सरुवा रोग अस्पताल टेकुले सुरु गर्‍यो कुष्ठरोगको उपचार

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

यसअघि कुष्ठरोगीलाई टीकाभैरवस्थित आनन्दवन अस्पताल पठाउने गरिएकामा अब त्यो बाध्यता हट्यो

देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ । अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल भए पनि कुष्ठरोगीको उपचार नभएकामा जनगुनासो बढेपछि टेकु अस्पतालले सबै प्रकारका सुविधासहित उपचार सुरु गरेको हो ।

एक दशकअघि नै नेपालमा कुष्ठरोगलाई जनस्वास्थ्यको समस्या नभएको घोषणा गरिए पनि १७ जिल्लामा अझै यो रोग देखिएको छ । उदयपुर, रूपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिराहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा देखिएको छ । 

डा. शिवेन्द्रकुमार झा, कुष्ठरोग विशेषज्ञ
अब टेकुमै कुष्ठरोगीको उपचार गर्नुपर्छ भनेर सेवा सुरुवात गरेका हौँ । दुई वर्षमा टेकुमा एकजनाले मात्रै कुष्ठरोगको औषधि खाएका छन् । उनलाई पनि अस्पतालले आनन्दवन अस्पताल पठाएको थियो । तर, अब उपचार, औषधि, परीक्षण, भर्ना सबै टेकु अस्पतालमै हुन्छ ।

कुष्ठरोग विशेषज्ञ डा. शिवेन्द्रकुमार झाले संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेको बताए । उनले नेपाल–भारतको सीमा क्षेत्रमा कुष्ठरोगको कुनै खोजपडताल नभएको बताए । ‘सबैभन्दा पहिला रोगी पत्ता लगाउनुपर्ने चुनौती देखिएको छ । हामीले अब टेकुमै बिरामीको उपचार गर्नुपर्छ भनेर सुरुवात गरेका हौँ । दुई वर्षमा टेकुमा एकजनाले मात्रै कुष्ठरोगको औषधि खाएका छन् । उनलाई पनि अस्पतालले आनन्दवन अस्पताल पठाएको थियो । तर, अब भने उपचार, औषधि, परीक्षण, भर्ना सबै टेकु अस्पतालमै हुन्छ,’ उनले भने ।

टेकु अस्पतालले बिरामीको बायोप्सीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग सहकार्य गरेको छ । ल्याब र केही स्वास्थ्यकर्मीलाई अस्पतालले तालिम दिइसकेको छ । हाल टेकु अस्पतालमा दश कुष्ठरोगीले औषधि खाइरहेका छन् । बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको चिकित्सकहरूको भनाइ छ । अझै पनि बिरामीले छोएको नखाने, बिरामी घरबाटै निकाल्ने प्रवृत्ति हट्न सकेको छैन । डा. झाका अनुसार शरीरमा फुस्रो र नदुख्ने दाग देखिनु यो रोगको प्रमुख लक्षण हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एकजना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । सन् २०२० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति थियो, तर त्यो पूरा हुन सकेन । कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख रवीन्द्र बास्कोटाले अहिले पनि प्रत्येक वर्ष २१ सय कुष्ठरोगका नयाँ बिरामी फेला परेको जानकारी दिए । उनका अनुसार उनीहरूले औषधि सेवन गरिरहेका छन् । सरकारको प्राथमिकतामा कुष्ठरोग निवारण नपरेकाले घोषणा गरिएको अभियान असफल भएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

के हो कुष्ठरोग ?
डब्लुएचओका अनुसार माइक्रोब्याक्टेरियम लेप्रे ब्याक्टेरियाबाट हुने कुष्ठरोग दीर्घकालीन संक्रामक रोग हो । यसको लक्षण देखिन २० वर्षसम्म लाग्न सक्छ । माइक्रोब्याक्टेरियम लेप्रेले बिस्तारै आफ्नो संख्या बढाउँछ । यो रोगले मुख्यतः छाला, बाहिरी स्नायु, माथिल्लो श्वासमार्गको झिल्ली (म्युकोसा), आँखालाई प्रभावित गर्छ । यो रोग उच्च संक्रामक नभए पनि उपचार नगरिएका बिरामीको मुख र नाकबाट निस्किने पानीका स–साना थोपाका माध्यमले तिनको निरन्तर सम्पर्कमा आउने व्यक्तिमा सर्ने गर्छ । सबै उमेरसमूहकालाई हुन सक्ने कुष्ठरोग तीन सातादेखि ७० वर्षमाथिकामा समेत देखिएको छ । 

यसरी गर्न सकिन्छ उपचार 
बहुऔषधि उपचारले कुष्ठरोग निको हुन्छ । यो रोग बढी कीटाणु भएको मल्टी ब्यासिलरी (एमबी) र कम कीटाणु भएको पासी ब्यासिलरी (पिबी) गरी दुई प्रकारको हुन्छ । यस्तै, मल्टी ब्यासिलरी अर्थात् बोर्डरलाइन कुष्ठरोगको तीव्रता मध्यम खालको हुन्छ । यो सबैभन्दा सामान्य रूप हो । यसमा छालामा दाग टयुबरकुलाइड कुष्ठरोगमा जस्तै देखिन्छ । तर, त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ । ठूलो दागले पूरा अंगलाई प्रभावित गर्न सक्छ । एमबी भए एक वर्ष र पिबी भए ६ महिना नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । उपचार प्रक्रियामा आएर औषधि सेवन गरिरहेकाबाट यो रोग सर्दैन । बहुऔषधि उपचारको एक मात्रा औषधि सेवन गरेदेखि नै यसले शरीरमा भएको कुष्ठको ९९ प्रतिशत ब्याक्टेरियालाई निष्क्रिय बनाउने चिकित्सकहरू बताउँछन् । 

See More On

सुझावित समाचार