बोल्सोनारोलाई अमेरिकी समर्थन किन ?

क्युबा, निकारागुआ र भेनेजुएलालाई अलोकतान्त्रिक करार गरेर अमेरिकी महादेशका मुलुकको सम्मेलनमा आमन्त्रित नगरेको अवस्थामा अमेरिकाले बोल्सोनारोलाई बोलाउनु तर्कसंगत देखिँदैन

बुधबार, १ असार, २०७९
डिजिटल संस्करण

जो बाइडेन प्रशासनले लस एन्जेलसमा भएको अमेरिकी महादेशका राष्ट्रहरूको सम्मेलनमा क्युबा, निकारागुवा र भेनेजुएला अलोकतान्त्रिक रहेकाले नबोलाइएको बताएको छ । ठिकै हो, लोकतन्त्रका पक्षमा उभिनु राम्रो हो । तर, ब्राजिलको लोकतन्त्रका लागि खतरा बनेका जैर बोल्सोनारोलाई चाहिँ अमेरिकीले किन स्वागत गरे त ? के अमेरिकालाई ब्राजिलका राष्ट्रपतिले बारम्बार सैन्य तानाशाही प्रवद्र्धन र लोकतन्त्रको अपमान गरेको थाहा नभएको हो ? ब्राजिलका पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई यातना दिने सेनाका अधिकारीको प्रशंसा गरेकोबारे अमेरिका अनभिज्ञ हो ? 

‘चुनावले हाम्रो देशमा केही परिवर्तन हुँदैन,’ बोल्सोनारोले एक टिभी अन्तर्वार्तामा बताएका थिए । ‘परिवर्तन तब मात्र सम्भव छ, जब हामी यहाँ गृहयुद्ध मच्चाउँछौँ र हामीले सैन्य सत्ताले गर्न नसकेको काम गर्न सक्छौँ । हामीले ३० हजारभन्दा बढी मानिसको हत्या गर्नुपर्छ । केही निर्दोष मानिसलाई मार्दा ठिकै हुन्छ र युद्धमा निर्दोष मारिनु नौलो होइन !’ बोल्सोनारो अन्तर्वार्ताकारतर्फ चिच्याएर बोल्दै थिए र आफू यदि राष्ट्रपतिमा निर्वाचित भएमा कार्यकालको पहिलो दिनमै कंग्रेस (संसद्) विघटन गर्ने दाबी गरेका थिए । 

ब्राजिलका राष्ट्रपतिको सैन्य तानाशाहप्रतिको लगाब आफ्नो मुलुकमा मात्रै सीमित छैन । चिलीको भ्रमणका क्रममा तानाशाह अगस्टो पिनोसेको प्रशंसा गरेर आफूलाई स्वागत गर्ने आयोजकलाई लज्जित बनाएका थिए । बोल्सोनारोले प्रदर्शनकारीलाई अदालत र कंग्रेसविरुद्ध लोकतन्त्रविरोधी नारा लगाउन उक्साएका थिए । र, लामो समयसम्म उनले डोनाल्ड ट्रम्पको पराजयलाई अस्वीकार गरेका थिए । बोल्सोनारोले सशस्त्र बलको राजनीतीकरण र जननिर्वाचित सरकारको सैन्यकरण गरेका छन् । उनले सरकारमा हजारौँ सैनिक अधिकारीलाई प्रवेश गराएका छन् । उनले नियोजित ढंगले लोकतान्त्रिक प्रणाली, संस्था र मापदण्डको हनन गरिरहेका छन् । र, परिस्थितिलाई थप नराम्रो बनाउन उद्यत् छन् । उनी ब्राजिलको लोकतन्त्रका लागि खतरा हुन् । 

यदि क्युबा, निकारागुआ र भेनेजुएलालाई अलोकतान्त्रिक करार गरेर अमेरिकी महादेशका मुलुकको सम्मेलनमा आमन्त्रित नगरिएको हो भने अमेरिकाले बोल्सोनारोलाई बोलाउनु पनि तर्कसंगत देखिँदैन । तर्कसंगत नभए पनि यो आमन्त्रणले अमेरिकी स्वार्थपूर्ति गर्छ । यसले लोकतन्त्र वा ब्राजिलसँग कुनै सरोकार राख्दैन । अमेरिका बोल्सोनारोलाई उनका प्रतिस्पर्धी लुला दा सिल्भालाई राष्ट्रपति निर्वाचनमा हराउन सहयोग गर्न चाहन्छ, किनभने लुला अमेरिकी हितका लागि खतरा ठानिन्छन् । 

लुलाले राष्ट्रपति हुँदा ल्याटिन अमेरिकामा अमेरिकी वर्चस्व र ‘वासिंगटन कन्सेन्सस’को नवउदारवादी नीतिलाई चुनौती दिएका थिए । ल्याटिन अमेरिकाको नेतृत्वमा पुग्न उनले अमेरिकासँग प्रतिस्पर्धा नै गरेका थिए । अमेरिकी महादेशका मुलुकको सन् २००५ को मार डेल प्लाटा शिखर सम्मेलनमा लुलाले ह्युगो चाभेज र क्रिस्टिना किर्चनरसँग मिलेर स्वतन्त्र व्यापार क्षेत्र (एफटिएए) निर्माणको अमेरिकी प्रयासलाई निस्तेज गर्ने प्रयास गरेका थिए । लुलाले सन् २००९ मा अमेरिकी समर्थित कुबाट पदच्यूत भएपछि होन्डुरसको राष्ट्रपतिमा म्यानुएल जेलायालाई पुनः स्थापना गर्ने प्रयास गरेका थिए । ल्याटिन अमेरिकी क्षेत्रका क्षेत्रीय सहयोग प्रवद्र्धन गर्न कम्युनिटी अफ ल्याटिन अमेरिका एन्ड स्टेट्स (सेलाक) र युनियन अफ साउथ अमेरिकन नेसन्स (युनासर) जस्ता संगठन निर्माणमा लुलाले पहलकदमी लिएका थिए । यी संगठनले अमेरिकी वर्चस्वविरुद्ध प्रतिरोध गर्ने सामूहिक सामथ्र्य प्रदान गर्छन् । 

लुलाले बहुध्रुवीय विश्वलाई प्रवद्र्धन गर्न र अमेरिकाको एकपक्षीयताको सामना गर्न विश्वका अन्य मुलुकसँग सहकार्य गरेका थिए, जसले ब्राजिललाई क्षेत्रीय एवं विश्वव्यापी रूपमा अग्लो बनायो । यिनै कारणले गर्दा अमेरिकी गुप्तचर र खुफिया निकायले ब्राजिलका न्यायाधीश सर्जियो मोरोसँग मिलेर लाभा जाटो भ्रष्टाचार काण्डमा लुलालाई फसाउन सहयोग गरे र लुलालाई कैद गरेर अघिल्लो चुनावमा भाग लिनबाट रोक लगाए । पुरस्कारस्वरूप न्यायाधीश मोरोलाई बोल्सोनारोले न्यायमन्त्री बनाए ।

ठीकविपरीत राष्ट्रपति बोल्सोनारोले आफ्नो अलगाववादी नीति र भाष्यमार्फत ब्राजिलको विश्वव्यापी र क्षेत्रीय महत्वलाई घटाइदिएका छन् । बोल्सोनारोका अश्लील टिप्पणीले ब्राजिलको छवि बिगारेको छ र विदेशी नेतालाई चिढ्याएका छन् । उनले ब्राजिलको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रयास रोकिदिएका छन् र अघिल्लो सरकारले लिएको दक्षिणी गोलार्धबीचको एकताको पहललाई पनि त्यागेका छन् । उनले ब्राजिलका कूटनीतिज्ञलाई राष्ट्र संघको प्रस्तावमा अमेरिकाको समर्थनमा रहेका त्यस्ता मुद्दामा मतदान गर्न दबाब दिएका छन्, जुन मुद्दामा ब्राजिलले पहिले विपक्षमा मतदान गथ्र्याे वा मतदान गर्न अस्वीकार गर्थ्यो ।

बोल्सोनारो अमेरिकाले रुचाएका पात्र बनेका छन् । उनले सिआइए मुख्यालयमा कैयौँपटक अस्वाभाविक भ्रमण गरेका छन् । कुनै पनि विदेशी मुलुकका राष्ट्रपति सिआइएको कार्यालयमा जाँदैनन् । सो भ्रमणपछि राष्ट्रपतिका छोरा एडुवार्डो बोल्सोनारोले सिआइएलाई ‘विश्वकै सम्मानित गुप्तचर नियोग’ भन्दै ट्विट गरेका थिए । अमेरिकी शासक र बोल्सोनारो परिवारबीच साँठगाँठ देखिन्छ । 

अमेरिकी महादेशका राष्ट्रहरूको सम्मेलनमा बोल्सोनारोले लुला ‘अमेरिकी हितका लागि जोखिम’ छन् भन्दै उनलाई हराउन बाइडेनलाई बिन्ती चढाएका छन् । र, बोल्सोनारोले आफूलाई ब्राजिलमा अमेरिकी हितको रक्षकका रूपमा प्रस्तुत गरेका छन् । अधिनायकवादी बोल्सोनारोलाई आमन्त्रित गर्नु र राष्ट्रपति बाइडेनसँग लस एन्जलसमा साझा मञ्च दिनुले अमेरिकी नियत प्रस्ट हुन्छ । लुलालाई हराउनु बोल्सोनारो र अमेरिकाको साझा लक्ष्य देखिन्छ । यद्यपि लुला मत सर्वेक्षणमा अगाडि छन् र सम्भवतः लुलाले नै चुनाव जित्नेछन् । द वायरबाट

सुझावित समाचार