‘निष्कासन’मा परेका कमरेड वामदेव

वामदेव गौतमको पछिल्लो ‘निष्कासन’ वाम आन्दोलनको एउटा विसंगत अध्यायको करुण अन्त्य हो

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

स्थानीय निर्वाचनको परिणामसँगै केपी ओलीको घट्दो ‘भिजिबिलिटी’ मात्र होइन, नेकपाकालमा ‘किङ्मेकर’का रूपमा चर्चामा आइरहने वामदेव गौतमको लामो मौनता पनि देशलाई बिझाइरहेको थियो । मुलुकमा सक्रिय दर्जनौँ वाम पार्टीलाई एउटै बनाउने संकल्पसहित अर्को एउटा नयाँ वाम पार्टी खोलेर गत साता उहाँ फेरि दृश्यमा आउनुभयो । एक त वामदेव रंगमञ्चमा फर्किएको खुसी र अर्कातिर पार्टीसँग ‘देशै चकित हुने’ घोषणासहितको त्यो अभियान आफैँ चकित त्यतिखेर भयो, जब घोषणाको पाँच दिन नबित्दै वामदेव गौतमलाई पाँच बुँदे आरोपसहित उनकै ११ कार्यकर्ताले अभियानबाट निष्कासनको घोषणा गरे ।

वाम पार्टीमा यो निष्कासन न पहिलो हो, न अन्तिम । न अनुचित, न विवेकहीन । यो त पार्टीको शुद्धीकरण र पवित्रीकरण हो । एकताका ‘सच्चा’ वामपन्थीले बुझिने कुरै गर्दैनथ्यो । बुझिने कुरा माक्र्सवादी पनि मानिँदैनथ्यो । हरेक प्रसंग ब्रह्माण्डको उत्पत्तिबाट सुरु हुन्थ्यो । आफैँले नबुझेका डरलाग्दा दार्शनिक शब्दावली र महान् कमरेडहरूका उद्धरणविना आन्दोलन कमजोर हुन्थ्यो । विश्वका कम्युनिस्ट आन्दोलनका कति राम्रा पक्ष नेपाली कमरेडहरूले सिके, त्यसको समीक्षा हुँदै गर्ला, तर नराम्रा पक्ष कत्ति नबिराई सबै सिके । अघिल्लो रातसम्म सँगै लडेको कमरेडले भोलि बिहान थोरै फरक सोच्यो कि जन्मजात चोर र गद्दार घोषणा भयो । पुष्पलाल गद्दार र निर्मल लामा सिआइडी मानिएको ‘पवित्र’ आन्दोलनमा वामदेवको निष्कासन ठूलै घटना पनि होइन । 

सम्बन्ध टुटेपछि पनि दायित्व बाँकी हुन्छ, तर कमरेडहरू त्यसका अपवाद हुन् । कमरेडहरूले ७३ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनमा एक–अर्कालाई लगाएका आरोपका ‘बुँदा’ बाट धागो निस्कन्थ्यो भने नेपाल मात्र होइन, दक्षिण एसिया नै कपडामा आत्मनिर्भर भइसक्थ्यो । पाँचबुँदे आरोपसहित वामदेव निष्कासन भएकै दिन चितवन राष्ट्रिय निकुञ्जले चार नरभक्षी बाघको आनीबानी सुध्रिएको भन्दै तिनलाई फेरि प्राकृतिक स्थानमा छाडेको छ । नरभक्षी बाघसमेत सुध्रिन सक्ने यो पवित्र देशमा वामपन्थीहरूलाई सुधार्ने शक्ति भने अझै भेटिएको छैन ।

कांग्रेस युवा नेता प्रदीप पौडेल एउटा प्रसंग सुनाइरहनुहुन्छ । शाही शासनविरोधी आन्दोलनमा उहाँलाई विभिन्न जेल घुमाउँदै भक्तपुरको बोडेमा कुनै तालिम केन्द्रको भवनमा थुनियो । त्यहाँ जनवादी युवा लिगका एकजना कमरेड पनि एउटै कोठामा थिए । मेक्सिम गोर्कीको ‘आमा’ देखेपछि ती कमरेडले म पढ्छु भनेर लगे । १५ दिनसम्म एउटै पाना नपल्टाएको देखेपछि प्रदीपले उनलाई सोध्नुभएछ ‘किताब त हेर्दै हेर्नुभएन नि ।’ उनले जवाफ दिएछन्, ‘यो किताब पढ्न हुन्छ कि हुन्न भनेर पार्टीलाई पत्र पठाएको छु, अझै जवाफ आएको छैन ।’ यस्ता ‘पूज्य’ कम्युनिस्ट अब देशमा धेरै छैनन् । अब त हरेक कमरेड एउटा पार्टी हुन् ।

५०औँ वर्ष शासन गर्ने उद्घोषसहित गठन भएको नेकपाको सानो इतिहासको ठूलो हिस्सा वामदेवको नृत्य–व्यवस्थापनमा खर्च भयो, भलै कहिल्यै खुलेर नाच्न नपाएको उहाँको गुनासो बाँकी नै रह्यो । उमेरले सम्भवतः सबैभन्दा पाको भएपनि नेकपाको सचिवालयमा सबैभन्दा सानो र ‘क्युट’ बच्चा वामदेव गौतम नै हुनुहुन्थ्यो । नेकपाका सबै गुटले वामदेवलाई बच्चाकै रूपमा प्रेम र प्रयोग गरे । वामदेवले पनि त्यसको भरपुर आनन्द उठाउनुभयो । कसैले वामदेवलाई चकलेट देखायो, रमिता भयो । कसैले वामदेवको चकलेट लुकायो, अर्को रमिता भयो । यस्तै–यस्तै रमिता मिसिएर अन्तिममा नेकपा नै एउटा रमिता भयो । 

०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको लज्जाजनक पराजयपछि धेरैलाई लागेको थियो, अब शेरबहादुर देउवाका ज्योतिषको तेज र प्रताप सकियो । नेकपा विभाजनपछि देउवा फेरि बालुवाटार फर्केर लालमाछाकै तेलमा लालमाछा फ्राई गरिरहनु भएको छ, त्यो पनि लालमाछाकै अनुरोधमा । यो देउवाका ज्योतिषको प्रताप हो कि लाल कमरेडहरूको विवेकको पतन ? र, यो पतनमा कमरेड गौतमको हिस्सेदारी कति हो ?

उमेरले सम्भवतः सबैभन्दा पाको भए पनि नेकपाको सचिवालयमा सबैभन्दा सानो र ‘क्युट’ बच्चा वामदेव गौतम नै हुनुहुन्थ्यो । नेकपाका सबै गुटले उनलाई बच्चाकै रूपमा प्रेम र प्रयोग गरे । वामदेवले पनि त्यसको भरपुर आनन्द उठाउनुभयो । कसैले वामदेवलाई चकलेट देखायो, रमिता भयो । कसैले वामदेवको चकलेट लुकायो, अर्को रमिता भयो । यस्तै–यस्तै रमिता मिसिएर अन्तिममा नेकपा नै एउटा रमिता भयो । 

आज केपी ओलीसँग जति शक्ति छ, त्यसको सूत्रधार कमरेड गौतम नै हुनुहुन्छ । ०७२ सालमा एमाले संसदीय दलको नेताबाट झलनाथ खनाललाई हटाएर ओलीलाई पार्टी अध्यक्षको समेत बाटो फराकिलो बनाइदिएको गौतमले नै हो । नेकपा विभाजनमा निर्णायक भनिएको ओलीमाथिको १९ बुँदे आरोपका हरेक कडा भाषामा वामदेव हुनुहुन्थ्यो । पछिल्ला तीन दशक उहाँ कहिल्यै विवेकले चल्नु भएन, त्यसैले सबैले उहाँका महत्वाकांक्षामाथि खेले । नेकपाका सबै गुटले नाच्न उकासे, तर कहिले मञ्च बनाइदिएनन्, कहिले पोसाक लुकाइदिए, कहिले गीत गाइदिएनन् । र, वामदेवको आत्मा अतृप्त रहिरह्यो । 

नेपालको वाम आन्दोलनको जगमा प्रेम छैन, घृणा छ । कमरेडहरूसँग सबैभन्दा ठूलो केही छ भने शास्त्र छ, सामान्य होइन, जादुमय शास्त्र । शास्त्रको बग्गीमा चढाएपछि कुण्ठा पनि क्रान्ति हुन्छ र ईष्र्या पनि । शास्त्रको जलले छर्केपछि विभाजन पनि पवित्र हुन्छ र एकता पनि । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सिपी मैनालीलाई उपप्रधानमन्त्री बनाइयो । पार्टीभित्र अलिकति विरोध पनि भयो । ओलीको जवाफ थियो, ‘सिपीले सधैँ ठूला कुरा गर्यो, कहिल्यै मलाई नेता मानेन । उपप्रधानमन्त्री बनाइएपछि अब दिनदिनै यहाँ (बालुवाटार) आउँछ, घन्टौँ कुर्छ र मलाई नमस्कार गर्छ । मैले त्यसै उपप्रधानमन्त्री बनाएको होइन ।’ पार्टीको चित्त बुझ्यो । यो प्रसंग सिपी आफैँले एउटा अन्तर्वार्तामा बताएका हुन् । यस्ता कुण्ठा पनि माक्र्सवादको बग्गी चढेर पवित्र भएकै छन् ।

स्थानीय निर्वाचनका वेला कांग्रेसलाई डर थियो, माओवादी र समाजवादीको मत आफूलाई आउला कि नआउला ? खासमा कांग्रेसले बुझेकै थिएन, कमरेडहरूले प्रेम बरु धेरै निर्वाह गर्न नसक्लान्, तर घृणा मनदेखि नै निर्वाह गर्छन् । सिंगापुरको सपना देखेका हामी अब श्रीलंकाको दुःस्वप्नले त्रसित छौँ । विदेशी मुद्रा भण्डार घटेको छ । आयात र निर्यातको अनुपात एक र १५ पुग्दै छ । उत्पादन र उत्पादकत्वमा हामी संसारमै सबैभन्दा पछाडि छौँ । देशको करिब ४६ लाख नागरिक खाद्य संकटको सामना गर्दै छन् । तर, अर्थव्यवस्था र सामाजिक क्षेत्रको वामपन्थ कसैलाई थाहा छैन, न शिक्षा, न स्वास्थ्यको वामपन्थ थाहा छ । वामदेवका लागि पनि वामपन्थ केवल संख्याकै खेल हो र वाम एकता पनि समाज बदल्न होइन, संख्या बदल्न चाहिएको हो ।

वामपन्थीहरू खासमा सबैभन्दा धेरै सामाजिक छन् । तिनलाई आफ्नोभन्दा छेउका पार्टीको चिन्ता छ । विभिन्न चिरामा विभाजित माओवादीहरू आफ्नोभन्दा अर्काको पिरले सुकेका छन् । एमालेका दश बुँदे भाइलाई एकीकृत समाजवादीको जति चिन्ता छ, त्यति त्यही पार्टीकालाई छैन । एकीकृत समाजवादीलाई दश भाइको जति चिन्ता स्वयं दश भाइलाई छैन । हेमन्तप्रकाश ओली र नेत्रविक्रम चन्दका क्रान्तिकारी आरोप–प्रत्यारोपलाई तपाईं क्रान्तिभन्दा बाहिर राख्न सक्नुहुन्न । कमरेडहरूको रातो बग्गीमा माक्र्स होइन, ओम्नी र यती चढेको हामीले देखेकै छौँ । फिडेल क्यास्ट्रोसँग स्वास्थ्य र शिक्षाबारे केही सिक्न परेन, न चे ग्वेभाराबाट वर्गीय प्रतिबद्धता । न सोभियतकालको प्रारम्भिक पूर्वाधार निर्माण, न त चीनले गरिबीबाट उकासेका ९० करोड जनताको कथा सिक्नुपर्यो । आपसी दोषारोपणको राजनीतिले नै वामपन्थको यति गज्जब पसल चलिरहेको छ भने किन चाहियो थप ज्ञान ?

वामदेवलाई सधैँ लाग्यो, नेपालको वामपन्थी आन्दोलनले आफ्नो उत्कर्ष भेट्नै बाँकी छ । नेकपाकालमा उहाँलाई त्यो झन् बढी लाग्यो । अब नेकपा पनि इतिहास भइसकेपछि वाम आन्दोलन पक्कै चुनौतीपूर्ण मोडमा छ । आफ्ना कुण्ठाप्रति वामदेवलाई कुनै हीनताबोध देखिएन, न प्रधानमन्त्री पदको नांगो महत्वाकांक्षाप्रति कुनै सरम । त्यसैले त आन्दोलनप्रति वामदेवको प्रश्न, चिन्ता र दाबी छ, उहाँलाई एकपटक पनि प्रधानमन्त्री नबनाई कसरी मर्न पाउँछ नेपालको कम्युनिस्ट आन्दोलन ?

नेपालको वामआन्दोलनमा वामदेव गौतमको योगदान पक्कै ठट्टाको विषय होइन । करिब ६ दशक लामो राजनीतिक यात्राका प्रारम्भिक तीन दशक वामदेवले समाजका सीमान्त मान्छेको संगठन र जागरणमा खर्च गर्नुभयो । तर, खुला राजनीतिमा पदार्पणपछि उहाँभन्दा उहाँको महत्वाकांक्षा अग्लो भयो । पुष्पलालसँग काम गरेका, बहुदलीय जनवादको त पहाडै बोकर हिँडेका, तीनपटक उपप्रधानमन्त्री, एकपटक पार्टी उपमहासचिव, पार्टी फोरेर महासचिव र अहिले संयोजक भएका वामदेवलाई हुँदाहुँदा युवराज सफलले समेत निष्कासन गर्नु वामआन्दोलनको हास्य होइन, करुण रस हो । र, यो वामआन्दोलनको एउटा विसंगत र दुर्भाग्यपूर्ण अध्यायको अन्त्य पनि हो ।

See More On

सुझावित समाचार