पहिचान जोगिने गरी काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा पार्टीले जितेका स्थानमा आफ्नो पहिचान जोगिने गरी काम गर्न निर्देशन दिएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय ‘वैचारिक राजनीतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण’ कार्यक्रममा उनले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । 

विगतमा जनयुद्ध र जनआन्दोलनमार्फत देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र ल्याएको पार्टी हाल कांग्रेस, एमाले, राप्रपालगायतका पार्टीजस्तै देखिएको भन्दै उनले अब पार्टीको आफ्नो आइडेन्टिटी जोगिने गरी काम गर्न जितेका पालिकाहरूमा जनयुद्ध दिवस मनाउन, जनयुद्धका सहिद, घाइते, बेपत्तालगायतका परिवारलाई सम्मान गर्ने काम गर्नसमेत उनले निर्वाचित प्रतिनिधिहरूलाई निर्देशन दिए ।

पार्टीले जितेका १२१ पालिकालाई पार्टीको आधार इलाका बनाउन निर्देशन दिँदै समाजवादी सत्ताका भ्रूणहरू बनाउने र हुर्काउने, जनताको इच्छा र चाहना बुझेर जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । प्रत्येक निर्णय गर्नुअगाडि जनताको राय बुझ्ने मेकानिजम बनाउन, जनताको आलोचना सुन्ने बानीको विकास गर्दै ठीकलाई स्वीकार र गलत भए यी–यी कारणले आलोचना गलत भए भनेर सम्झाउने काम गर्नसमेत उनले निर्देशन दिए ।

हाल भइरहेको पुँजीवादी निर्वाचन प्रणाली बदल्न, जनताको पक्षमा निर्वाचन प्रणाली बनाउन र जनताले फैसला गर्ने प्रकारको शासकीय स्वरूप ल्याउन एकपटक लडाइँ लड्नुपर्ने अवस्था आउने प्रचण्डको भनाइ थियो । शासकीय स्वरूप कस्तो भन्ने विषयमा भने केही बताएनन् । हालको निर्वाचन प्रणाली धेरै खर्चिलो भएको र यसलाई परिवर्तन गर्न अन्य दलले समेत भनिरहेको उनले बताए । अबको लडाइँको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने अवस्था आउने दाबी गर्दै प्रचण्डले हालकै निर्वाचन प्रणाली कायम रहे लडाइँ छिटै सुरु गर्नुपर्ने बताए । ‘लडाइँका लागि तयार भएर बस्नुस्, लडाइँ हामी जित्छौँ र माओवादी अर्को हाइटमा पुग्छ,’ उनले भने । 

कांग्रेसलाई साइजमा राख्न चार पार्टीबीच छुट्टै छलफल

प्रचण्डले माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले कांग्रेसलाई साइजमा राख्न छुट्टै छलफल थालेको बताए । ‘स्थानीय निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा साइजमा राख्ने गरी छलफल भइरहेको छ,’ उनले भने । 

प्रचण्डले स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गरे पनि पूर्ण सफल नभएको बताए । ‘गठबन्धन जुन उद्देश्यका साथ गरिएको थियो, त्यसअनुरूप सफल भएन । तर, केपी ओली प्रवृत्तिलाई सबक सिकाउन भने सफल भइएको छ,’ उनले भने । प्रचण्डले पाँचदलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म कायम रहने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउँदा र सातै प्रदेशका सरकारबाट हटाउँदा समेत डोज अझै नपुगेको बताए । ‘ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो । सात प्रदेशकै सरकारबाट हटाइयो । राष्ट्रिय सभाको निर्वाचनमा समेत सबै मिलेर हराइयो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा अघिल्लोपटक जितेका सय पालिकाबाट हराउँदा पनि ओलीलाई अझै डोज पुगेको छैन,’ उनले भने । 

See More On

सुझावित समाचार