अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ शुक्रबारदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वमा विभिन्न राष्ट्रमा ट्रफी टुर गराउने जनाएको छ । यसै सिलसिलामा १४ भदौमा विश्वकपको ट्रफी काठमाडौं ल्याइने भएको छ ।
काठमाडौंमा दुई दिन ट्रफी राखिनेछ । आइसिसीले काठमाडौंका कुन–कुन स्थानमा ट्रफी राख्ने जनाएको छैन । काठमाडौंपछि ट्रफी सिंगापुर लगिनेछ । टी–२० विश्वकप ट्रफी टुरअन्तर्गत १३ देशका ३५ स्थानमा राखिनेछ । आइसिसीले नेपालसँगै फिजी, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर, फिनल्यान्ड र भानुआटुमा पहिलोपटक टी–२० विश्वकपको ट्रफी टुर गराउन लागेको छ ।
आइसिसीले ट्रफी टुरको दौरानमा समर्थकलाई फोटो खिच्ने अवसर पाउने जनाएको छ । अस्ट्रेलियाका विभिन्न सात सहरमा हुने प्रतियोगिता १६ अक्टोबरमा सुरु हुनेछ । मेलबर्न मैदानमा १३ नोभेम्बरका दिन फाइनल हुनेछ । प्रतियोगितामा १६ टोलीबीच ४५ खेल हुनेछन् । प्रतियोगितामा सहभागी १४ टोलीको छिनोफानो भइसकेको छ । अब दुई टोली मात्र विश्वकपमा पुग्न बाँकी छन् ।
अस्ट्रेलियामा हुने विश्वकप छनोटमा नेपालले सहभागिता जनाएको थियो । तर, नेपाल सेमिफाइनलबाटै बाहिरिएपछि विश्वकपमा पुग्न सकेन । नेपाल सेमिफाइनलमा युएईसँग पराजित भएको थियो ।