आएको छ, कांग्रेससँगको सम्बन्ध हाम्रो प्राथमिकतामा छ ।

‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसलगायत सबै नेपाली राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध आदान–प्रदान कायम गर्दै आएको छ, कांग्रेससँगको सम्बन्ध हाम्रो प्राथमिकतामा छ,’ लिउले देउवासँग भनेका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न २०औँ महाधिवेशनबारे पनि जानकारी गराएका थिए । चिनियाँ नेता लिउले नेपाल र चीनलाई हिमाल र नदीले जोडेको र दुई देश साझा भविष्यका विकास साझेदार रहेको उल्लेख गरेका थिए । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच मित्रता रणनीतिक साझेदारीमा स्तरोन्नति भएको भन्दै उनले विगतका सहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताएका थिए । 

प्रधानमन्त्री देउवासँगको भेटवार्ताबारे परराष्ट्रद्वारा जारी विज्ञप्तिमा नेपाल र चीनबीच पारस्परिक रुचिका विषयमा छलफल भएको उल्लेख छ । तीनदिने भ्रमणका क्रममा आएका लिउले आइतबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गरेका छन् । खड्काले चिनियाँ प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज दिएका छन् । परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ नेताको कुराकानीमा दुई देशको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ । 

यसअघि चिनियाँ नेता लिउले नेपाली नेतासँगको भिडियो संवादको सुरुवात माओवादी अध्यक्ष प्रचण्डबाट गरेका थिए । उनले ९ असारमा प्रचण्डसँग, १० असारमा एमाले अध्यक्ष ओलीसँग र १६ असारमा कांग्रेस नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भिडियो संवाद गरेका थिए । ओली र प्रचण्डसँग भएको दुई दिनको भर्चुअल संवादबारे सिपिसीले १० असारमा एउटै प्रेस नोटमा समावेश गरेको थियो । 

एमाले र माओवादीसँग आपसी सहयोगसम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको सिपिसीको वेबसाइटमा उल्लेख छ । चिनियाँ नेता लिउले एमाले र माओवादीसँग सिपिसीको समान धारणा र भावना रहेको भन्दै अन्तरपार्टी आदान–प्रदान थप सुदृढ हुने पनि उल्लेख गरेका थिए । दुई पार्टीहरूसँग सिपिसीले सम्बन्ध थप सुदृढ बनाउने र जनताबीचको सम्बन्ध पनि प्रगाढ बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री एवं पार्टी सभापतिका तर्फबाट एक चीन–नीतिप्रति हाम्रो प्रतिबद्धता पुनर्पुष्टि गरिएको छ र उहाँहरूलाई प्रधानमन्त्रीले नेपाली भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने पनि आश्वस्त पार्नुभएको छ । डा. दिनेश भट्टराई, पूर्वराजदूत

दुई देश र पार्टीहरूले एक–अर्काको चासो सम्बोधन गर्नुपर्ने तथा सम्बन्धको स्वस्थ र स्थिर विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले ओली, प्रचण्ड र खड्कालाई सिपिसीको आसन्न २०औँ महाधिवेशनबारे जानकारी दिएका थिए । ‘पार्टी महाधिवेशनले नेपाल र चीन सम्बन्धको विकासमा नयाँ गति दिनेछ,’ लिउको भनाइ थियो । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कार्यान्वयन नगर्नेबारे सरकारको निर्णय आएको तीन सातापछि चिनियाँ नेता नेपाल भ्रमणमा आएका छन् । ६ असारमा मन्त्रिपरिषद्ले एसपिपी स्वीकार नगर्ने निर्णय गरेको थियो । यद्यपि, त्यसको अमेरिकालाई पत्राचार गर्न बाँकी छ । 

तीन पार्टीका नेताद्वारा स्वागत 
चिनियाँ नेता लिउलाई परराष्ट्रका शिष्टाचार अधिकारीबाहेक कांग्रेस, एमाले र माओवादीका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । कांग्रेसबाट डा. दिनेश भट्टराई, एमालेबाट राजन भट्टराई र माओवादीबाट नेता सुरेन्द्र (राम) कार्की विमानस्थल पुगेका थिए । चिनियाँ नेता लिउले सोमबार माओवादी अध्यक्ष प्रचण्ड र मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटालगायतका नेतासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
 

सुझावित समाचार