पुँजी बजार सुधारको माग गर्दै पाँच संगठन एकजुट, लगानीकर्ता दैनिक धर्नामा

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण
पुँजी बजार सुधारको माग गर्दै पाँच संगठन एकजुट, लगानीकर्ता दैनिक धर्नामा

काठमाडौंको बानेश्वरमा धर्नामा उत्रिएका सेयर लगानीकर्ता

सेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ता आन्दोलनमा जुटेका छन् । पुँजी बजारमा लगानीको वातावरण बनाउन माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार विकास समिति, नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, नेपाल धितोपत्र लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार संघ एकताबद्ध भएका हुन् ।

उनीहरूले पुँजी बजार सुधार संघर्ष समितिमार्फत उठाएका १९ बुँदे माग तत्काल सम्बोधन गरी पुँजी बजारलाई विश्वासमा लिन र लगानीको वातावरण बनाउनुपर्ने बताएका छन् । ३२ सयको बिन्दुबाट निरन्तर झरेको बजार हाल घटेर दुई हजारआसपासको बिन्दुमा आइपुगेको छ । पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको र लगानीकर्ताले राख्दै आएको माग सम्बोधन नगरेको आरोप लगानीकर्ताको छ ।

माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने सेयर बजार दबाब समूहका महासचिव नयन बाँस्तोलाले जानकारी दिए । ‘धेरैपटक हामीले माग सम्बोधन गर्न अनुरोध गर्दा पनि भएन, अब वारपार गरेर अघि बढ्ने हो, आशा छ सरकारले कुरा सुन्छ,’ बाँस्तोलाले भने ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्ताले सरकारले तोकिएका कामहरू समयमै नगर्दा पुँजी बजारमा गम्भीर समस्या उत्पन्न भएकाले त्यसको समाधानका लागि आन्दोलनमा उत्रिनुपरेको जनाएका छन् । लगानीकर्तालाई उत्तेजित र आक्रोशित पार्ने कार्य भएमा त्यसले देशको अर्थतन्त्रमा समेत गम्भीर क्षति पुग्ने लगानीकर्ताको भनाइ छ । लगानीकर्ताले राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको ४–१२ करोडको सीमा कर्जा हटाइनुपर्ने मुख्य माग राख्दै आएका छन् ।

त्यस्तै, नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले देशका अधिकांश क्षेत्रका नागरिक अहिले पुँजी बजारमा जोडिएकाले त्यसतर्फ सचेत रहन सम्बन्धित पक्षलाई समेट्ने गरी नीति ल्याइनुपर्ने बताए । ‘बोर्डले कहिले ५१ कम्पनीको सूची निकाल्ने, सिसिडी रेसियो हटाउने, ४–१२ को क्याप ल्याउने व्यवस्थाले पुँजी बजार प्रभावित भएको छ, सरकारले नसुनेसम्म आन्दोलन जारी राख्छौँ,’ उनले भने ।

त्यस्तै, लगानीकर्ताले बोनसमा लाभांश कर हटाउन, पुँजीगत लाभकर कम गर्न, स्थिर ब्याजदर कायम गर्न, १९ बुँदे माग पूरा गर्नजस्ता माग गरेका छन् । प्रदर्शनमा ब्रोकर र मर्चेन्ट बैंकहरूले ऐक्यबद्धता जनाउँदै सहभागी भएका छन् ।

सुझावित समाचार