भेरी अस्पतालका चिकित्सकले अग्रिम हाजिरी गरेको फेला

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

अस्पतालको सिफारिस कार्यान्वयन गर्दैन स्वास्थ्य मन्त्रालय

सरकारले तोकेको ड्युटी पूरा नगरेको भन्दै नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिले वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागलाई कारबाहीको सिफारिस गरी गत २२ साउनमा स्वास्थ्य मन्त्रालयलाई पठायो । अस्पताल विकास समितिले कारबाही सिफारिसबारे वेलावेला ताकेता पनि गर्यो । कारबाहीको सिफारिस गरी पठाएको पत्रको जवाफ आउने आशामा वर्ष दिन पुग्नै लाग्दा डा. नागले २० असारमा अस्पताल गएर २९ असारसम्मको अग्रिम हाजिरी गरेर फर्किएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए । 

नागले नेपालगन्ज उपमहानगरपालिका– ११ मा वैष्णवी अस्पताल सञ्चालन गरेका छन् । उनले भेरी अस्पतालमा भन्दा आफ्नो निजी अस्पतालमा बढी समय दिने गरेका छन् । उनले आफ्नो ड्यूटी पूरा नगर्दा बिरामी उपचारबाट वञ्चित हुँदै आएका छन् ।

वरिष्ठ चिकित्सकलाई भेरी अस्पतालमा हप्तामा दुई दिन मात्रै पालो पर्ने गर्छ । त्यही ड्युटी समयमा पनि उनले लापरबाही गर्ने गरेको अस्पताल विकास समिति सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । ‘आफ्नै अस्पतालमा समय दिने र भेरी अस्पतालमा नियमित रूपमा ड्युटी नगरेर हाजिरी गर्ने विषय धेरै पहिलादेखि नै उठेको थियो । हामीले अनुसन्धान गरेर कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरी पठायौँ, तर एक वर्ष बित्न लाग्दा पनि कुनै सुनुवाइ भएन,’ उनले भने । 

२० असारमा अस्पताल आएका डा. नागले २९ असारसम्मको एकमुष्ठ हाजिरी गरेको फेला परेपछि समितिले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको उनले बताए । 

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल हो । यहाँका सबैजसो चिकित्सकको अस्पताल र क्लिनिक छ । भेरी अस्पतालले दिएको ड्युटी समयमा चिकित्सकहरू नभेटिने गरेको गुनासो बिरामीले गर्दै आएका छन् । ‘बिरामीको गुनासोलाई मध्यनजर गरी गुनासा आएका चिकित्सकका बारेमा अध्ययन–अनुसन्धान भइरहेको छ । आफ्नो ड्युटी पूरा नगर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानुनबमोजिम कारबाही हुन्छ,’ अध्यक्ष धितालले भने, ‘अस्पताल विकास समिति निर्मम भएर एक्सनमा उत्रिएको छ ।’
 

सुझावित समाचार