यस्तो छ स्वतन्त्र पार्टीको केन्द्रीय समिति

महिला सात, तीन डाक्टर, धादिङबाट मात्रै चारजना सदस्य, पार्टी सभापति रवि लामिछाने, २० जना सदस्य

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

स्वतन्त्रहरूसँग सम्पर्क बढाउँदै
स्वतन्त्रले दिएका उजुरीमाथि आयोग अनुसन्धान गर्दै

समानुपातिकबाट सम्मानजनक मत प्राप्त गर्ने अपेक्षासहित सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा उनीजस्तै चर्चित अनुहार देखिएका छैनन् । नयाँ पत्रिकालाई प्राप्त केन्द्रीय कमिटी सूचीमा खासै नाम सुनिएका व्यक्ति भने छैनन् । केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सूचीमा काठमाडौं महानगरपालिका– ६ का लामिछाने पार्टी सभापति हुन् । दोस्रो वरीयतामा ज्वालामुखी– ४ धादिङका डोलप्रसाद अर्याल र तेस्रो वरीयतामा विराटनगर– ४ मोरङका डा. मुकुल ढकाल छन् । डा. ढकाललाई पार्टीको प्रवक्ता बनाइएको छ । 

‘दल दर्ताका लागि आवश्यक पर्ने न्यूनतम २१ सदस्यको नाम आयोगमा पठाएका छौँ । सर्वसाधारणदेखि सकेसम्म फरक–फरक पृष्ठभूमि भएकालाई समेटेका छौँ । चिनिएका अनुहार हुनुहुन्न, राजनीतिमा नाम चलेका अनुहार पनि छैनन्,’ प्रवक्ता डा. ढकालले भने । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको सूचीको चौथो नम्बरमा अमरगढी– ३ डडेल्धुराका दीपकराज बोहरा, पाँचौँ नम्बरमा पालुङटार– ९ का कवीन्द्र बुर्लाकोटी, छैटौँ नम्बरमा नागार्जुन– २ काठमाडौंका गणेश पराजुली, सातौँ नम्बरमा मनकामना– ८ नुवाकोटका रामकृष्ण भट्टराई, आठौँ नम्बरमा आगिन्चोक– ३ धादिङका उपेन्द्र पाण्डे, नवौँ नम्बरमा रत्ननगर– १ चितवनमा महेश्वर घिमिरे र दशौँ नम्बरमा टरीगाउँ– २ दाङका विपिनकुमार आचार्य छन् ।केन्द्रीय समितिको ११औँ नम्बरमा ज्वालामुखी– ४ धादिङकी वसुमाया तामाङ, १२औँ नम्बरमा केरोज– १ गोरखाकी एलिजा गुरुङ, १३औँ तारकेश्वर– २ काठमाडौंकी कुसुम महर्जन, १४औँमा जफे– ६ दोलखाकी सोविता गौतम र १५औँमा इनरुवा– ३ सुनसरीकी गीता रेग्मीको नाम छ । 

यसबाहेक १६औँ नम्बरमा चन्द्रेश्वर– १ लमजुङका डा. प्रभात अधिकारी, १७औँ नम्बरमा केराबारी– ६ मोरङकी रविना घिमिरे, १८औँ नम्बरमा वेणिमणिपुर– ६ नवलपरासीका इस्रा मुल्ला मियाँ, १९औँ नम्बरमा मोहन कमलपुर– ५ सिराहाका डा. राकेश यादव, २०औँ नम्बरमा चैनपुर– ७ धादिङका विष्णुकुमार श्रेष्ठ र २१औँ नम्बरमा भक्तपुर– ४ भक्तपुरकी प्रमिला कुलुजूको नाम छ । 

पार्टी घोषणा कार्यक्रममा सभापति लामिछानेले देशभरिबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले पार्टी बनाएको बताएका थिए । उनले केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा माथि युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा जाने बताएका थिए । उनले आमनागरिकलाई चाहिएजस्तै राजनीतिक दल बनाएर क्षमतावान् मान्छेका साथ देशलाई नयाँ म्यान्डेट दिनेसमेत दाबी गरेका थिए । 

आफ्नो नयाँ पार्टीमा सदस्यहरूको मतबाट प्रधानमन्त्रीको उम्मेदवार छान्ने र प्रधानमन्त्रीको उम्मेदवारले मन्त्रिमण्डल नै घोषणा गरेर चुनावमा जान सक्ने लामिछानेले घोषणा गरेका थिए । त्यसरी चुनिएर प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यक्तिलाई पार्टीको साधारण सदस्यले मतमार्फत फिर्ता र अस्वीकार दुवै गर्न सक्ने वैधानिक व्यवस्था गरिने उनको भनाइ थियो । 
स्वतन्त्र पार्टीले ठूला उद्योगी–व्यापारीबाट चन्दाको गन्धा धन्दा नगर्ने, कार्यकर्ता र शुभेच्छुकबाट सहयोग संकलन गरेर पार्टी चलाउने, खर्चहरू वेलावेला औपचारिक सार्वजनिक गर्ने, पार्टीबाट उम्मेदवार बन्न चाहने प्रत्येक उम्मेदवारले आ–आफ्नो क्षेत्रको विकास र सुशासनको भावी मोडल प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिने लामिछानेले बताएका थिए । 

केन्द्रीय समितिमा धादिङबाट चारजना
स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा धादिङबाट मात्रै चारजना छन् । डोलप्रसाद अर्याल, उपेन्द्र पाण्डे, वसुमाया तामाङ र विष्णुकुमार श्रेष्ठ धादिङका हुन् । 

तीनजना डाक्टर
राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटीमा तीनजना डाक्टर छन् । मोरङका डा. मुकुल ढकाल, लमजुङका डा. प्रभात अधिकारी र सिराहाका डा. राकेश यादव स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुन् ।

याे पनि

केन्द्रीय समितिमा चिनिएका र राजनीतिमा नाम चलेका अनुहार छैनन्

सुझावित समाचार