२२ वर्षीय युवाको कृषि उद्यम : बारीभरि घाँस, खोरभरि बाख्रा, मनभरि सपना

बुधबार, १ असार, २०७९
डिजिटल संस्करण

कृषि पढ्न पैसा भएन, कोभिडले परदेश फापेन

इस्मा गाउँपालिका– ३ दर्लामचौर गहतेका २२ वर्षीय गोकर्ण नेपाली । जसले ग्यालेक्सी कृषि फार्म सञ्चालन गरेर एक सय २० रोपनी जग्गामा ३९ प्रकारको घाँसको खेती गरेका छन् । उनी सानैदेखि कृषि कर्ममा विश्वास गर्थे । परिवारको सहमति नभए पनि जिद्दी गरेर उनी एसइईपछि ०७४ मा कृषि विज्ञान अध्ययनको लागि चितवन हिँडे । केही महिना अध्ययन पनि गरे । तर, आर्थिक अभावले पूरै पढ्न सकेनन् । उनी मामासँग केही पैसा मागेर घाँसका बिरुवा खरिद गरेर गाउँ आए । गाउँ फर्किएर असारमा बारीमा घाँस रोपे । 

घाँस रोपेर परदेश, कोभिडले पुन: गाउँ
गोकर्णका बुबाले बुटवलमा होटेल गर्ने भएकाले परिवार चलेको थियो । कमजाेर आर्थिक अवस्थाको कारण उनले राम्राेसँग पढ्न पाएनन् । अचानक पत्रिकामा युएईको होटेलमा वेटर आवश्यकतासम्बन्धी विज्ञापन देखे । उनी ०७५ कात्तिकमा युएईको होटेल हिल्टन गार्डेनमा काम गर्न गए । वेटरमा गए पनि भनेअनुसारको काम पाएनन् । तीन महिना हाेटेलमा पोछा लगाए । हातखुट्टा कुहिएर बेहाल भए । १५ महिनाजति भनेकै काममा लागे । महिनाको ६० हजारका दरले राम्रै कमाइ पनि हुन्थ्यो । तर, कोभिड सुरु भएपछि काम बन्द भयो । बचत गरेको दुई/तीन लाख लिएर बल्ल–तल्ल गाउँ फर्किए ।

घरमा बुबा बिरामी भएर थलिएका थिए । केही समयमै बुबाकाे मृत्यु भयो । गोकर्णले परदेशमा कमाएको सबै पैसा बुबाको उपचारमा सके । त्यतिले पनि भएन । आइसियूको पैसा तिर्न नसकेर अस्पतालले शव दिएन । आमाको ‘गणेशमाला’ बेचेर शव घर ल्याएर अन्त्येष्टि गरे । शव घर ल्याएको एम्बुलेन्सको पैसादेखि काजकिरियाको ऋण गोकर्णले बोके । अब उनीसँग परदेशको कमाइबाट किनेको मोटरसाइकलबाहेक केही रहेन । उनले त्यो मोटरसाइकल पनि ८० हजारमा बेचेर घाँसको बिउ तथा बिरुवा ल्याए । गाउँमा पानी थिएन । घरपरिवारले २० मिनेट टाढाबाट पानी बोकेर बिरुवा हुर्काउनुपर्ने अवस्था थियो । 

घाँस बेच्न भ्याइनभ्याई

गोकर्णले आफ्नो ८० रोपनी र छिमकीको लिजमा लिएर एक सय २० रोपनीमा घाँसका ३९ प्रकारका घाँस रोपेका छन् । त्यसमध्ये ११ प्रकारका घाँस जिल्लामा आफूले मात्रै व्यावसायिक खेती गरेको नेपालीले बताए । उनीसँग बिउ, बेर्ना र घाँस सँगै रहेको छ । प्रतिबिरुवा पाँचदेखि ५० रुपैयाँसम्म घाँस लगाएका छन् ।

उनले गत वर्ष करिब आठ लाखकाे घाँसको बिउ तथा बिरुवा बिक्री गरेको बताए । विशेष गरेर राइखन्नु, निमारो, इन्दु, नेपियरका आठ प्रजाति, इपिलइपिल, मुलाटो, भटमासे, ग्वाटेमाला, किम्बु, कान्भाटुलगायतका उन्नत जातका घाँस नेपालीको फर्ममा छन् ।

आफ्नै फार्मबाट सबै घाँसको बिउ पनि उत्पादन गर्छन् । रेसुंगा नगरपालिका, मदाने गाउँपालिकालगायतका स्थानीय तह र फर्महरूलाई घाँस बेच्न गोकर्णलाई भ्याइनभ्याई रहेको छ । 

बैंकमा ऋण मागेर बाख्रापालन
गोकर्णले ०७७ सालमा मोटरसाइकल बेचेर घाँस रोपे । गत वर्ष आठ लाखको घाँसकाे बिरुवा बेचे । खर्च कटाएर रहेको पैसाले नयाँ मोटरसाइकल किने । जीर्णोद्धार गरेर घर पनि चिटिक्क बनाए । केही आफ्नो र केही बैंकमा कर्जा लिएर करिब १२ लाखको लागतमा बाख्रापालन सुरु गरे । अहिले उनको खोरमा ४८ वटा बाख्रा छन् । चार लाखभन्दा बढीको आधुनिक खोर बनाएका छन् । उनले घाँस मात्रै खुवाएर बाख्रापालनको योजना बनाएका छन् । पराल र चोकरले बाख्रापालन नहुने नेपालीले बुझेका छन् ।

‘घाँसविना पशुपालनको सपना अधुरो छ । मै आफैँले भोगेर पहिले घाँसमा लगानी गरेँ,’ उनले भने, ‘कुनै पनि दानाको प्रयोग नगरेरै नमुनाको रूपमा बाख्रा पालेको छु ।’ अहिलेसम्म घरेलु तथा साना उद्योग विकास समितिबाट चाँपकटर पाएका छन् । केही कार्यालयले कार्यक्रमको आश्वासन दिएका छन् । उनले आफूसहित, भाइ र एकजना कामदारमार्फत सबै काम गरिरहेका छन् । घाँसको बिउ रोप्नेवेला थुप्रैलाई जागिर पनि दिने गरेका छन् ।

सुझावित समाचार