विशिष्ट व्यक्तिको उडान गर्दा हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

उडान सुरक्षा जोखिम मूल्यांकन र न्यूनीकरणका लागि स्वचालित विद्युतीय प्रणाली सञ्चालनमा ल्याइने

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण

 विशिष्ट व्यक्तिहरूको उडान गर्दा अब हेलिकोप्टरमा दुईजना पाइलट अनिवार्य गरिएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले सरकारले तोकेका विशिष्ट व्यक्तिको उडान भर्दा हेलिकोप्टरमा दुईजना पाइलट राख्नुपर्ने निर्णय गरेको हो । प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुईजना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्थासमेत गरेको छ । नेपालमा उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई अझ व्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

हेलिकोप्टरको प्रत्येक उडानपूर्व प्रयोग गर्ने गरी सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणका लागि एक स्वचालित विद्युतीय प्रणाली सञ्चालनमा ल्याउने निर्णय प्राधिकरणले गरेको छ । ‘हेलिकोप्टर उडान सुरक्षालाई सबलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकोप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सबलीकरणको व्यवस्था मिलाउने,’ प्राधिकरणको निर्णयमा भनिएको छ । 

दुईजना पाइलट राख्नुपर्ने निर्णय कार्यान्वयनका लागि पाइलट उत्पादन कार्यमा जोड दिइने प्राधिकरणले जनाएको छ । ‘प्राधिकरणबाट भएका निर्णयहरूको कार्यान्वयनका लागि स्वदेशी पाइलटको उत्पादन गर्ने, आत्मनिर्भरतासहितको उड्डयन सुरक्षा सुदृढीकरण गरिनेछ,’ प्राधिकरणले भनेको छ, ‘यसका लागि प्राधिकरणको निर्णय भएदेखि बढीमा तीन वर्षभित्र पाइलट तयार पार्नका लागि हेलिकप्टर कम्पनीले योजना पेश गर्ने र त्यसलाई प्राधिकरणले स्वीकृत गरेर सोहिअनुसारको संख्यामा पाइलट पदपूर्तिको व्यवथा अनिवार्य रूपमा मिलाईने छ ।’ हाल नेपालमा १० वटा निजि र सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् । 

प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ । हवाईजहाज सञ्चालक कम्पनीले १३ असारदेखि तोकिएका आधारमा विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । त्यस्तै, हेलिकप्टरले पनि ७ असारदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा रात्रीविसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने छ ।

सुझावित समाचार