एकै चरणमा ३० वैशाखमा स्थानीय निर्वाचन गराएको निर्वाचन आयोगले संघीय र प्रदेश निर्वाचनको गृहकार्य थालेको छ । आयोगले कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता एकै चरणमा निर्वाचन गर्ने गरी तयारी थालेको हो ।
आयोगका पदाधिकारीबीच कात्तिक अन्तिम साता या ढिलोमा मंसिर पहिलो साता एकै चरणमा निर्वाचनको गराउने समझदारी बनेको छ । आयोगले यसैअनुसार सरकारलाई मिति तोक्न सुझाव दिने भएको छ । २२ मंसिरमा संघीय र प्रदेश सभा सदस्यको पदावधि सकिने निष्कर्षका आधारमा आयोग निर्वाचन तयारीमा जुटेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन मिति तय भइनसकेको, तर एकै चरणमा निर्वाचन सम्भव हुने र मंसिर पहिलो साताभित्र सक्नुपर्ने आयोग निष्कर्षमा रहेको उनको भनाइ छ । ‘मितिबारे छलफलमै छौँ, अहिले नै स्पष्ट भएको छैन । तर, कात्तिक अन्तिम या मंसिर पहिलो साता एकै चरणमा निर्वाचन गराउनुपर्छ भन्ने हाम्रो समझदारी बनेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसैअनुसार सरकारलाई निर्वाचनको मिति तोक्न सुझाव दिन्छौँ ।’