व्यवसाय कर छुट दिन महानगरसँग हानको माग

शुक्रबार, ३ असार, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले लगाउँदै आएको एकीकृत सम्पत्ति करमा ९० प्रतिशत र व्यवसाय करमा शतप्रतिशत छुट दिन होटेल संघ नेपाल (हान)ले माग गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष ०७९/८० मा बजेट तथा कार्यक्रम तर्जुमाका लागि आयोजना गरेको अन्तक्र्रियामा हानले कोभिडबाट थलिएको पर्यटन तथा होटेल उद्योगलाई करमा छुट दिएर बचाउन सुझाव दिएको हो । 

कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन तथा होटेल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने हानका महासचिव साजन शाक्यले बताए । राज्यको आर्थिक गतिविधि चलायमान बनाउने, बढीभन्दा बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा भिœयाई देशलाई टेवा पुर्याउने होटेल उद्योगलाई बचाइराख्नु राज्यको पनि दायित्व भएको उनको भनाइ थियो । 

घरजग्गा कर ऐन, २०१९ को दफा १२ बमोजिम होटेलको ग्राहक खाने–बस्ने घरजग्गा, सवारीसाधनको पार्किङ स्थान र बागबगैँचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेकोमा एकीकृत सम्पत्ति कर, २०७४ मा होटेलहरूले ओगटेका सबै संरचनामा सम्पत्ति कर लगाउने व्यवस्था गरिएको छ । 

सहरमा फोहोरमैला व्यवस्थापनको मुख्य समस्या भनेकै प्लास्टिकजन्य वस्तुहरू भएको उल्लेख गर्दै शाक्यले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित हानले हालै होटेलका कोठाहरूमा प्लास्टिकजन्य वस्तुहरू प्रयोग नगर्ने अभियान सातै प्रदेशमा चलाएको मेयर शाह र उपमेयर सुनीता डंगोललाई जानकारी गराए ।

सुझावित समाचार