फोहोर व्यवस्थापनमा बन्चरेडाँडाको विकल्प खोज्नुपर्छ : प्रवक्ता महत

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बन्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताएका छन्। शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल्ड साइड बन्चरेडाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बन्चरेडाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भई त्यसको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले सधैँ बन्चरेडाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनको लागि पर्याप्त भइनरहने भन्दै त्यसको विकल्पको रूपमा आधुनिक प्रविधियुक्त मेसिनको आवश्यकता रहेको बताए ।  प्रवक्ता महतले बन्चरेडाँडाका बासिन्दालाई दुर्गन्धबाट टाढा राख्न र रोगव्याधीको समस्या, दुर्घटनाबाट टाढा राखी रोजगारी व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै दुर्गन्धबाट टाढा बस्न पाउनुपर्ने माग बन्चरेडाँडावासीको जायज माग भएको बताए । 

प्रवक्ता महतले अहिलेको काठमाडौंको बेहाललाई ध्यानमा राखेर स्थानीयवासीसँग सहजता प्रदान गर्न पनि आग्रह गरे । उनले  स्थानीयको माग, फोहोरको दुर्गन्ध न्यून गर्ने तात्कालीक उपायहरू, तत्काल लागू गर्नुपर्ने भन्दै वातावरणीय प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । 

सुझावित समाचार