सरकारले कमिसन खाएर सेटिङमा बजेट ल्यायो : ओली

शुक्रबार, ३ असार, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले अनधिकृत व्यक्तिको सेटिङमा व्यापारीबाट कमिसन लिएर आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मध्यरातमा अनधिकृत व्यक्तिलाई करको दर तोक्ने जिम्मा दिएर बजेट ल्याएको एमालेको आरोप छ । 

‘विश्वमा कतै नसुनिएको बजेट बनाउँदाखेरि बजेट बनाउने अधिकारी राखेर होइन, बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ । दुनियाँमा कहीँ कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजस्वसचिव आदिले तयार गर्छ । अब त्यस ठाउँमा यस्ता मान्छेबाहेक अरू नै अनधिकृत मान्छे राखेर करका दर सेटिङमा तोकिन्छ, व्यापारीसँग सेटिङ मिलाएर कर तोकिन्छ, कमिसन खाएर करका दर तोकिन्छ, यस्तो त कुनै प्रणालीमा पनि कल्पना गर्न सकिँदैन,’ पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रममा ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो हुँदैनथ्यो । तर, यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ, बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ भने देशको हालत के हुन्छ । यस्तो अवस्थामा तपाईंहरूले चुनाव जित्नुभो, चानचुने कुरा होइन ।’ 

एसपिपी सम्झौताविरुद्ध एमालेको अगुवाइमा जनजागरण 

ओलीले गठबन्धन सरकारले अमेरिकासँग एसपिपी सम्झौतामार्फत विदेशी सेना उपस्थित गराउन खोजे पनि पार्टीको खबरदारीले रोक्न सफल भएको दाबी गरे । ‘अहिले मौका छोपेर बाहिरी सेना उपस्थित गराउने सम्झौता गर्न खोजिएको छ । हाम्रो पार्टी बोलिरहेको छ, हाम्रा जनसंगठन मैदानमा भिडिरहेका छन्, हाम्रा सांसदले संसद्मा प्रश्न उठाइरहेका छन्,’ ओलीले भने, ‘जनतामा जागरण आइरहेको छ । हाम्रो पार्टीले अगुवाइ गरिरहेको छ, देश हितविरुद्ध कुनै पनि काम–कारबाही हुन नपाओस् भन्नेमा हामी सजग छौँ ।’

ओलीले घेराबन्दी, धाँधली, राज्यसत्ताको चरम दुरुपयोगलगायतका अनेक चुनौतीलाई चिर्दै गठबन्धनसँगको महासंग्राममा चुनाव जितेको भन्दै जनप्रतिनिधिलाई बधाई दिए । उनले कम्युनिस्ट आन्दोलनलाई धुलोपिठो पारिसकेको र अनेक षड्यन्त्रलाई चिर्दै हरेक हिसाबले स्थानीय निर्वाचनमा एमाले नै पहिलो पार्टी बनेको दाबी गरे । ओलीले एकदेखि पाँच सयको मतान्तरले ८८ सिटमा एमाले पराजित भएको भन्दै त्यसको मूल कारण नै अन्तर्घात भएको जिकिर गरे । ‘हामी निराश हुनुपर्ने स्थिति छैन,’ ओलीले भने । पार्टीभित्रैका कतिपय नेता शत्रुलाई जिताउने मिर्जाफर र मिर्कासिंहको भूमिकामा देखिएको ओलीको आरोप छ । 

‘अंग्रेजले बंगाल कब्जा गर्ने स्थिति थिएन, तर मिर्जाफर भन्ने सेनापतिलाई आफूतिर मिलायो र कब्जा गर्ने बाटो समात्यो । फेरि पछि उसैको ज्वाइँ मिर्कासिंहलाई ल्याइयो र मिर्कासिंहले विरोधी शत्रु अंग्रेजसँग मिलेर बंगाल कब्जा गराइदियो । उसलाई नबाब हुन्छस् भन्देका थिए । पछि लोप्पा ख्वाइयो । विश्वासघातीहरूलाई जसले पनि त्यसैगरी व्यवहारबाट जवाफ दिन्छ,’ ओलीले भने । जनप्रतिनिधिलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतले प्रशिक्षण दिनेछन् ।

See More On

सुझावित समाचार