‘समाजवादका लागि समान विचारका शक्तिबीच सहकार्य’

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

समाजवादबारे प्रमुख वाम दलका शीर्ष नेताहरूको मन्थन 

प्रमुख वामपन्थी दलका शीर्ष नेताहरूले अहिलेको सहकार्य र गठबन्धनबाट समाजवादको दिशामा अगाडि बढ्न नसकिने स्वीकार गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा सोमबार आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयक अन्तरक्रिया’मा उनीहरूले तत्काल सहकार्यको सम्भावनाबारे भने केही पनि खुलाएका छैनन् ।

नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले समाजवादको दिशामा अगाडि बढ्न एउटै विचार बोकेका शक्तिबीच नै सहकार्य हुनुपर्ने बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने समाजवाद प्राप्तिका लागि एउटै विचार बोक्नेबीचको एकता असफल भएकाले अहिलेको गठबन्धन बाध्यताको उपज भएको प्रस्ट्याए ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारको कार्यशैली र गन्तव्यप्रति असन्तुष्टि जनाए भने एमाले महासचिव शंकर पोखरेलले फरक–फरक विचार बोक्नेहरूको गठबन्धनका कारण देश गलत दिशातिर गइरहेको प्रस्ट्याए । कार्यक्रममा नेताहरूबीच आरोप–प्रत्यारोप पनि चलिरह्यो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादतिर जाने उद्देश्य एमाले अध्यक्ष केपी ओलीकै कारण असफल भएको आरोप लगाए ।

‘एमाले महासचिव शंकर पोखरेलले हाम्रोअगाडि जुन शोधनान्तर घाटाको कुरा गर्नुभयो, यो घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा नै हो,’ प्रचण्डले भने, ‘हामीले समाजवादतिर जाने कुरा गरेको होइन ? वामपन्थी र कम्युनिस्टको एकताबाट स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला, जनतालाई प्रत्यक्ष राहत होला, घोषणापत्रअनुसार जाला भनेर पहल गर्ने हाम्रैअगाडि उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्न मिल्छ ?’ 

त्यसअघि बोलेका एमाले महासचिव पोखरेलले अहिलेको गठबन्धनको यात्राबाट कसरी समाजवाद प्राप्तिको उद्देश्य सफल हुन्छ भन्दै प्रश्न राखेका थिए । ‘यात्रा गठबन्धनको, उद्देश्य समाजवादको यो मिलेकै छैन । वामपन्थी आन्दोलनसँग जोडिएका यहाँ भएका राजनीतिक दलहरूले आफ्ना दस्ताबेजमा कांग्रेसलाई समाजवादी पार्टीका रूपमा स्वीकार गरेका छौँ भने गठबन्धन र समाजवाद मिल्यो,’ पोखरेलले भने, ‘स्वीकार गरेका छैनौँ भने कांग्रेस नेतृत्वको गठबन्धनबाट समाजवादको कुरा गर्नै मिल्दैन ।’ 

कांग्रेस नेता रामचन्द्र पौडेलले गफ समाजवादको गरे पनि आचरण र व्यवहार घोर सामन्ती र प्रतिक्रियावादीको देखिएको भन्दै कटाक्ष गरेका छन् । उनले रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? भन्ने प्रश्न गरे । ‘म भन्छु, कुनै पनि पार्टीमा कसैको पनि समाजवादी आचरण छैन । सरकारमा गएका मन्त्रीले चार दिन काम गर्न पाएको छैन हटाउनुपर्ने, फेरी–फेरी पालो पुर्‍याउनुपर्ने, यो पार्टी सिस्टम हो ? मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने ? के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? उनले प्रश्न गरे । 

सुझावित समाचार