पूर्वी पहाडी जिल्ला संखुवासभाको सभापोखरीमा मुस्ताङबाट च्यांग्रा ल्याएर पाल्न सुरुवात गरिएको छ । जिल्लामा नै पहिलोपटक च्यांग्रापालन व्यवसाय सुरुवात गरिएको हो ।
सभापोखरी गाउँपालिकाको वडा नम्बर ५ र ६ का सक्रिय युवाहरू शेरबहादुर खड्का र यम सुब्बाले व्यावसायिक रूपमा च्यांग्रापालन व्यवसाय सुरुवात गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोख्रेलले बताए ।
उनका अनुसार च्यांग्रा प्रवद्र्धन कार्यक्रमका लागि ससर्त अनुदान १५ लाख रुपैयाँ रहेको थियो । सोही कार्यक्रमअन्तर्गत जिल्लामा नै पहिलोपटक परीक्षणका रूपमा च्यांग्रापालन व्यवसाय सुरुवात गरिएको हो । प्रायःजसो च्यांग्रा समुद्री सतहको दुई हजार पाँच सयदेखि तीन हजार मिटरको उचाइमा हुने कार्यालय प्रमुख पोख्रेलको भनाइ छ ।
उनले संखुवासभामा नै पहिलोपटक च्यांग्रा पाल्न थालिएकाले हुन्छ–हुँदैन भन्ने परीक्षणका लागि पनि च्यांग्रा पाल्न सुरुवात गरिएको बताए । सभापोखरीको माथिल्लो भेगको दुई हजार पाँच सयदेखि तीन हजार मिटरको उचाइमा नै च्यांग्रा पाल्न थालिएको हो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट उक्त च्यांग्राहरू संखुवासभा ल्याइएको हो । मुस्ताङबाट पोखरा ल्याउँदा बाटोमा नै १० वटा च्यांग्रा मरेका र ५९ वटा मात्रै च्यांग्रा संखुवासभा आइपुगेका पोख्रेलले बताए ।
५९ वटा च्यांग्रामध्ये ५७ वटा प्रजननयोग्य माउ र दुईवटा प्रजननयोग्य बिउ बोका रहेको कार्यालयले जनाएको छ । सभापोखरी गाउँपालिकाको कोक्तासिङ, फाकुवा देउराली, धापेल, बलौटे ओडारे, चित्रे, हङ्दो, सेलेले फेलेले, बिखबारी, तोरीबारी, सिद्देढुंगा, गिद्दे, साउनेचुलीका खर्कहरूमा च्यांग्रापालन गर्न सकिने सम्भावना रहेको छ ।