देउवालाई नेपालको सुझाव– ह्विस्की खुवाएर फकाउने गरिन्छ, ख्याल गर्नुहोला

शुक्रबार, ३ असार, २०७९
डिजिटल संस्करण
देउवालाई नेपालको सुझाव– ह्विस्की खुवाएर फकाउने गरिन्छ, ख्याल गर्नुहोला

तस्बिर : संजित परियार

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणका क्रममा सतर्क र सचेत रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा अध्यक्ष नेपालले परराष्ट्र रणनीतिमा कहिलेकाहीँ दबाब नभई फकाएर र प्रलोभनमा पारेर पनि अवाञ्छनीय गतिविधि हुने गरेको भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।

‘मलाई प्रधानमन्त्रीले नेपालको हितविपरीतका सम्झौता हुन सक्दैन भन्नुभएको छ। कहिलेकाहीँ दबाबले हुँदैन, मीठो पाराले फसाइन्छ। निदाएको वेलामा, ह्विस्की ख्वाएर फकाउने गरिन्छ, ख्याल गर्नुहोला,’ अध्यक्ष नेपालले भने।

उनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे फरक–फरक धारणा आइरहेको भन्दै पछिल्ला केही घटनाक्रमले आशंका पैदा गरेको उल्लेख गरे। सरकारका पछिल्ला केही गतिविधिले प्रश्नहरू खडा गरेको र आशंका उब्जाएको भन्दै उनले देशको हितबारे बोल्ने वा गर्ने कुरामा खुट्टा कमाउन नहुने धारणा राखे।

‘नेपाल अहिलेसम्म आफ्नो असंलग्न परराष्ट्र नीतिमा अविचलित रूपमा अघि बढ्न तयार छ कि छैन ? अहिलेको सरकार त्यसका निम्ति दृढताका साथ अघि बढ्न तयार छ कि छैन ? किनभने कतिपय गतिविधिले प्रश्नहरू खडा गर्ने ठाउँ दिएको छ । कतिपय कामहरूले आशंका उब्जाएका छन्,’ उनले भने।

सुझावित समाचार