वीरगन्जका व्यवसायी अनियमित विद्युत् आपूर्तिको मारमा, समस्या समाधान गर्न सरकारसमक्ष उद्योग वाणिज्य संघको ध्यानाकर्षण

बारा–पर्सा औद्योगिक कोरिडोरको २५ वर्ष पुरानो विद्युत वितरण प्रणालीमा सुधार गर्न, बिग्रिएका ट्रान्सफर्मरको मर्मत गर्न तथा नयाँ थपी गुणस्तरीय विद्युत आपूर्ति गर्न वीरगन्ज उद्योग वाणिज्य संघकाे आग्रह

बिहिबार, ९ असार, २०७९
डिजिटल संस्करण
वीरगन्जका व्यवसायी अनियमित विद्युत् आपूर्तिको मारमा, समस्या समाधान गर्न सरकारसमक्ष उद्योग वाणिज्य संघको ध्यानाकर्षण

बिहीबार ऊर्जामन्त्री पम्फा भुषालकाे ध्यानाकर्षण गराउँदै वीरगन्ज उद्याेग वाणिज्य संघका अध्यक्ष डा. सुबाेधकुमार गुप्ता नेतृत्वकाे टाेली

नियमित विद्युत् आपूर्ति नहुँदा समस्या खेप्दै आएका वीरगन्जका उद्योगी–व्यवसायीले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा बिहीबार ऊर्जामन्त्री पन्फा भुसाल र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छुट्टाछुट्टै भेट गरी उद्योगी व्यवसायीले समस्याबारे ध्यानाकर्षण गराएका हुन् । 
अध्यक्ष डा. गुप्ताले मन्त्री भुसालसँगको भेटमा बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युतको घोषित लोडसेडिङ हटे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको तथा प्राप्त विद्युतको गुणस्तर पनि कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परिरहेको बताएको जानकारी दिए । ‘हामीले बारा–पर्सा औद्योगिक कोरिडोरको २५ वर्ष पुरानो विद्युत् वितरण प्रणालीमा सुधार गर्न, बिग्रिएका ट्रान्सफर्मरको मर्मत गर्न तथा नयाँ थप्न, दक्ष जनशक्तिको व्यवस्था गरी गुणस्तरीय विद्युत् आपूर्ति गर्न ध्यानाकर्षण गराएका छौँ,’ डा. गुप्ताले नयाँ पत्रिकासँग भने । 
जवाफमा मन्त्री भुसालले केही दिनदेखि विद्युत् आपूर्तिमा भइरहेको टिपिङ र नियमित आपूर्तिमा देखिएको समस्या समाधानमा आफू गम्भीर रहेको बताएकी थिइन् । 
‘मन्त्री भुसालले औद्योगिक फिडरहरूमा गुणस्तरीय ट्रिपिङ समस्या समाधान गर्न र नियमित विद्युत् आपूर्ति गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो,’ उनले भने । उनका अनुसार मन्त्री भुसालले पुराना ट्रान्सफर्मरहरूको मर्मत, नयाँ जडान, विद्युत् लाइन नपुगेका स्थानमा प्रसारण गर्दै जानुपर्ने भएकाले प्राधिकरणको सहकार्यमा यस्ता कार्य अघि बढाइरहेको जानकारी दिएकी थिइन् । 


उद्योगी–व्यवसायीले बिहीबारै विद्युत् प्राधिकरण्का कार्यकारी घिसिङसँग पनि भेट गरी समस्या समाधानका लागि आग्रह गरे । कार्यकारी घिसिङले सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसक्दा प्राधिकरणका परियोजनाहरू तीव्र गतिमा अघि बढ्न नसकेको जनाएका थिए । साथै, वन प्रशासनलगायत विभिन्न निकायहरूको हस्तक्षेपका कारण प्राधिकरणले स्वतन्त्र रूपमा काम गर्न नसकेको उनको भनाइ थियो । 
‘५० अर्बको विद्युतसम्बन्धी परियोजना बारा–पर्सामा नै भइरहेको छ । हेटौँडामा रहेको ४५ केभीको ट्रान्सफर्मर मर्मत हुँदै छ र नयाँ थप्ने प्रक्रिया पनि चलिरहेको छ,’ घिसिङलाई उद्धृत गर्दै गुप्ताले भने, ‘प्रसौनीमा ठूलो सबस्टेसन स्थापना गर्न प्राधिकरणले करिब तीन विघा जग्गा खरिद गरिसकेको छ । निर्माण सम्पन्न भएपछि वीरगन्ज र पोखरिया वितरण केन्द्रसम्म विद्युत् प्रसारण सहज हुनेछ ।’ दुवै भेटघाटमा संघका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रोमचन्द्र गोयललगायत सहभागी थिए । 

सुझावित समाचार