लगानीकर्ताको ध्यान मौद्रिक नीतितर्फ केन्द्रित हुँदा सातामा नेप्से ३६ अंकले घट्यो

सबै समूहका सूचक घट्दा कारोबार रकम २९ प्रतिशतले बढ्यो

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

गत साता आइतबारदेखि शुक्रबारसम्म ६ दिनै खुलेको बजारमा नेप्से परिसूचक ३७ दशमलव १५ अंकले गिरावट भएको छ । एक दशमलव ७८ प्रतिशतको नोक्सानपछि नेप्से परिसूचक एक हजार नौ सय ९२ दशमलव ६२ बिन्दुमा आइपुगेको हो ।

अघिल्लो साता नेप्से दुई हजार २८ दशमलव ७७ बिन्दुमा बन्द भएको थियो । गत साता कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सूचक पाँच दशमलव २१ प्रतिशतले घटेको छ भने ‘अन्य’ समूहको सूचकमा ३ प्रतिशतले गिरावट आएको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स दुई दशमलव २५ प्रतिशतले घटेको छ । अघिल्लो साता तीन सय ८८ दशमलव ६२ बिन्दुमा आएको सूचक घटेर तीन सय ७९ दशमलव ८८ बिन्दुमा आइपुगेको छ । यस साता नेप्से सूचक दुई हजार एक सय ४८ दशमलव १६ सम्मको उच्चतम बिन्दुसम्म पुगेर एक हजार नौ सय ९२ दशमलव ६२ को न्यूनतम बिन्दुसम्म आइपुग्दा हप्ताभरिमा नेप्सेले एक ५५ दशमलव ५४ अंकको अस्थिरता देखाएको छ ।  

यतिवेला लगानीकर्ताको ध्यान मौद्रिक नीतितर्फ केन्द्रित छ । १९ बुँदे माग राख्दै आन्दोलनदेखि अनशनसम्म बसेर लगानीकर्ताले मौद्रिक नीतिमार्फत नीतिगत सुधारको अपेक्षा राखेका छन् ।  

२९ प्रतिशत बढ्यो कारोबार रकम
अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम २९ प्रतिशतले बढेको छ । यस हप्ता १४ अर्ब ९५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो हप्ता १० अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यस हप्ता औसत दैनिक सेयर कारोबार रकम दुई अर्ब ४९ करोड रहेको छ भने अघिल्लो हप्ता एक अर्ब ७७ करोड रुपैयाँ औसत सेयर कारोबार भएको थियो ।

विशेष गरी यस हप्ता सबैभन्दा बढी सेयर खरिद–बिक्री शिवम् सिमेन्ट कम्पनीको भएको छ । कम्पनीको ५४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यसैगरी, हिमालयन डिस्टिलरी, अरुण काबेली पावर, अपर तामाकोसी हाइड्रोपावर, न्यादी ग्रुप पावर कम्पनीको सेयर ३८ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले यस हप्ता सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । ४६ दशमलव ४ प्रतिशतले बढ्दा यस संस्थाले नाफा आर्जन गरेको हो । त्यस्तै, नाफा आर्जन गर्ने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावर आँखु खोला लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले नाफा आर्जन गर्न सफल भएका छन् ।

बजार उत्तारचढावमा आइरहँदा सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले सातामा ४३ प्रतिशतले नोक्सान व्यहोरेका छन् । बैंक अफ काठमाण्डूको ऋणपत्र, ग्लोबल आइएमई बैंकको ऋणपत्रले पनि नोक्सान व्यहोरेका हुन् ।

See More On

सुझावित समाचार