मेक्सिकोको सीमावर्ती अमेरिकी राज्य टेक्सासको सान एन्टोनियो सहरनजिकै एउटा ट्रकभित्र ५० भन्दा बढी मृतक एवं दर्जनौँ आप्रवासी घाइते भेटिएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले राजनीतिक एजेन्डा अघि सार्न यो त्रासदीको उपयोग गर्ने प्रयास गरेका छन् । राष्ट्रपति बाइडेनलाई मृत्युका लागि जिम्मेवार ठह¥याउँदै एबटले ‘यो सब बाइडेनको घातक खुला सीमा नीतिका कारण भएको हो’ भन्ने बताएका छन् ।
एबोटको बयान दुराशयपूर्ण छ । वास्तवमा भन्ने हो भने पानी वा पर्याप्त हावाको पहुँचविना बालबालिकासहित दर्जनाैँ मानिस ट्रकमा चढ्न बाध्य पार्ने परिस्थितिका लागि अमेरिकी राष्ट्रपति मात्र दोषी छैनन् । यो त्रासदीका लागि टेक्सासका गभर्नरलगायत थुप्रै स्थानीय एवं क्षेत्रीय खेलाडी पनि जिम्मेवार छन्, जो आप्रवासी समुदायलाई बारम्बार अमानवीय देखाउने चेष्टा गरिरहन्छन् ।
सान एन्टोनियो त्रासदीका विवरणले मेक्सिकोको राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरका कमजोरीलाई पनि इंगित गर्छ । सान एन्टोनियोका मेक्सिकन कन्सुलर जनरलका अनुसार मृतक आप्रवासीमध्ये कम्तीमा २७ जना मेक्सिकन रहेको जनाएका छन् । मेक्सिकोमा स्थिरता आएपछि अमेरिका बसाइँ सर्नेभन्दा मेक्सिको नै फर्किनेको संख्या बढिरहेको अवस्था थियो, तर माथिको आँकडाले ठीक विपरीत एवं चिन्ताजनक प्रवृत्ति देखाएको छ अर्थात् अमेरिकामा फेरि मेक्सिकोका आप्रवासी बढ्न थालेका छन् ।
सन् २०१८ ताका राष्ट्रपतीय चुनाव र चुनाव जितिसकेपछिको समयमा ओब्राडोरले सन् २०२४ अर्थात् आफ्नो राष्ट्रपतीय कार्यकाल समाप्त हुने वेलासम्म मेक्सिकोबाट हुने बसाइँसराइ घट्ने मात्रै नभई समाप्त नै हुने बताएका थिए । आफ्नो चुनावी घोषणापत्रमा उनले ‘जनता आफ्नो जन्म भएको ठाउँमा, आफन्तको नजिक, आफ्नो परिवेश, रीतिरिवाज र संस्कृतिको साथ काम गर्नेछन्’ भनेर उल्लेख गरेका थिए । त्यहाँ उनले ‘कसैलाई पनि आफ्नो भोक वा गरिबी मेटाउनका लागि आफ्नो जन्मभूमि छोड्न बाध्य गरिनेछैन’ भन्ने पनि उल्लेख गरेका थिए । चार वर्षपछि परिस्थिति झन् विकराल भएको छ अर्थात् सन् २०२१ मा सीमा गस्तीले ६ लाख आठ हजार मेक्सिकन नागरिकलाई हिरासतमा लिएको थियो र यी मेक्सकन नागरिक अवैध ढंगले अमेरिका बसाइँ सरेका थिए ।
राष्ट्रपति लोपेज ओब्राडोरको आप्रवासन नीतिका पहिलो निर्देशक टोनाटिउह गुइलेन लोपेजले मलाई ‘जब राष्ट्रपति लोपेज ओब्राडोरको सरकार सुरु भयो, हामीसँग मेक्सिकोबाट अमेरिकामा हुने आप्रवासी प्रवाह १२ वर्षसम्म स्थिर थियो, तर अहिले प्रवाह दर चारदेखि पाँच गुणासम्म बढी छ’ भन्ने बताएका थिए । लोपेज थप्छन्, ‘सरकार सुरु हुँदा न्यून बसाइँसराइको अवस्था थियो, तर कार्यकाल सकिँदा आप्रवासनको दर उच्च हुने अवस्था छ ।’
अमेरिकामा मेक्सिकन आप्रवासीको संख्या बढ्नुमा मेक्सिकोका अधिकांश क्षेत्रमा व्याप्त हिंसा र कमजोर हुँदै गएको राष्ट्रिय अर्थतन्त्र जिम्मेवार छ
सेन्ट्रो डी इन्भेस्टिगासिओन वाई डोसेन्सिया इकोनोमिकास (साइड) का प्राध्यापक एवं आप्रवासन विज्ञ कार्लोस हेरेडियाका अनुसार अमेरिकामा मेक्सिकन आप्रवासीको बढ्दो संख्याको कारक मेक्सिकोमा अधिकांश क्षेत्रमा व्याप्त हिंसा र कमजोर हुँदै गएको राष्ट्रिय अर्थतन्त्र हो । हिंसाका कारण मेक्सिको छोड्न बाध्य भएका व्यक्तिको संख्या व्यक्ति हत्यामा डरलाग्दो गरी वृद्धि भएको समय सन् २०२० र २०२१ को बीचमा दोब्बर भयो । र, अहिले अर्थतन्त्र पनि धराशयी छ । यी कारणका संयोजनले धेरै मानिस जोखिम मोलेर सीमा पार गर्न आतुर बन्दै गएका छन् । हेरेडियाका अनुसार मेक्सिकोमा पर्याप्त रोजगारी उत्पादन भएको छैन र यसमा टोनाटिउह गुइलेन लोपेज सहमत छन् । ‘टेक्सासमा अधिकांश मृतक मेक्सिकन हुनुले हेरेडियाको भनाइलाई पुष्टि गर्छ,’ गुइलेन लोपेज बताउँछन् ।
उत्तर अर्थात् अमेरिकामा मेक्सिकोबाट आप्रवासन रोक्न नसक्नुको अलावा पनि मेक्सिकन सरकारका केही गल्ती एवं त्रुटि छन् । सान एन्टोनियोमा भएको त्रासदी मानव बेचबिखन गिरोहको विस्तारसँग प्रत्यक्ष रूपमा जोडिएको छ, जुन प्रायः मेक्सिको र अमेरिकामा दण्डहीनतासाथ चलिरहेको छ । मेक्सिकन पत्रकार कार्लोस पुइगका अनुसार ‘मानव बेचबिखनमा लागेका आपराधिक गिरोहले अमेरिकातर्फ जान चाहने व्यक्तिका लागि कठोर एवं खतरनाक रणनीति बनाएका छन् ।’ र यसमा आप्रवासीलाई करिब ३८ डिग्री सेल्सियस तापमान भएको ट्रकमा खाँद्नु पनि हो ।
आप्रवासन विशेषज्ञ हेरेडिया तस्करी सञ्जाल भत्काउने मामिलामा मेक्सिकोको सरकार ‘व्यावहारिक रूपमा सबै कोणबाट असफल भएको’ दाबी गर्छन् । मेक्सिकोका सुरक्षा अधिकारीले सन् २०२० को तुलनामा सन् २०२१ मा मानव तस्करीसँग सम्बन्धित अपराधमा दुई सय २८ प्रतिशतले वृद्धि भएको बताएका छन् । ‘यो एकदमै लाभदायक धन्धा हो, जो कानुनी नियन्त्रणबाट फुत्किरहन्छ र सीमावारपार बन्दरगाह छन्, जसले तस्करीलाई सजिलो पनि बनाइदिएको छ,’ हेरेडिया बताउँछन् ।
सीमामा मानवीय त्रासदी जारी रहनेछ किनभने मेक्सिकोबाट बढ्दो बसाइँसराइ र बढ्दो आक्रामक तस्करी सञ्जालले सयौँ मानिसलाई यातना र पीडातर्फ धकेलिरहेका छन् । यसका लागि लोपेज ओब्राडोरले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । ‘मेरो कार्यकालमा एक दिन यस्तो आउनेछ, जब मेक्सिकन अमेरिकामा काम गर्न बसाइँ सर्नेछैनन्, किनभने त्यसवेला मेक्सिकन जनतासँग आफ्नै देशमा रोजगारी हुनेछ र आफू जन्मेको ठाउँमा सन्तुष्ट हुनेछन्,’ लोपेजले ओब्राडोर राष्ट्रपति भएपछि दिएको एक अन्तर्वार्तामा वाचा गरेका थिए । टेक्सासको चर्को गर्मीमा ट्रकभित्र गुन्द्रुकझैँ खाँदिएका मेक्सिकन मृतकका लागि सबैभन्दा ठूलो विडम्बना हो, लोपेजको यो वाचा ।
द वासिंगटन पोस्टबाट