कलेजो प्रत्यारोपण सहज नहुँदा उपचार अभावमा बर्सेनि कैयौँले ज्यान गुमाउनुपरेको छ । नेपालमा बर्सेनि कम्तीमा हजारजनाको कलेजो फेल हुने गरेको अनुमानित तथ्यांक छ । तर, अहिले वर्षमा औसत तीनजनाको मात्रै प्रत्यारोपण हुने गरेको छ ।
नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको सात वर्ष पूरा भएको छ । ०७३ देखि अहिलेसम्म २२ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगन्ज र चितवन मेडिकल कलेज सिएमसीले प्रत्यारोपणका लागि अनुमति पाएका छन् । अहिलेसम्म भक्तपुरमा आठ, शिक्षण अस्पतालमा आठ र सिएससीमा ६ गरी जम्मा २२ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको छ ।
कलेजो फेल भएका बिरामी उपचारका लागि लामो पर्खाइमा रहनुपर्दा प्रत्यारोपण महँगोसमेत हुने गरेको छ । यस्ता बिरामीको तत्काल प्रत्यारोपणबाहेक उपचारको विकल्प नभए पनि कलेजो प्रत्यारोपण सहज पनि छैन । चिकित्सकका अनुसार कलेजो पूर्ण रूपमा फेल हुनुभन्दा अगाडि देखिने लक्षणका आधारमा प्रत्यारोपण गर्नुपर्ने अवस्था पत्ता लगाउन सकिन्छ तर, उपचारको पुहँच अति न्यून छ ।
मिर्गौला जस्तो फेल भइसकेपछि डायलाइसिस गरेर प्रत्यारोपणका लागि समय लिने अवस्था नभएकाले शल्यक्रिया सहज हुँदैन, जसका कारण उपचारमा समस्या भइरहेको मानव अंग प्रत्यारोपणका प्रमुख डा. पुकार श्रेष्ठ बताउँछन् । ‘मानव अंग प्रत्यारोपणमा मात्रै हाल १६ जना कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी छन् । कोभिडले प्रत्यारोपण ठप्प हुँदा शल्यक्रिया गर्न पाएका थिएनौँ, असारको दोस्रो सातादेखि प्रत्यारोपणको तयारी गरेका छौँ,’ उनले भने ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण न्यून
अंग प्रत्यारोपणका लागि मस्तिष्क मृत्यु भएकाबाट लिन सकिने सम्भावना भए पनि हालसम्म प्रत्यारोपण सहज छैन । मस्तिष्क मृत्यु भएकाबाट कलेजो प्रत्यारोपण झन न्यून छ । हालसम्म भएका २२ कलेजो प्रत्यारोपणमध्ये जम्मा एकवटा मात्रै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको छ । मानव अंग प्रत्यारोपण केन्द्रमा मात्रै आफन्तबाट कलेजो लिन नमिल्ने १० जना मस्तिष्क मृत्युको अंगदान कुरेर बसेका छन् । ‘कलेजो फेल भएमा तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । प्रत्यारोपणका लागि अंग म्याच नभएका बिरामीले अंग नपाए ज्यान गुमाउनुपर्ने अवस्था उच्च हुन्छ,’ डा. श्रेष्ठले भने, ‘तर, मस्तिष्क मृत्युबाट दानमा अंग आउँदैनन् । अंग पाउने आशामा कुरेर बसेकाका लागि उपचारको अन्य विकल्प छैन ।’
कलेजो दान कसले गर्न मिल्छ ?
कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेश भण्डारीका अनुसार १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । तर, लामो समयसम्म औषधि सेवन नगरेको, मधुमेह, उच्च रक्तचापजस्ता रोग नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका व्यक्तिको अंग लिन सकिन्छ । यससँगै बिरामी र दाताको रगत समूह मिल्नुपर्छ । कानुनी रूपमा बुबा–आमा, दिदी–बहिनी, दाजु–भाइ, काका–काकीले दान दिन सक्छन् । यसबाहेक नाता प्रमाणित गरेर नजिकका नातेदारले पनि कलेजो दिन पाउँछन् ।
जटिल हुने भएकाले कलेजो प्रत्यारोपणमा लिनुपर्छ विदेशी चिकित्सकको सहयोग
अंग प्रत्यारोपणमध्ये सबैभन्दा जटिल कलेजो प्रत्यारोपण मानिन्छ । नेपालमा कलेजो प्रत्यारोपण अझैसम्म पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको छ । दाता र बिरामी दुईजनाको शल्यक्रिया गर्नुपर्ने भएकाले चिकित्सकको ठूलो समूह कलेजो प्रत्यारोपणमा सहभागी हुन्छ ।
शरीरमा कलेजोको काम धेरै हुने र प्रत्यारोपण समयमा जटिलता निम्तिने सम्भावना हुने भएकाले विशेषज्ञ चिकित्सक आवश्यक रहेको कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेश भण्डारी बताउँछन् । ‘जटिल खालको शल्यक्रिया भएकाले किन जोखिम लिने भनेर अझैसम्म चिकित्सकको समूहमा विदेशी चिकित्सक पनि समावेश हुन्छन् । अहिलेसम्म टिचिङमा आठवटा प्रत्यारोपण भएका छन्, जसमध्ये सातवटा सफल भएका छन् । अझै चारदेखि पाँचवटा प्रत्यारोपणमा विदेशी विशेषज्ञ समावेश गर्ने सोचमा छौँ,’ डा. भण्डारीले भने ।
स्वस्थ व्यक्तिबाट कलेजो लिनुपर्ने र अर्को व्यक्तिमा प्रत्यारोपण गर्दा निकै जोखिमपूर्ण हुनाले शल्यक्रियामा विदेशी चिकित्सकको सहयोग लिइरहेको डा. श्रेष्ठ बताउँछन् । ‘बिरामी अस्पतालमा पालो कुरेर बसेका छन् । कसैको अंगदाता नभएर, कतिपयले पैसा अभावले प्रत्यारोपण समयमा गर्न सकेका छैनन् । प्रत्येक प्रत्यारोपणमा लगभग सबै विशेषज्ञसँगै विदेशी चिकित्सक पनि झिकाउनुपर्ने हुँदा सहज बन्न सकेको छैन,’ उनले भने ।
सुनसरीका सुरज महतोको २० लाख खर्च भइसक्यो, अझै प्रत्यारोपणको टुंगो छैन
सुनसरीका ३३ वर्षीय सुरज महतो दुई महिनादेखि कलेजो प्रत्यारोपणका लागि विभिन्न अस्पताल धाइरहेका छन् । तर, प्रत्यारोपण भन्ने अनिश्चित छ । कलेजो सुन्निएर अस्पताल भर्ना भएपछि नौ महिनाअघि नै चिकित्सकले उनलाई प्रत्यारोपण नै गर्नुपर्ने बताएका थिए ।‘उपचारका लागि प्रत्यारोपण नै गर्नुपर्छ भनेपछि लगभग डेढ महिना त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेँ । अहिले भक्तपुरको मानव अंग प्रत्यारोपणमा शल्यक्रियाको तयारी गरिरहेको छु,’ उनले भने, ‘परीक्षण अवधि र उपचार खर्च निकै महँगो भएकाले समयमै प्रत्यारोपण कठिन भएको छ ।’
नियमित अल्कोहल सेवनका कारण लगभग एक वर्षयता उनको कलेजोमा समस्या देखिएको थियो । कलेजो सुन्निएर समस्या देखिएपछि उपचारका लागि दिल्लीसमेत पुगेको सुरजले बताए । सुरजलाई २६ वर्षीया बहिनीले कलेजो दिन लागेकी हुन् । प्रत्यारोपणका लागि बहिनी र उनको स्वास्थ्य परीक्षणका लागि हालसम्म २० लाखसम्म खर्च भइसकेको उनले बताए । ‘अझै प्रत्यारोपणका लागि ३० लाख डिपोजिट गर्नुपर्ने र बाँकी खर्चका लागि पैसा जम्मा गर्नुपर्ने भनिएको छ,’ उनले भने ।
काभ्रेका कुमार लामा पनि प्रत्यारोपणको पर्खाइमा, पाँच लाख खर्च भइसक्यो, थप ३५ लाख जुटाउँदै
काभ्रेका ४६ वर्षीय कुमार लामा पनि मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणका लागि दुई महिनादेखि कुरेर बसेका छन् । अत्यधिक अल्कोहल सेवनका कारण उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको हो । औषधिमै पाँच लाख रुपैयाँ सकिएको बताएका उनलाई पनि अस्पतालले प्रत्यारोपणका लागि कम्तीमा ३५ लाखजति खर्च जुटाउन भनेको छ । लामालाई २७ वर्षीय छोरी बिमला लामाले कलेजो दिन लागेकी हुन् ।
चन्द्रागिरिका बलामी तीन महिनादेखि अस्पताल धाउँदै, प्रत्यारोपण अनिश्चित
त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपणका लागि परीक्षण गरिरहेका काठमाडौं चन्द्रागिरिका श्यामसुन्दर बलामी भन्छन्, ‘म बिरामी हुन थालेको दुई वर्षभन्दा बढी भयो । प्रत्यारोपणका लागि मात्रै तीन महिनादेखि अस्पताल गइरहेको छु । परीक्षणमै समय र पैसा खर्च भइरहेको छ, अझैसम्म कहिले प्रत्यारोपण गर्ने भन्ने निश्चित भएको छैन ।’
यसरी गरिन्छ कलेजो प्रत्यारोपण
उपप्राध्यापक, एनेस्थेसियोलोजी विभाग
त्रिवि शिक्षण अस्पताल
कलेजोले हाम्रो शरीरका लागि पाँच सयभन्दा बढी काम गर्छ । रगत जम्न सघाउनु, संक्रमणबाट बचाउनु, शरीरमा विषालु तŒव व्यवस्थापन गर्नेलगायत काम कलेजोले गर्छ । कलेजो मात्रै हाम्रो शरीरको त्यस्तो अंग हो, जुन आफैँ पुनर्निर्माण हुन सक्छ । यदि कुनै कारणले कलेजो फेल भएमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा ठूलो शल्यक्रियामध्ये पर्छ । यसका लागि एनेस्थेसिया, शल्यचिकित्सा, रेडियोलोजी, प्याथोलोजी, हेपाटोलोजी, नर्सिङ र प्रशासनिक सेवासहितको ठूलो टिम आवश्यक पर्छ ।
कलेजो प्रत्यारोपण सफल उपचार हो, विश्वका ९० प्रतिशतभन्दा बढीमा यो उपचार विधि सफल भएको छ । यसलाई दुई तरिकाले गरिन्छ– जीवित दाताको कलेजो झिकेर वा मस्तिष्क मृत्यु भइसकेको व्यक्तिको कलेजो झिकेर । जीवित दाताको कलेजो लिएर प्रत्यारोपण गर्दा एकैपटक एउटै अस्पतालमा दुईटा शल्यक्रिया गर्नुपर्छ । एउटा कक्षमा शल्यक्रिया गर्ने विज्ञको टोलीले दाताको कलेजो झिक्ने काम गर्छ भने अर्को कक्षमा लिने व्यक्तिको क्षतिग्रस्त कलेजो झिकिन्छ । त्यसपछि दाताको कलेजो बिरामीमा प्रत्यारोपण गरिन्छ ।
दाताको शल्यक्रिया (कलेजो झिक्दा) गर्दा करिब ५ देखि ८ घन्टा लाग्ने गर्छ । दातालाई पनि शल्यक्रियापश्चात् करिब एक सातासम्म अस्पतालमै राखिन्छ । लिने व्यक्तिको हकमा शल्यक्रियाको समय क्षतिग्रस्त कलेजो झिक्नुपर्ने र पुनः कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले अझ बढी समय लाग्ने गर्छ ।
बिरामीको हेरचाह
कलेजो प्रत्यारोपण पछि बिरामीको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । विशेषगरी खानपानमा सजग हुनुपर्छ । सकेसम्म पोषणविद्को सल्लाह अपनाउनुपर्छ । मदिरा तथा धूमपानलगायत नसालु पदार्थ सेवन गर्नुहुँदैन । नुन कम खाने, बोसो भएको खानेकुरा नखाने गर्नुपर्छ । फलफूल, सागपात र पानी प्रशस्त मात्रामा खानुपर्छ । फिजियोथेरापिस्टको सल्लाहमा दैनिक व्यायाम गर्नुपर्छ । प्रत्यारोपणपश्चात् पनि नियमित रूपमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
कलेजो फेल हुने कारण
कलेजो बिग्रिनुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो । अन्य कारण हेपाटाइटिस बी र सी हुन् । हेपाटाइटिस भाइरसको संक्रमणको कारणले समेत कलेजो बिग्रने सम्भावना अत्यधिक हुने गर्छ । कतिपय समयमा वंशानुगत गुणका कारण कलेजोमा समस्या हुन सक्छ । बच्चामा कलेजो बिग्रिनुको कारण अधिकांश वंशाणुगत गुण हो । यस्तै, कलेजोमा अत्यधिक बोसो जम्नु, पित्तको नलीसम्बन्धी रोग लाग्नु, पित्त तथा कलेजोमा क्यान्सर हुनु पनि कलेजो बिग्रनुका मुख्य कारक तत्व हुन् ।
लक्षण
कलेजोमा समस्या देखिनासाथ शरीरमा विभिन्न लक्षण देखापर्छन् । सुरुवातीको चरणमा जन्डिस हुने गर्छ । जसले गर्दा आँखा र छाला पहेँलो हुने हुन्छ । खानामा अरुचि हुने, तीव्र रूपमा तौल घट्दै जाने, छाला चिलाउनेजस्ता समस्या देखिन्छन् । कलेजो भएको ठाउँमा दुखाइ महसुस हुने, बान्तामा रगत देखिने हुन्छ । बिस्तारै पेटमा पानी भरिएर पेट सुन्निने, मानसिक असन्तुलनजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
प्रत्यारोपण अघि
शल्यक्रिया गर्नुपूर्व बिरामी, कलेजो दाता र परीवारका सदस्यसँग बसेर डाक्टरले सल्लाह गर्ने गर्छन् । प्रत्यारोपणको समयमा धेरै औषधि र रगत आवश्यक पर्ने, बिरामी र आफन्त डराउने हुँदा बैठक गर्नु अनिवार्य हुन्छ । बिरामीलाई शल्यक्रिया गर्नुपूर्व ८ घन्टादेखि भोकै राखिन्छ । रगत परीक्षण, अल्ट्रासाउन्ड, एक्सरे आदि विभिन्न चेकजाँच गरेर मात्र शल्यक्रियाका लागि लगिन्छ ।
प्रत्यारोपणपश्चात्
बिरामीमा झन्डै ८ देखि १० घन्टामा कलेजो प्रत्यारोपण हुन्छ । लामो समयसम्म शल्यक्रिया हुने हुँदा बिरामीलाई पूर्ण रूपमा बेहोस बनाइन्छ । प्रत्यारोपणपश्चात् आइसियूमा लगेर राखेर मात्र बिरामीलाई होसमा ल्याइन्छ । प्रत्यारोपणको समयमा धेरै विज्ञ, औषधि र रगतको आवश्यकता पर्ने गर्छ । बिरामीलाई आइसियूमा ८ देखि १० दिनसम्म राखिन्छ । यस अवधिमा संक्रमण भए÷नभएको वा कलेजोले पूर्ण रूपमा काम गरे÷नगरेको चेकजाँच गरिन्छ । यो समयमा बिरामीलाई २४सै घन्टा विशेषज्ञको पूर्ण निगरानीमा राखिन्छ ।
त्यसपछि जनरल वार्डमा सारेर २ देखि ३ हप्तासम्म अस्पतालमा राखिन्छ । यो समयमा फिजियोथेरापीस्टहरूको निगरानीमा राखिन्छ । बिरामी–बिस्तारै सामान्य हिँडडुल गर्न सक्ने भएपछि अर्थात् कलेजोले सामान्य रूपमा काम गर्न थालेपछि बिरामीलाई डिस्चार्ज गरिन्छ ।बिरामीमा झन्डै ८ देखि १० घन्टामा कलेजो प्रत्यारोपण हुन्छ । लामो समयसम्म शल्यक्रिया हुने हुँदा बिरामीलाई पूर्ण रूपमा बेहोस बनाइन्छ । प्रत्यारोपणपश्चात् आइसियूमा लगेर राखेर मात्र बिरामीलाई होसमा ल्याइन्छ । प्रत्यारोपणको समयमा धेरै विज्ञ, औषधि र रगतको आवश्यकता पर्ने गर्छ । बिरामीलाई आइसियूमा ८ देखि १० दिनसम्म राखिन्छ ।