समाधान होइन स्वतन्त्र राजनीति

मिति गुज्रिएको ओखतीझैँ कतिपय दल काम नलाग्ने बने पनि तिनको विकल्प स्वतन्त्र होइन, राजनीतिमा स्वतन्त्र भन्ने नै हुन्न

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

स्थानीय निर्वाचनपछि स्वतन्त्र शब्दको वस्तुकरण बढ्दो छ । नेपाली राजनीतिले देशको सर्वत्र कर्मचारीतन्त्र, न्यायालय, विश्वविद्यालय सबैलाई सिध्यायो । निष्ठा, विचार र सिद्धान्तसमेत सिध्याएपछि अब नेपाली राजनीतिले राजनीति स्वयंलाई नै सिध्याउँदै त छैन ? बढ्दो भद्रगोलमाझ गोल हान्ने उद्देश्यले स्वतन्त्रको आवरणमा अनगिन्ती उम्मेदवार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन तम्तयार देखिन्छन् । स्वतन्त्र उम्मेदवारको अन्धाधुन्ध वकालत कतै प्रतिगामी षड्यन्त्रको पक्षपोषण हुने त होइन ? बृहत् राष्ट्रिय स्वार्थमाथि केन्द्रित भएर यस विषयमा गम्भीर विमर्श अत्यावश्यक देखिन्छ । 

दलको विकल्प दल : अहिले नेपालमा तीन खेमाका तर्कवितर्क गुन्जिरहेका छन् । पहिलो खेमाका तर्कवाला भन्छन्, स्वतन्त्रको जति नै चुरिफुरी देखिए पनि उनीहरू कहीँ नपुग्ने यात्राका यात्री हुन् । स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले नाटकीय सफलता प्राप्त गरेकै हुन् । यद्यपि, अंश नै पूर्णझैँ स्वतन्त्र पात्रहरू सामाजिक सञ्जालमा छ्यापछ्प्ती छाइदिएपछि आजीवन राजनीतिमा त्याग गरेकाहरूसमेत अदृश्यकरणको सिकार बन्न पुगेकामा उनीहरू दुःखी देखिन्छन् । यसर्थ, उनीहरू भन्छन्, स्वतन्त्रको विजयोत्सव पानीका फोकासिबाय केही होइन । क्षणिक आत्मरतिमा रमाएर केही हुन्न ।

स्वतन्त्रको आँधी उनीहरूको विचारमा केवल पानी नपर्ने बादल हो । उनीहरू भन्दै छन्, दलको विकल्प दल नै हो । कुनै स्थापित दल कुहियो, गनायो । त्यसको विकल्प स्वतन्त्र हो त ? सबैको समय आउँछ, जान्छ । नवीन समयमा मिति गुज्रिएको ओखतीझैँ कतिपय दल काम नलाग्ने बन्लान् पनि । तर, तिनको विकल्प स्वतन्त्र होइन । पारपाचुके भएका वा छोराछोरी बिग्रिएको देखेर बिहे नै नगर्ने भन्ने हुन्न । राजनीतिमा स्वतन्त्र भन्ने नै हुन्न । स्वतन्त्र, मेलमिलाप, गठबन्धन, आलोपालोजस्ता विषय राजनीतिक ‘टर्मिनोलोजी’ नै होइनन् । स्वतन्त्र भन्ने विषय रक्षात्मक पनि होइन । राजनीतिमा स्वतन्त्र पूरै पलायनवादी विषय हो । ऐतिहासिक आवश्यकताले नवीन विचार, सिद्धान्त र नयाँ दल निर्माण गर्छ । विचार, सिद्धान्त र संगठन कुनै व्यक्ति विशेषका लागि होइन, विविधतापूर्ण समुदाय र पूरै प्रकृतिको रक्षाका लागि पनि अपरिहार्य हुन्छ । यसर्थ, उनीहरू दलको विकल्प स्वतन्त्र कदापि होइन भन्छन् । 

दलको विकल्प स्वतन्त्र : कोहीकोही दलको विकल्प स्वतन्त्र भन्दै छन् । यद्यपि दलहरू नै शक्तिशाली छन् । दलहरूसँग संगठन छ । सम्पत्ति, सत्ता, सम्बन्ध सबै छ । तर, स्थापित दलहरू बदनाम छन् । उनीहरूसँग लड्नका लागि भन्दै केही झुन्डमुन्ड समूहहरू स्वतन्त्रको सञ्जाल बनाउन तँछाडमछाड गर्दै छन् । स्वतन्त्रबाट विजयी केही ब्रान्डलाई उभ्याएर काठमाडौंमा स्वतन्त्र उम्मेदवारीका लागि इच्छुकको राष्ट्रिय सम्मेलन गर्ने भन्दै छन् ।

स्वतन्त्र उम्मेदवार बन्न तम्तयार जमातलाई संगठित गर्न भन्दै एक समूह देश दौडाहाको नाटक मञ्चन गर्दै गरेका केही दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ, गैससको ब्यानरमा । उनीहरूको मनभित्र के अभिप्राय छ, उनीहरू नै जानून् । उनीहरूको ओठेबोलीले भनिरहेको छ, अब यी दलले मुलुक हाँक्न सक्दैनन् । मुलुक बचाउने ‘सुपरम्यान’ अब स्वतन्त्र नै हुन् । स्वतन्त्रको सञ्जालले नै निकास निकाल्छ भन्छन् । उनीहरूको बोली, वचन, चालचलन नियाल्दा धर्म, लिंग, जाति, क्षेत्र कुनै पनि कोणबाट स्वतन्त्र देखिन्नन् । अझ अमूर्त पाटोभित्र पसेर हेर्ने हो भने स्वतन्त्रभित्र षड्यन्त्रै षड्यन्त्र देख्न बेर छैन । निरपेक्ष रूपमा स्वतन्त्र बन्न बुद्धले कति तपस्या गरेका थिए, तैपनि बुद्ध सापेक्ष संसारमै फर्किए । एक धर्म सापेक्ष स्वतन्त्र प्राणी हुन् ? आलोचनात्मक प्रश्न उठाएमा, को स्वतन्त्र, कस्तो स्वतन्त्र भन्दै व्यक्ति विशेषको लेखाजोखा गर्दै जानुपर्ने हुन्छ । अन्ततः स्वतन्त्र शब्द निकै चिप्लो बन्दै जान्छ ।   

अझ अर्को तेस्रो तर्कसँग खेल्न खोज्ने खेमा पनि छ । अहिले देशमा स्वतन्त्रको आँधी आएको छ । पुराना दलप्रति जनताको विश्वास छैन । नयाँ दल बनाउने हुती पनि छैन । कुनै बेबारिसे दललाई भित्रभित्रै सक्रिय गराउने । स्वतन्त्र उम्मेदवारको हल्ला पनि फिँजाइरहने । संसदीय निर्वाचन आउन अझ आधा वर्ष बाँकी छ । स्वतन्त्रबाटै अघि बढ्ने माहोल बन्दै गए, स्वतन्त्र उम्मेदवार बन्ने । नयाँ दलतिर माहोल सोझिँदै गयो भने दलको उम्मेदवार बन्ने । यस्तो ढुलमुले स्वतन्त्र पनि सतहमा देखिँदै छन् । जो निकै दोधारे संकटमा तड्पिइरहेका देखिन्छन् । स्वतन्त्र उम्मेदवार बनेर उभिँदा समानुपातिक भोट गुमाउनुपर्छ । दल बोकेर अघि बढ्ने आँट पनि छैन । कुनै दलसँग भित्री साँठगाँठ गर्दै अघि बढ्दा कतिवेला घरको न घाटको हुने हो निश्चित छैन । स्वतन्त्रलाई स्थानीय चुनावमा जस्तो अनुकूल वातावरण संसदीय निर्वाचनमा देखिन्न ।  

ऐतिहासिक आवश्यकताले नवीन विचार, सिद्धान्त र नयाँ दल निर्माण गर्छ । विचार, सिद्धान्त र संगठन कुनै व्यक्तिविशेषका लागि होइन, विविधतापूर्ण समुदाय र पूरै प्रकृतिको रक्षाका लागि पनि अपरिहार्य हुन्छ । 

स्वतन्त्र ब्रान्ड अब पात्रबाट प्रवृत्ति बनिसकेको छ । हर्क साम्पाङ साँच्चैको भुइँतहबाटै उठेका अभियन्ता हुन् । श्रमजीवी साम्पाङजस्तै स्वरूपका छन् त अन्य स्वतन्त्र उम्मेदवार ? कोही स्वतन्त्र बौद्धिक सार्वजनिक बुद्धिजीवी बन्न सक्लान्, जो स्वाधीनताका हिसाबले बढी प्रखर देखिन सक्छन् । सार्वजनिक बुद्धिजीवी कुनै शक्तिकेन्द्रसँग साँठगाँठ नगरिकनै सादा जीवन बाँच्न सक्छ । पैदल हिँड्दै, पोलेको मकै खाँदै, साइकल चढ्दै सामान्य जीवन बाँच्न सक्छ, सार्वजनिक वुद्धिजीवी । सत्ता शक्तिकेन्द्रित राजनीतिमा त्यो सम्भव छ त ? साम्पाङ जस्तै अन्य स्वतन्त्रहरू सादगी देखिन्छन् त ? साम्पाङ नै साइकल चढेर, सार्वजनिक यातायात प्रयोग गरेर वा पैदल हिँडेर पहिलेकै जीवनशैलीमा मेयरको कार्यकाल पूरा गर्न सक्लान्? 

स्वतन्त्र भन्नेहरू कोही एमसिसी मुर्दावाद भन्नेहरू देखिन्छन् । कोही एमसिसी जिन्दावाद भन्नेहरू भेटिन्छन् । कोही राजा आऊ देश बचाऊ नारा घन्काउने छन् । कतिपय भातको प्रत्येक गाँस विदेशी बियर र रक्सीले निल्नेहरू छन् । कोही जोतिषले गर्दा जितेँ भन्छन् । कोही बन्दुक बोकेको पृष्ठभूमिवाला क्रान्तिकारी छन् । दलले टिकट नदिएपछि रातारात स्वतन्त्र बन्नेहरू छन् । स्थानीय निर्वाचनमा काठमाडौंमा मात्रै ५६ जना नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार थिए । एक हातको औँलामा गन्न सक्नेको अनुहार हामीलाई याद छैन् । ५६ जनाको मात्रै रङ र ढङ्ग राम्ररी नियाल्ने हो भने कति बहुरूपी स्वरूपहरू स्वतन्त्रको आवरणभित्र भेटिएलान् ? न सिद्धान्त, न संगठन छ । भोलि कहाँ जाने, कहाँ पुग्ने केही ठेगान छैन् । फर्की आउने हो कि होइन, केही थाहा छैन । 

अनेक स्वरूपका स्वतन्त्रको सञ्जाल बनाउन सक्रिय समूह अहिले अस्तित्वमा आएका छन् । स्वतन्त्र भन्दै सञ्जालरूपी संगठन निर्माणको पहल आफैँमा विरोधाभास भएन र ? सबै रङहरू एकै ठाउँमा मिसाएर घोल्दा कस्तो रङ बन्छ, यकिन हुन्न । विचार, सिद्धान्त र संगठनविहीनहरूको सम्मेलनको दृश्य कस्तो रङ र ढंगमा देखा पर्ला ? अनेक रङ र ढंगका स्वतन्त्रहरू सबैलाई जोड्ने जर्ती विचार कुन पृष्ठभूमिबाट प्राप्त भयो ? बुिझ्सक्नु छैन । मेरी शेलीको उपन्यासको प्रमुख पात्र भिक्टोरले धेरै लासको टुक्रा जोडेर भगवान् बनाउन खोज्दा लास जीवित त बन्यो, तर विध्वंसकारी स्वरूपमा सर्जक आफैँलाई सिध्याउने डरलाग्दो जीव बन्यो । बाबुराम भट्टराईले खसआर्य, मधेसी र जनजाति जोडेर नयाँ शक्ति बनाउने पहल त गरे, प्रभावकारी बन्न सकेन । सिद्धान्तभन्दा माथि देशको नारा घन्काउने रवीन्द्र मिश्र विचारविहीन बन्दै जाँदा उनकै शब्दमा आफू त खुइलिए, साझा पार्टी पनि सिध्याए । विचारविहीन ढंगले म नै सबथोक हुँ भन्ने शैलीमा अघि बढेमा रवि लामिछाने पनि मिश्रझैँ खुइलिने निश्चित छ । देशमा वैदेशिक हस्तक्षेप दिनप्रतिदिन बढ्दो छ । यस्तो समय बृहत् सामुदायिक शक्तिसम्पन्न राजनीतिक संगठन बलियो बन्नु पर्दैन ?  

स्वतन्त्र कि षड्यन्त्र : मार्क्स, लेनिन, माओदेखि एन्टोनियो ग्राम्सीभन्दा पछिसम्मका सबैजसो विश्वविख्यात चिन्तक अभियन्ता संगठनका पक्षधर हुन् । यद्यपि तिनले विचारविहीन संगठनको वकालत कदापि गरेनन् । संगठनविना विचार बाँच्दैन । विचारविना संगठन बन्दैन । पुँजीवादका पृष्ठपोषकहरू व्यक्तिवादमा विश्वास गर्छन् तर बहुराष्ट्रिय संगठन भने उनीहरू नै बनाइरहन्छन् । आफ्ना स्वार्थी चाहना पूर्तिका लागि पनि सांगठानिक शक्तिलाई प्रयोग गर्नेहरू मानव सभ्यताको विकासक्रदेखि अद्योपान्त अस्तित्वमा देखिन्छन् । सीमित सम्भ्रान्तको स्वार्थ केन्द्रीत संगठित शक्तिलाई तोड्न तथा आमउत्पीडितको अधिकार रक्षाका लागि पनि दमित उन्मुक्तिमैत्री संगठन अपरिहार्य देखिन्छ । संगठित शक्तिको हैकमलाई तोड्न उत्पीडितहरू अझ थप संगठित बन्नैपर्छ ।

स्वतन्त्र तथा स्वाधीन बौद्धिक वर्गले उनीहरूलाई संगठित गर्न सघाउनुपर्छ । उनीहरूको सामूहिक शक्तिलाई फुटाउन सक्रिय प्रतिक्रियावादी शक्तिविरुद्ध सामूहिकतावादी चेतना उनीहरूमा भर्नुपर्छ । त्यसका लागि उत्पीडित समुदायलाई संगठित गर्दै सामूहिक हितमैत्री चेतना भर्न संगठन नै चाहिन्छ ।  गौतम बुद्धले आफ्ना विचार विस्तार गर्न संसारमा सबैभन्दा पहिले संघको संस्थापना गरेका थिए । बुद्धले विकास गरेको संघको परिकल्पना आज विश्वव्यापी रूपमा व्यावहारिक हिसाबले स्थापित छ । यदि बुद्धले संघ निर्माण नगरेका भए बौद्ध दर्शन र त्यसका अनुयायीहरूलाई अहिले बत्ती बालेर खोज्दा पनि भेट्न मुस्किल हुन्थ्यो होला ।

बुद्धलाई सामूहिक शक्तिमार्फत मात्रै शान्ति र प्रेमको सन्देश फैलाउन सकिने बोध आजभन्दा सत्ताइस सय वर्षपहिल्यै भएको थियो । शताब्दी व्यक्ति बन्न सफल माक्र्सको विचार सिद्धान्त पनि यदि विश्वभर संगठनात्मक ढंगले नबोकी विस्तारको प्रयास गरेको भए, किताबका पानाभित्रै धमिरा लागेर सिद्धिने थियो । पुँजीवादी विचारलाई विस्तार गर्न पनि ठुल्ठूला बहुराष्ट्रिय संगठन अहिले सक्रिय देखिन्छन् । एमसिसी वा बिआरआई जस्ता पुँजीवादी परियोजना परिचालिन गर्न त कत्राकत्रा सांगठनिक शक्ति खर्चिएका दृश्यहरू हाम्रै आँखाअघि सलबलाइरहेका छन् । सामाजिक सञ्जाल, भिजुअल प्लेटफर्म, मिडिया आदि पनि पुँजीवादी सांगठनिक शक्तिकै स्रोत हुन् । अब भन्नुस्, तहगत हैकम तोड्न उत्पीडित समुदायले अझ कति शक्तिशाली नवीन संगठन निर्माण गर्नुपर्ला ? स्वतन्त्ररूपी एक विचारविहीन पिउसोले साम्राज्यवादी सूक्ष्म संरचनाहरू तोड्न सक्ला त ? 

कुनै पनि विचार संगठन विस्तारसँग बौद्धिक बहससम्म फैलिएपछि सिद्धान्तका रूपमा परिपक्व बन्छ । नवीन समयले स्थापित विचारलाई विस्थापित र नयाँ विचारलाई स्थापित बनाइदिन सक्छ । समय सान्दर्भिक विशेष विचार विचारकको मृत्युपश्चात् पनि प्रसिद्ध बन्न सक्छ । जसरी ग्राम्सीका विचार उनको मृत्यु भएको दशकौँपछि विश्वव्यापी बन्न पुग्यो । जेलजीवन भोग्दै गर्दा व्यक्त भएका टुक्राटाक्री ग्राम्सीका विचार विश्वविद्यालय र बौद्धिक जगत् जताततै फैलियो । उनको मृत्युपश्चात् पनि उनको विचारका आधारमा बौद्धिक आन्दोलन हाँक्ने संगठन विश्वभर देखा परे । शारीरिक रूपमा फरक क्षमता भएकाजस्ता देखिए तापनि ग्राम्सी संगठनमैत्री विचारकै कारण मृत्युपछि पनि निकै सम्मानित स्थानमा उभिएका छन् । ग्राम्सी उत्पीडित समुदाय अझ बढी सशक्त ढंगले संगठित बन्नुको विकल्प छैन भन्छन् । शक्तिविहीन समुदायमैत्री बौद्धिक वर्ग उत्पीडितहरूलाई संगठित गर्नका लागि समर्पित हुन्नन् भने उनीहरू बौद्धिक भूमिका निर्वाहमा चुकेका विवेकहीन प्राणी मान्छन् ग्राम्सी । अब तपाईं आफै भन्नुस्, विचारविहीन स्वतन्त्रको अन्धाधुन्ध वकालतकर्ता षड्यन्त्रकारी नभए को हुन् ?    

निष्कर्ष : संगठनलाई भ्रष्ट हुनबाट बचाई शुद्ध राख्न सधैँ बफादर होइन, विद्रोही समर्थकको खाँचो हुन्छ । तब विचारको विकल्प विचार नै बन्छ, सिद्धान्तको विकल्प सिद्धान्तै । संगठनको विकल्प पनि संगठन नै हो । शक्तिशाली संगठन विचारविहीन बन्यो भने समर्थकले छाड्दै जान्छन् । अन्ततः शक्ति र सत्ता पनि गुम्छ । सानो दल विचारमा बलियो बन्दै गएमा संगठन बढ्दै जान्छ, जसरी रानो मौरीको वरिपरि अनगिन्ती कर्मशील मौरी आकर्षित हुन्छन् । बुद्धदेखि ग्राम्सीपछिका चिन्तकसम्म सबै वैचारिक संगठनमै विश्वास गर्छन् । व्यक्तिवादको वकालतकर्ता पुँजीवादका पृष्ठपोषकहरू सबैभन्दा बढी बहुराष्ट्रिय संगठनका भक्त किन छन् ? यसर्थ, अहिले त अझ पूरा प्रकृतिले नै जैविक विविधतामैत्री विचारसहित सहअस्तित्व रक्षामा समर्पित नवीन संगठनहरू खोजिरहेको छ । विचारविहीन स्वतन्त्र राजनीतिक व्यक्तिले विश्व कहाँकहाँ बदलेछन्, देखाइदिनुस् त विद्वान् मित्रहरू ! शक्ति राष्ट्रबीच बढ्दो टकरावले भूराजनीतिक भड्खालोतिर नेपाललाई धकेलिरहेको समयमा संगठित दलहरू ‘लेथार्जिक’ (लोसे) र स्वतन्त्रहरू सञ्जालसहित सलबलाउनु समाधानमैत्री सुखद सन्देश हो त ?  

सुझावित समाचार