मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बिमा’ पुनः सुरु हुने भएको छ । प्रदेश सरकारले छोरी शिक्षा बिमा सुरु गर्न ग्लोबल आइएमई बैंकसँग आइतबार सम्झौता गरेको छ ।
उक्त बैंकसँग सम्झौता भएसँगै छोरी शिक्षा बिमा सुरु भइसकेको मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक चूडामणि फुँयालले जानकारी दिएका छन् ।
यससँगै ०७८ माघ १ गतेपछि जन्मिएको छोरीहरूका लागि कार्यक्रम सुरु भएको छ । छोरी शिक्षा बिमामा समावेश हुने छोरीहरूलाई २० वर्षपछि तीन लाख दिने गरी प्रदेश सरकारले प्रतिबिमा ३७ हजार चार सय ५७ रुपैयाँ ६० पैसा बैंकलाई दिने गरी सम्झौता गरेको निर्देशक फुँयालले बताए । उक्त सम्झौतापत्रमा मधेस सरकारको तर्फबाट शिक्षा निर्देशक फुँयाल र बैंकको तर्फबाट ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त बिमा कार्यक्रम प्रदेश सरकारले यसअघि प्रभु बैंकसँगको सम्झौता गरी सञ्चालन गरेको थियो । कार्यक्रम सञ्चालन भए पनि प्रभु बैंकले सम्झौताको अवधि सकिएपछि पुनः सम्झौता गरेन । जसले गर्दा कार्यक्रम नै अलपत्र परेको थियो । छोरी शिक्षा बिमा कार्यक्रम रोकिएपछि प्रदेश सभामा सरकारको आलोचना भएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत सञ्चालनमा रहेको यो कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेपछि सामाजिक विकास मन्त्रालयमा सारिएको थियो । त्यसपछि निर्देशिका बनाउन नसक्दा कार्यक्रम रोकिएको थियो ।
‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ’ अभियानअन्तर्गत ०७५ फागुन ९ गतेदेखि सञ्चालनमा आएको छोरी शिक्षा बिमा कार्यक्रमको वीरगन्जमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । अहिलेसम्म करिब सात हजार छोरीको बिमा गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारले बिमा कार्यक्रमका लागि २२ करोड रुपैयाँ सामाजिक विकास मन्त्रालयलाई पठाइसकेको छ ।
मधेस प्रदेशको शिक्षा विकास निर्देशनालयले छोरी शिक्षा बिमामा समावेश हुन सूचना जारी गरेको छ । निर्देशक फुँयालले हस्ताक्षर गरी ११ बुँदे सूचना जारी गरेको छ । छोरी बिमामा समावेश हुन आवश्यक पर्ने कागजात र प्रक्रियाबारे ११ बुँदे सूचना जारी गरिएको हो ।