नेपाली युवा उद्यमी मञ्चको नयाँ राष्ट्रिय परिषद् गठन

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

नेपाली युवा उद्यमी मञ्च (एनवाइएएफ)मा नयाँ राष्ट्रिय परिषद् गठन भएको छ । युवा व्यवसायी रितेश लामिछानेको अध्यक्षतामा परिषद् गठन भएको हो ।

काठमाडौंमा भएको १८औँ वार्षिक साधारणसभाले गठन गरेको परिषद्मा निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ, प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष निभिता प्रधान चयन भएका छन् ।

त्यस्तै, कार्यकारी सदस्यहरूमा सुदीप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभूषण ज्योति कंसाकार र पुनीत वैद्य चयन भएको एनवाइइएफले जनाएको छ । मुख्य विषयवस्तु ‘इन्ह्यान्स’ रहेको साधारणसभाले निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरू आयोजना गरिएको जनाइएको छ ।

जसमा सदस्यहरूको सञ्जाल, च्याप्टर सबलीकरण, संस्थाको गन्तव्य र तीनवटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गर्नु रहेको जनाइएको थियो । कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए । कार्यक्रममा मुख्य अतिथिका रूपमा उद्योगपति चन्द्रप्रसाद ढकाल, नेपाल सुन्दरी प्रियंकारानी जोशी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको जनाइएको छ । 

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष लामिछानेले यस वर्ष सम्पूर्ण च्याप्टरहरूलगायत काठमाडौंमा बृहत् मेड इन नेपाल प्रदर्शनी गर्ने प्रतिबद्धता जनाएका थिए । अन्य सदस्यहरूले युवाहरूमाझ उद्यमशीलतामा जोड दिँदै मञ्चको मूल्य–मान्यताअनुसार लक्ष्य प्राप्तिमा एकताबद्ध भएर अगाडि बढ्ने अठोट व्यक्त गरेका थिए । 

एनवाइइएफले निरन्तर रूपमा युवा उद्यमीहरूलाई विभिन्न कायक्रममार्फत सहयोग गरिरहेको जनाएको छ । यसमा महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्वकप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिङजस्ता कार्यक्रमहरू आयोजना भएको जनाइएको छ । 

सुझावित समाचार