निजी कम्पनीले फोहोर व्यवस्थापनको जिम्मा लिएपछि कामबाट निकालिए १४ सफाइ मजदुर

१७ वर्ष बिर्तामोडको फोहोर उठाए, निजी कम्पनीले लिएपछि मजदुर अयोग्य भए

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

झापा बिर्तामोड–६ का वीरेन्द्र मल्लिकले बिर्तामोडको फोहोर उठाउन लागेको १७ वर्ष भयो । अनारमनी गाविस हुँदादेखि नै उनले बिर्तामोड सहरको फोहोर उठाएका हुन् । बिर्तामोड नगरपालिकाले एक वर्षअघि निराकार सरसफाइ प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मा दियो । निराकारले मल्लिकलाई करिब एक वर्ष जसोतसो काममा लगायो । तर, गत जेठमा उनलाई कामबाट निकाल्यो । जबकि, नगरपालिका र निराकारको सम्झौतामा नगरपालिकादेखि नै काम गरेका मजदुरलाई खाइपाई आएको सुविधा दिएर काममा निरन्तरता दिनुपर्ने उल्लेख छ ।

तर, उनलाई काम गर्न नसकेको भन्दै कामबाट निराकारले निकाल्यो । ‘१७ वर्षदेखि बिर्तामोडको फोहोरसँग खेलियो । गाविस हुँदादेखि नै काम गरेँ । जिउभर किरैकिरा हुन्थ्यो । अहिले आएर हामीलाई काम गर्न सक्दैनौ भनेर निकालियो,’ वीरेन्द्र भन्छन्, ‘सकेको काम गरेकै थियौँ । तर, अरू मान्छे राख्न बहाना निकाल्यो ।’ १७ वर्ष काम गर्दा उनको पारिश्रमिक १५ हजार रुपैयाँ पुगेको थियो । यतिका वर्ष काम गर्दा पनि नगरपालिकाबाट नियुक्तिपत्र पाएका थिएनन् । बिर्तामोड नगरपालिकाले सफाइ मजदुरको रूपमा दिएको परिचयपत्र भने उनको हातमा छ । ‘यत्रो वर्ष काम गरेर अब त केही हुन्छ कि भन्ने लागेको थियो । तर, फोहोरसँग जुधेको उपहार त कामबाटै निकाल्यो,’ उनले भने । 

वीरेन्द्र मात्र हैन, वर्षौंदेखि बिर्तामोड नगरपालिकाको फोहोर उठाउँदै आएका १४ जनालाई निराकारले जेठ र असारमा कामबाट निकालेको छ । ‘काम गर्न सक्दैनौ भनेर निकाल्यो । तर, यत्रो वर्ष हामीले नै बिर्तामोड सफाइ गर्दा सकेका थियौँ । अहिले कसरी सकेनौँ ?’ सफाइ मजदुर सुरेन्द्र मल्लिक भन्छन्, ‘यत्रो वर्ष मरीमरी काम ग¥यौँ । अहिले हामी काम नलाग्ने भयौँ ।’ कोरोना महामारीले देश नै लकडाउन हुँदा सबै भित्र थिए । सफाइ मजदुरको रूपमा काम गर्ने उनीहरूले अस्पतालको फोहोरसमेत डर नमानी उठाए । ‘सबै डराएर भित्र बसे । हामीले उनीहरूले प्रयोग गरेको फोहोर पनि उठायौँ । हामीलाई कति डर भयो होला ?’ सुरेन्द्र भन्छन्, ‘आज यसको उपहार कामबाट निकालेर दिए ।’

लामो समयदेखि सफाइ मजदुरको रूपमा काम गर्ने उनीहरूको परिवार यही कामबाट चलेको थियो । तर, विभिन्न समयमा विभिन्न बहानामा कामबाट निकालेपछि भने उनीहरूको बिचल्ली भएको छ । अब परिवार कसरी चलाउने भन्ने चिन्ता भएको बिर्तामोड–५, जात्रुबारीका सुन्दर मल्लिक बताउँछन् । उनीहरूले शुक्रबार बिर्तामोड नगरपालिकामा निवेदन दिएका छन् । तर, निवेदन दिने क्रममा पनि दुव्र्यवहार भोग्नुपरेको वीरेन्द्र बताउँछन् । ‘निवेदन लिएर नगरपालिका गएको हाकिमहरूले निवेदन लिनै मानेनन् । हाम्रो कुरा सुन्न पनि मान्दैनन् । हामी पनि यही देशका नागरिक हौँ । 

मजदुर आफैँले काम छाडेको सरसफाइ कम्पनीको दाबी
निराकार सरसफाइ सेवा प्रालिले भने सफाइ मजदुर आफैँ काम छाडेर निस्किएको दाबी गरेको छ । प्रालिका सुपरभाइजर रविन भट्टराईले उनीहरू खुसीले नै काम छाडेको बताए । ‘उनीहरू आफैँले काम छाडेको हो । हामीबाट सबै हिसाब पनि लगिसकेका छन्,’ उनले भने, ‘यो नगरपालिकाले नै हेर्छ ।’

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले सफाइ मजदुरको निवेदन आएको बताइन् । निवेदनमाथि केही दिनमा छलफल हुने उनको भनाइ छ । निराकारसँग कुरा गर्दा काम नगरेर निकालेको भन्ने प्रतिक्रिया दिएको बताइन् । ‘पहिलाको सबै कुरा हेरेर पहिचान गर्छौं । क–कसलाई के अन्याय परेको छ, के गर्न सकिन्छ, केही दिनमा छलफल गर्छौं,’ उनले भनिन्, ‘यहाँका (पहिला काम गरेका)लाई हटाएर बाहिरका ल्याउने कुरामा हाम्रो समर्थन रहँदैन । यहाँकालाई प्राथमिकता दिनुपर्छ । काम गरेनन् भने किन गरेनन्, काम गर भन्नुपर्छ ।’
 

See More On

सुझावित समाचार