सोमबार सेयर बजारमा करिब १६ अंकले गिरावट आएको छ । नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २७ अंकले घटेर तीन सय ८९ दशमलव ९८ मा आइपुगेको छ ।
नेप्से सूचक घटेसँगै त्यसको असर कारोबार रकममा देखिएको छ । लगानीकर्ताले बजार न्यून बिन्दुमा आएसँगै आन्दोलन र दैनिक धर्ना दिन थालेका छन् । लगानीकर्ताले विशेष गरी राष्ट्र बैंकले लगाउँदै आएको सेयर धितो कर्जा ४–१२ करोडको सीमा हटाउनुपर्ने मुख्य एजेन्डा बनाएर आन्दोलन गरिरहँदा सेयर बजारमा भने दैनिक गिरावट आइरहेको छ ।
बजारमा गिरावट आएसँगै लगानीकर्ता लगानी बढाउन तयार भएका देखिँदैनन् । प्यानिक सेलिङ गर्ने साना लगानीकर्ता बाहिरिन थालेको एक ब्रोकरले बताए । बजारमा आवश्यकताभन्दा बढी गिरावट आएपछि लगानी बढाउन लगानीकर्ताले आँट गरेको देखिँदैन । जसको असर कारोबार रकममा परेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको २९ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा ९९ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सानिमा बैंकको नौ करोड रुपैयाँको सबैभन्दा धेरै कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संथा रहेको छ । संस्थाको पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाण्डू, एनआइसी एसिया बैंक, नबिल बैंकको सेयर कारोबार दुई करोड रुपैयाँदेखि पाँच करोड ३७ लाख रुपैयाँसम्म भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । होटेल तथा पर्यटन समूह, फाइनान्स समूह, जीवन बिमा, निर्जीवन बिमा, उत्पादनमूलक समूह र लगानीगत समूहको सूचक १ प्रतिशतभन्दा बढीले घट्दा अन्य समूहको सूचक सामान्यले घटेको छ ।घटेको बजारमा पनि बलेफी हाइड्रोपावर र ग्रिन भेन्जर लिमिटेडको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल, आँधी खोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढ्दा यी कम्पनीका लगानीकर्ताले अन्य कम्पनीको तुलनामा सर्वाधिक नाफा कमाएका हुन् । सोमबार मानुषी लघुवित्त वित्तीय संस्था, एनएमबि ५०, ओरिएन्टल होटेल र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन् ।
अब हप्तामा ६ दिन बजार सञ्चालन हुने
असार १ गतेदेखि लागू हुने गरी सेयर बजार साताको ६ दिन सञ्चालनमा आउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले हप्तामा ६ नै दिन बजार सञ्चालनमा ल्याउने बताए । उनले भने, ‘शुक्रबार पनि बजार सञ्चालन गर्नुपर्छ भन्ने धेरै पहिलेदेखि लगानीकर्ताको माग थियो, अब ६ दिन नै बजार खुल्छ ।’
पराजुलीका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्मका लागि मात्र बजार खुला हुने भएको हो ।
‘अहिले शुक्रबार एक बजेसम्म मात्र खुला गर्ने गरी निर्णय भएको छ, पछि समय बढाउँदै जान पनि सक्छ,’ पराजुलीले भने । सरकारले आइतबारसमेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नयाँ निर्णय भएको हो । यसअघि पुरानै व्यवस्थाअनुसार आइतबार बजार खुल्ने र शुक्रबार बन्द हुन सक्ने बताइएको भए पनि नयाँ निर्णयअनुसार शुक्रबार दुई घन्टालाई भए पनि बजार खुल्ने भएको हो ।