पाँच वर्ष बित्दा पनि तयार भएन आधुनिक कृषि बजार

सरकारले डिपिआर तयार पारेको पाँच वर्ष बितिसक्दा पनि स्थानीय तह र प्रदेश सरकारले बल्ल ठेक्का लगाउने, जग्गाको मुआब्जा वितरणलगायतको काम सुरु गरेका छन्

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

देशभर आधुनिक सुविधासम्पन्न तरकारी तथा फलफूल बजार स्थापना गर्ने सरकारको योजना पाँच वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा यसका लागि डिपिआर तयार पारेको थियो ।

०७४ को चुनावपछि यसको सम्पूर्ण जिम्मा प्रदेश सरकार र स्थानीय तहलाई प्राप्त भयो । तर, स्थानीय तह र प्रदेश सरकारले पछिल्लो पाँच वर्षदेखि बेवास्ता गर्दैै आइरहेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले प्रदेश र स्थानीय तहमार्फत जिम्मा दिएको हुँदा कतै बल्ल काम सुरु हुन थालेको तथा केही ठाउँमा बल्ल ठेक्का लाग्न थालेको बताए । 

मन्त्रालयमातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रमबाट मुलुकभर नौ स्थानमा आधुनिक तरकारी, फलफूल बजार स्थापनाका लागि विस्तृत अध्ययनसहितको प्रतिवेदन तयार भइसकेको छ । मन्त्रालयका अनुसार नौ स्थानमध्ये सुनसरी, मोरङ, मकवानपुर, कास्की र कपिलवस्तुमा स्थापना हुने तरकारी बजारको ठेक्का लाग्ने प्रक्रिया सुुरु भएको छ । त्यस्तै, महोत्तरी, पर्सा, बुटवल र बर्दियामा भने प्रदेश सरकारले अध्ययन गरिरहेको छ । 

सञ्जेलका अनुसार मकवानपुर, सुनसरी, मोरङ, महोत्तरी, पर्सा, कास्की, कपिलवस्तु, बर्दिया र रुपन्देहीमा कुल ६ अर्ब ७५ करोड सात लाख ४० हजार लागतमा तरकारी बजार स्थापना गर्न सकिने अध्ययनले देखाएको छ ।  

रुपन्देही : रुपन्देहीको बुटवल (सेमलार)मा अहिलेसम्मकै आधुनिक र सुविधासम्पन्न तरकारी बजार निर्माणको अध्ययन भएको छ । २३ बिघा तीन कट्ठा जग्गासमेत भेटिएको छ । जहाँ सहकारी कार्यालय, जिउँदो माछापसल, क्वारेन्टिन भवन, मल्टी चेम्बर कोल्ड स्टोर, पेट्रोलपम्प, नाश भएर जाने तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने प्रशोधन मेसिन जडान, माछा–मासुको स्टल, किसान अक्सन स्टल, होलसेल तथा रिटेलर स्टल, प्रशासनिक भवनलगायत निर्माण हुनेछन् । यसका लागि दुई अर्ब दुई करोड ४३ लाख ९० हजार लागत अनुमान गरिएको छ ।  

सुनसरी : सुनसरीको इटहरीमा आठ बिघा क्षेत्रफलमा दोस्रो ठूलो कृषि बजार निर्माणको गुरुयोजना तयार भएको छ । यहाँ एटिएम ब्लकका साथै नाश भएर जाने तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने प्रशोधन मेसिन जडान गर्ने लक्ष्य छ । त्यस्तै, कोल्डस्टोर र आवश्यकताअनुसार विभिन्न स्टल हुनेछन् । यो पूर्वाधार तयार गर्न ७९ करोड ९४ लाख ९० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । मन्त्रालयका अनुसार यसका लागि ठेक्कासमेत भइसकेको छ ।

मकवानपुर : मकवानपुरको हेटौँडामा दुई बिघा क्षेत्रफलमा आधुनिक तरकारी बजार निर्माणको अध्ययन भएको छ । यहाँ एटिएम ब्लकका साथै नाश भएर गएका तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने प्रशोधन मेसिन जडान गर्ने लक्ष्य छ । त्यस्तै, कोल्डस्टोर र आवश्यकताअनुसार विभिन्न स्टल हुनेछन् । यो पूर्वाधार तयार गर्न ६९ करोड ९६ लाख ९८ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

महोत्तरी : महोत्तरीको बर्दिवासमा सात बिघा १० कट्ठा क्षेत्रफलमा आधुनिक तरकारी बजार निर्माणका लागि अध्ययन भएको छ । यहाँ तरकारीको होलसेल तथा खुद्रा स्टलका साथै एटिएम काउन्टर, कोल्डस्टोर, किसानका लागि अलग्गै स्टल तथा दूध र दूधजन्य पदार्थको बिक्रीस्थल राखिनेछ । यो संरचना तयार गर्न ५९ करोड ८३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । रेल पूर्वाधारका कारणले अनिश्चित समयका लागि अहिलेलाई अध्ययन मात्र भइसकेको छ ।

बर्दिया : बर्दियाको बारबर्दियामा तीन बिघा १९ कट्ठा क्षेत्रफलमा तरकारी बजार निर्माणको अध्ययन टुंगिएको छ । यहाँ एक हजार मेट्रिकटन तरकारी तथा फलफूल राख्न सक्ने मल्टी चेम्बर कोल्डस्टोर, नाश हुने तरकारीबाट बायो कम्पोस्ट मल तयार गर्ने मेसिनरी जडान हुनेछ । त्यसैगरी, तुरुन्त बिक्री गर्न नसकिने केही परिमाणका तरकारी तथा फलफूल अलग्गै भण्डारण गरी राख्ने ‘सरप्लस कमोडिटी ब्लक’समेत बनाइनेछ । यस्तो ब्लकमा एक–दुई दिन भण्डारण गर्न मिल्छ । यसको लागत ५३ करोड ५३ लाख २२ हजार रुपैयाँ अनुमान गरिएको छ ।

कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा ठूलो तरकारी बजार निर्माणका लागि तीन बिघा एक कट्ठा जग्गामा अध्ययन भएको छ । यहाँ एक हजार मेट्रिकटन तरकारी तथा फलफूल राख्न मिल्ने मल्टी चेम्बर कोल्डस्टोर, बायोकम्पोस्ट युनिट र तत्कालै बिक्री गर्न नभ्याइने, तर एक–दुई मात्र तरकारी तथा फलफूल भण्डारणका लागि राख्न मिल्ने सरप्लस कमोडिटी ब्लक निर्माण हुनेछ । त्यसैगरी, सवारीसाधनसहित तरकारी, फलफूल तौलिन मिल्ने धर्मकाँटा पनि राखिनेछ । यो पूर्वाधार तयार गर्न ४८ करोड पाँच लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

पर्सा : वीरगन्जको पर्सामा तरकारी बजार निर्माणका लागि तीन बिघा २६ कट्ठा क्षेत्रफलमा अध्ययन भएको छ । यहाँ एटिएम काउन्टर, कोल्डस्टोर, किसानका लागि अलग्गै स्टल तथा होलसेल र खुद्रा स्टल रहनेछन् । यो पूर्वाधार तयार गर्न ५९ करोड ८३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

कास्की : कास्कीको पोखरामा रहेको पुरानो तरकारी बजारलाई अत्याधुनिक बनाउने गरी अध्ययन भएको छ । यहाँ महानगरपालिकाले सञ्चालन गरिरहेको बजारलाई स्तरोन्नति गर्ने सोच बनाइएको छ । जसमा अन्डरग्राउन्ड पार्किङ, सवारीसाधनसहित तरकारी, फलफूल तौलिन मिल्ने धर्मकाँटा, केरालाई आधुनिक प्रविधिबाट पकाउने राइपेनिङ चेम्बर निर्माण, किसानको अलग्गै स्टल, प्राथमिक उपचार केन्द्रलगायतका सुविधा हुनेछन् । यो पूर्वाधार तयार गर्न ५२ करोड ६७ लाख ७० हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

मोरङ : मोरङको रंगेलीमा एक बिघा १८ कट्ठा जमिनमा आधुनिक तरकारी बजार निर्माणका लागि अध्ययन टुंगिएको छ । यहाँ तरकारी, फलफूलको होलसेल तथा खुद्रा स्टलका साथै नाश हुने तरकारी, फलफूलका प्रशोधन युनिट, कोल्डस्टोर, केरालाई आधुनिक प्रविधिबाट पकाउने राइपेनिङ चेम्बर, किसानको अलग्गै स्टललगायका पूर्वाधार तयार हुनेछन् । यसका लागि ४७ करोड २३ लाख ९१ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

कस्तो हुन्छ स्मार्ट तरकारी बजार ? 
आधुनिक तरकारी बजारमा कोल्डस्टोर, एटिएम काउन्टर, फोहोर प्रशोधन केन्द्र, फलफूल पकाउने प्रविधिलगायत सुविधा उपलब्ध हुनेछ । अपांगमैत्री स्टल हुने तरकारी बजार निर्माणमा दातृ संस्थाहरूले पनि लगानी गर्ने इच्छा देखाएका छन् । बुटवलको सेमलारमा अहिलेसम्मकै ठूलो तरकारी बजार निर्माणको अध्ययन भएको छ ।

लगानी गर्न नेदरल्यान्डको ‘डिजाइन टू बिल्ड’ र संयुक्त राष्ट्रसंघमातहतको आइफाडले इच्छा देखाइसकेका छन् । बुटबलमा नेदरल्यान्ड ‘डिजाइन टू बिल्ड’ले ५० प्रतिशत लगानी गर्ने सहमतिसमेत भइसकेको सञ्जेलले बताए ।

सुझावित समाचार