सवारीसाधन चल्न थालेपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण
सवारीसाधन चल्न थालेपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भासिएपछि फराकिलो बनाउन भित्ता खार्दै डोजर ।

सवारीसाधन चल्न थालेपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भासिएको सडकको निर्माणमा ढिलाइ भएको छ । काम गर्ने समयमा रोकिएका सवारीसाधन पास गराउनुपर्ने भएकाले निर्माण कार्यले गति लिन नसकेको हो । 

तनहुँको आबुँखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भासिएपछि बाटो अवरुद्ध भएको थियो । सयौँको संख्यामा सवारीसाधन रोकिएपछि भित्ता खारेर एकतर्फी बाटो सञ्चालन गरिएको छ । लगातार परेको पानीका कारण शुक्रबार त्यहाँको सडक भसिएपछि राजमार्ग अवरुद्ध भएको हो । 

अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन तत्कालै डोजर लगाएर भित्ता खारी साना सवारीसाधन आवतजावत गराइएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले बताइन् । ‘सडक भासिएपछि राजमार्ग खुलाउन मध्यरातसम्म काम गरियो । त्यसपछि साना सवारी पास गरियो । सडक धेरै भासिएकाले ठूला मालवाहक सवारी पास गराउन कठिन थियो । शनिबार पनि पहाड फोरेर बाटो बनाउने काम भइरहेको छ,’ उनले भनिन् ।

ठूला सवारीसाधनको ठूलो जाम भएकाले पास गराउनुपर्ने बाध्यताकै कारण तीन घन्टा काम हुन नसको केसीले बताइन् । ‘सवारीसाधन धेरै रोकिएपछि निर्माण कार्य नै रोकेर आवतजावत गराइयो । शुक्रबार रातिदेखि रोकिएका चार–पाँच सय ठूला सवारी थिए । तिनलाई पार गराउन काम नै रोक्नुप¥यो,’ उनले भनिन् । 

‘वैकल्पिक मार्ग नभएकाले भित्ता खार्नुबाहेक अरू विकल्प छैन । त्यसैले अहिले त्यहाँ पाँचवटा डोजर प्रयोग गरिएको छ । कुनैले पहाड फोर्ने र कुनै डोजरले खारेका ढुंगालाई सम्याएर बाटोको व्यवस्थापन गरिँदै आएको छ । समय–समयमा सवारीसाधन पास गराउनुपर्ने भएकाले भित्ता खार्ने काम पनि अवरुद्ध भएको छ । अब साँझबाट मध्यरातसम्म निरन्तर रूपमा काम गर्छौं,’ उनले भनिन् ।

शुक्रबार बिहान उक्त क्षेत्रमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाइकल मस्र्याङ्दी नदीमा खस्दा दुईजनाको ज्यान गएको थियो । राजमार्गमा जोखिम नभए पनि प्रहरी तैनाथ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

सुझावित समाचार